विश्वमै आर्थिक वृद्धि ‘कमजोर’
काठमाडौं : सन् २०२३ मा विश्वव्यापी आर्थिक वृद्धिदर १.७ प्रतिशतमा खस्किने विश्व बैंकले प्रक्षेपण गरेको छ। २००९ मा भएको विश्वव्यापी वित्तीय संकट, कोरोना महामारीले निम्त्याएको विश्वव्यापी मन्दीपछि यो तेस्रो सवैभन्दा कमजोर गतिको आर्थिक वृद्धि भएको विश्व बैंकले जनाएको छ।
विगत ८० वर्षयता पहिलोपटक एकै दशकभित्र दुईवटा विश्वव्यापी मन्दी आएको जनाइएको छ। विश्व बैंकले यसअघि ३ प्रतिशतको आर्थिक वृद्धि प्रक्षेपण गरेको थियो। तर, अहिले विश्व बैंकले पहिला गरेको प्रक्षेपणभन्दा पनि १.३ प्रतिशतले विश्वको आर्थिक वृद्धि खुम्चिने अनुमान गरेको छ। २०२४ मा भने २.७ प्रतिशतको वृद्धिको अनुमान गरिएको छ।
विश्व बैंकको पछिल्लो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट रिपोर्ट अनुसार, उच्च मुद्रास्फीति, उच्च ब्याजदर, कम लगानी र युक्रेनमा रूसको आक्रमणका कारण उत्पन्न अबरोधका कारण विश्वव्यापी वृद्धि तीव्र गतिमा सुस्त भएको छ। ‘अपेक्षितभन्दा उच्च मुद्रास्फीति, त्यसलाई नियन्त्रण गर्न ब्याजदरमा गरिएको वृद्धि, कोभिड–१९ महामारीको पुनरुत्थान वा बढ्दो भू–राजनीतिक तनावले विश्वव्यापी अर्थतन्त्रलाई मन्दीतर्फ थप धकेल्न सक्छ।’ रिपोर्टमा उल्लेख छ।
२०२३ मा उन्नत अर्थतन्त्रको ९५ प्रतिशत र उदीयमान बजार र विकासशील अर्थतन्त्रको झण्डै ७० प्रतिशतले वृद्धिमा तीव्र गिरावट हुने पूर्वअनुमान गरिएको छ। अर्को दुई वर्षमा, उदीयमान बजार र विकासशील अर्थतन्त्रहरूमा प्रतिब्यक्ति आय वृद्धि औसत २.८ प्रतिशत हुने प्रक्षेपण गरिएको छ, जुन २०१०–२०१९ को औसतभन्दा पूर्ण प्रतिशत अंक कम हो। २०२३–२४ मा प्रतिब्यक्ति आयको वृद्धि औसत १.२ प्रतिशत मात्र हुने अपेक्षा गरिएको छ, जसले गरिबी दर बढ्न सक्ने भनिएको छ।
विश्व बैंकले सार्वजनिक गरेको क्षेत्रगत तथ्यांकअनुसार दक्षिण एसियाको आर्थिक वृद्धि आगामी २ वर्ष स्थिर रहने प्रक्षेपण गरेको छ। यो क्षेत्रमा नै सबैभन्दा धेरै आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकको छ। दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्रमा युक्रेनमा रूसी संघको आक्रमणबाट उत्पन्न झट्का, उच्च खाद्य र ऊर्जा मूल्यसहित, र यस क्षेत्र र अन्य ठाउँहरूमा केन्द्रीय बैंकहरूको रूपमा विश्वव्यापी वित्तीय अवस्थाको कडाइका कारण प्रतिकूल असर परेको छ। यी कारणले गर्दा उच्च मुद्रास्फीति व्यर्होनु पर्ने उल्लेख छ।
नेपालको आर्थिक वृद्धि भने २०२३ मा ५.१ प्रतिशत र २०२४ मा ४.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ। आर्थिक वर्ष २०७९÷८० को बजेटले भने ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ। विश्व अर्थतन्त्र र बढ्दो अनिश्चितताले निर्यात र लगानी वृद्धिमा असर पार्ने भएकाले छिमेकी मुलुक भारतको वृद्धि आर्थिक वर्ष २०२२÷२३ मा ६.९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। भारतको अर्थतन्त्र विश्वमा सवैभन्दा द्रुत बृद्धि हुने अपेक्षा रिपोर्टमा गरिएको छ।
यस क्षेत्रमा खाद्य असुरक्षा बढ्दै गएको पनि रिपोर्टमा उल्लेख छ। विश्वमा एक तिहाइभन्दा बढी गरिबहरू यसै क्षेत्रमा रहने भएकोले पनि यस क्षेत्रमा खाद्यन्नको उपयोग अरु देशको तुलनामा बढी नै छ। विश्वव्यापी खाद्य मूल्य मुद्रास्फीति कम भए पनि खाद्यन्नको वृद्धिदर कम हुँदा पोषणबाट बञ्चित हुनसक्ने भनिएको छ। साथै, जलवायु परिवर्तन यस क्षेत्रमा एउटा महत्वपूर्ण खतरा हो ।
पाकिस्तानमा हालै आएको बाढीले कुल गार्हस्थ उत्पादनको ४.८ प्रतिशत बराबरको क्षति गरेको अनुमान गरिएको छ । चरम मौसमी घटनाहरूले खाद्यान्न अभाव बढाउन सक्छ, पूर्वाधार नस्ट गर्न सक्छ तथा प्रत्यक्ष रूपमा कृषि उत्पादनमा बाधा पुर्याउन सक्ने उक्त रिपोर्टमा उल्लेख गरिएको छ।
क्षेत्रगत रुपमा आर्थिक वृद्धि :
पूर्वी एसिया र प्रशान्तः
सन् २०२३ मा ४.३ प्रतिशत र २०२४ मा ४.९ प्रतिशतको आर्थिक वृद्धिको अनुमान
युरोप र मध्य एशियाः
२०२३ मा ०.१ प्रतिशत र २०२४ मा २.८ प्रतिशतको आर्थिक वृद्धिको अनुमान
ल्याटिन अमेरिका र क्यारिबियनः २०२३ मा १.३ प्रतिशत र २०२४ मा २.४ प्रतिशतको आर्थिक वृद्धिको अनुमान
मध्य पूर्व र उत्तर अफ्रिकाः २०२३ मा ३.५ प्रतिशत र २०२४ मा २.७ प्रतिशतको आर्थिक वृद्धिको अनुमान
दक्षिण एसियाः
२०२३ मा ५.५ प्रतिशत र २०२४ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिको अनुमान
उप–सहारा अफ्रिकाः
२०२३ मा ३.६ प्रतिशत र २०२४ मा ३.९ प्रतिशतको आर्थिक वृद्धिको अनुमान