ठेकेदार सम्पर्कमा, अस्पताल निर्माणले लियो गति

२०८२ पुस १२ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता ठेकेदारले गरेको छ

ठेकेदार सम्पर्कमा, अस्पताल निर्माणले लियो गति

विराटनगर : ठेकेदार बेपत्ता हुँदा अलपत्र परेको विराटनगरस्थित कोशी अस्पताल निर्माण कार्य पुनः सुरु भएको छ। विगत ५ महिनादेखि अलपत्र परेको अस्पतालको सर्जिकल ब्लक निर्माण कार्य सोमबारदेखि पुनः सुरु भएको हो।

संघीय आयोजना कार्यान्वयन इकाइको पत्राचारपछि सम्पर्कमा आएका रमण र भूमि कन्स्ट्रक्सनले अस्पतालको निर्माण कार्य अघि बढाएका हुन्। यसअघि कोशी अस्पतालभित्र ६ तले संरचनासहितको सर्जिकल ब्लक निर्माणको ठेक्का रमन/भूमि/बीआईपीएल जेभीलाई दिइएको थियो। तर, संघीय आयोजना कार्यान्वयन इकाइले ६ पटक पत्राचार गर्दापनि बीआईपीएल सम्पर्कमा नआएपछि बाँकी रहेका दुई निर्माण कम्पनीले काम अघि बढाएका हुन्।

सम्झौता मितिमै निर्माण सम्पन्न गर्ने योजनाका साथ काम सुरु गरिएको संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर अशोक कुमार रामले अन्नपूर्णलाई बताए। ‘निर्माण कम्पनीलाई सम्पर्कमा आउन हामीले गत साउनदेखि मंसिरसम्म कुल ६ पटक पत्राचार गरेका थियौं। अन्तिममा धरौटी जफत गर्ने तयारी गरेपछि रमण र भूमि कन्स्ट्रक्सन सम्पर्कमा आएका हुन्,’ उनले भने, ‘अब यी दुई निर्माण कम्पनीले नै काम सुरु गरेका छन्। आइतबार चाडपर्व भएकाले काम सुरु गर्न सकिएन। आजदेखि काम सुरु हुँदैछ।’

निर्माण अधुरै छाडेर ठेकेदार बेपत्ता भएपछि संघीय आयोजना कार्यान्वयन इकाईले २०७९ साउन २६ गते पहिलोपटक निर्माण कम्पनीलाई काम ढिला गर्नुको जवाफ माग गर्दै पत्र काटेको थियो। कुनै जवाफ नआएपछि भदौ १५ मा दोस्रोपटक पत्र काटेर इकाईले काम सुचारु हुन नसक्नुको स्पष्टीकरण माग गरेको थियो। स्पष्टीकरण मागेपछि बल्ल सम्पर्कमा आएको निर्माण कम्पनीले भदौ अन्तिमदेखि असोज २५ गतेसम्म काम पनि गरेको थियो। तर, त्यसपछि पुनः सम्पर्कविहीन भएको निर्माण कम्पनीलाई कात्तिक ४, १८, २७ र मंसिर १ मा समेत गरी जम्मा ६ पटक पत्र काटेर सार्वजनिक सूचना नै निकालेपछि मंसिर मसान्तमा बल्ल सम्पर्कमा आएको हो। सरकारी कार्यादेशको उल्लंघन भएको भन्दै ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नु भनी सूचना निकालिएपछि बेपत्ता भएका ३ मध्ये दुई निर्माण कम्पनी सम्पर्र्कमा आएको संघीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ। इकाइका अनुसार अब ती दुई कम्पनीले नै निर्माण प्रक्रिया अघि बढाएका हुन्। 

कुल ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँमा ठेक्का लागेको अस्पतालको आकस्मिक कक्ष छेउको सर्जिकल ब्लक २०८० पौष २२ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो। तर, ठेकेदार बेपत्ता भएर काम 
अड्किएपछि अब त्यसमा थप केही ढिलाई हुने भएको छ। यद्यपि, जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने गरी काम सुरु गर्न निर्देशन गरिसकिएको आयोजना कार्यान्वयन इकाइले जनाएको छ।

निमार्णाधीन सर्जिकल ब्लक डाक्टर तथा अस्पतालका कर्मचारीहरूका लागि अण्डरग्राउण्ड पार्किङको सुविधासहितको हुने बताइएको छ। हाल, यहाँ बेसमेन्ट र सेरवालको काम सम्पन्न भइसकेको छ। त्यसबापत निर्माण कम्पनीले ५ करोड ६९ लाख ४४ हजार रुपैयाँ भुक्तानी पनि लगिसकेको छ। निमार्णाधीन भवनको पहिलो, दोश्रो र तेस्रो तल्लामा आईसीयू, सर्जिकल युनिट, कार्डियो, न्यूरो र नेफ्रोलोजीका विभागहरू रहने कोशी अस्पतालले जनाएको छ। अस्पतालका अनुसार चौथो तल्ला भने भावी योजनाका लागि रिक्त छोडिने छ। ६ तल्ले संरचनासहित निर्माण हुन लागेको अस्पतालको सर्जिकल ब्लकमा भने हाल प्रारम्भिक चरणमा ४ तल्लाको ठेक्का मात्र लगाइएको छ। 

कहिले बन्छ ५०० शय्याको ब्लक ? 

कोशी अस्पतालभित्र ओपीडी छेउमै १० तले संरचनासहितको ५ सय शय्याको मेडिकल ब्लक निर्माणको काम पनि सुरु भएको छ। पुस अन्तिम सातादेखि मेडिकल ब्लक निमार्णको काम सुरु भएको हो। कुल २ अर्ब १७ करोड ६६ लाख २० हजार २८३ रुपैयाँको लागतमा भवन निर्माणको काम अघि बढाइएको संघीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ। इकाईका अनुसार २०७९ पौष १३ गतेको सम्झौता अनुसार काठमाडौंको केसी कन्स्ट्रक्सन फर्मले भवन निर्माणको ठेक्का लिएको छ। २०८२ पौष १२ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ।

कुल २९ हजार ६१० स्क्वायर मिटर अर्थात् ५८ रोपनी क्षेत्रफलमा निर्माण हुन गइरहेको अस्पतालको मेडिकल ब्लक बहु–विशिष्टिकृत प्रकृतिको हुने बताइएको छ। नयाँ निर्माण हुने मेडिकल भवनबाट एक्स–रे, सिटी स्क्यान, एमआरआई, प्याथोलोजी, पेडियाट्रिक, अर्थोपेडिक, साईक्याट्रिक, डर्माटोलोजी, एसआईसीयू, सीआईभीएस्, यूरो तथा ग्यास्ट्रो, न्यूरो सर्जरी र फार्मेसीलगायतका सेवाहरू प्रवाह हुनेछन्। अहिलेका पुराना संरचनालाई हटाएर नयाँ र अत्याधुनिक पूर्वाधारसहित ३ सय ५० श्ययाको कोशी अस्पताललाई ५ सय श्ययामा रूपान्तरण गर्ने योजनाअनुरुप सरकारले अस्पताल विस्तारको कार्र्य अघि बढाएको जनाइएको छ।

सरकारी अस्पतालको गुम्दै गएको साख पनि यही अस्पतालले फर्काउने विश्वास लिइएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादव बताउँछन्। अस्पतालको सर्जिकल र मेडिकल दुवै ब्लक निर्माण भई सञ्चालनमा आएपछि यसले बिरामीहरूको उपचारमा सहजता थप्ने उनको विश्वास छ। 

निर्माण कार्य सुरु भएको ५ सय बेडको मेडिकल ब्लकमा बिशिष्टीकृत स्वास्थ्य सेवासहित अन्य विभिन्न सुविधाहरू रहने बताइएको छ। भवनमा १० हजार लिटर क्षमताको वाटर ट्रिटमेन्ट प्लान्ट, वेष्ट म्यानेजमेन्ट सिस्टम, फायर फाईटिङ सिस्टम, सेन्ट्रल एसी, इर्मेजेन्सी ब्याकअप, सीसीटीभी क्यामेरा र सञ्चारका लागि साउण्ड सिस्टमलगायतका सुविधाहरू रहने स्वीकृत योजनामा उल्लेख छ। योजनाअनुसार अस्पतालसम्मको पहुँचका लागि फुटपाथ र डे«नसहितको कालोपत्रे सडक पनि निर्माण गरिनेछ। 

अस्पतालबाट सवै किसिमका विशेषज्ञ सेवा प्रवाह गर्न कोशीले अहिलेको २४९ जनाको स्वीकृत दरबन्दीलाईसमेत बढाएर १ हजार २ सय पुर्‍याउने योजना अघि सारेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.