७९ लाख यात्रुले गरे हवाई यात्रा
काठमाडौं : सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ लाख ३२ हजार ५ सय १४ उडान भएको छ। आन्तरिक र बाह्य गरी ती उडान भएको विमानस्थलले जनाएको छ।
आन्तरिकतर्फ १ लाख ८ हजार २ सय २ उडान भएको हो। अन्तर्राष्ट्रियतर्फ २४ हजार ३ सय १२ उडान भएको छ। कोभिड—१९ पछिको यो वर्षमा उडान संख्यामा सुधार भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। आन्तरिकतर्फ अक्टुबर महिनामा सबैभन्दा बढी ११ हजार २ सय ६८ उडान भएको छ। अन्तर्राष्ट्रियतर्फ डिसेम्बर महिनामा २ हजार ५ सय २८ उडान भएका छन्। अक्टुबर दसंै–तिहारको महिना भएकाले आन्तरिक उडान संख्या बढेको हो। आन्तरिकतर्फ पर्यटकीय मौसम मार्च, अप्रिल, मे महिनामा उडान संख्या बढेर १० हजार कटेको छ। ती महिनामा क्रमशः १० हजार २ सय २७, १० हजार ५ सय ९ र १० हजार ५ सय ११ उडान भएका छन्। सबैभन्दा कम सन् २०२२ को जनवरी र फेब्रुअरीमा करिब ७ हजारको संख्यामा आन्तरिक उडान भएका छन्।
अन्तर्राष्ट्रियतर्फ भने वर्षको सुरुमा भन्दा पनि वर्षको अन्तिम चौमासिकमा उडान संख्या सुधारिँदो देखिन्छ। सेप्टेम्बरबाट यता अन्तिसम्म प्रतिमहिना कम्तीमा २२ सयभन्दा बढी उडान भएका छन्। समीक्षा वर्षमा ७९ लाख ५४ हजार ४ सय ८० यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गरेका छन्। आन्तरिकतर्फ ४४ लाख ६६ हजार १ सय ५२ ले यात्रा गरेका छन्। अन्तर्राष्ट्रियतर्फ ३४ लाख ८८ हजार ३ सय २८ यात्रुले यात्रा गरेका छन्।
आन्तरिकमा अक्टुबर महिनामा ४ लाख बढीले यात्रा गरेका छन्। आन्तरिकतर्फ ३ लाखभन्दा बढीले प्रतिमहिना यात्रा गरेको विमानस्थलको तथ्यांकले देखाएको छ। अन्तर्राष्ट्रियमा सबैभन्दा बढी नोभेम्बर महिनामा ३ लाख ६४ हजारले यात्रा गरेका छन्। अन्तर्राष्ट्रियमा पछिल्लो चौमासमा यात्रु संख्या बढेको देखिन्छ। सेप्टेम्बर यता ३ लाख बढीले काठमाडौंमा यात्रा गरेका छन्। यो वर्ष ट्रान्जिट पारेर २२ हजार २ सय ५२ ले यात्रा गरेका छन्। सन् २०२२ मा अन्तर्राष्ट्रियतर्फ २६ हजार ६ सय ७६ टन कार्गो भित्रिएको छ।