उपचार खर्च तिर्न नसक्दा २५ दिने शिशुको शव अस्पतालमा बन्धक

उपचार खर्च तिर्न नसक्दा २५ दिने शिशुको शव अस्पतालमा बन्धक

विराटनगर : उपचार खर्च तिर्न नसकेपछि २५ दिने नवजात शिशुको शव विराटनगरस्थित गोल्डेन अस्पतालले बन्धक बनाएको छ। मोरङको जहदा गाउँपालिका–३ भाथीगछकी २५ दिने खुसी मुखियाको शव अस्पतालले बन्धक बनाएको हो। 

पैसा नतिरेका कारण शिशुको शव अस्पतालले आफन्तलाई हस्तान्तरण गर्न मानेको छैन। सम्पूर्ण उपचार खर्च तिरेपछि मात्र शिशुको शव आफन्तको जिम्मा लगाइने अस्पतालले जनाएको छ। 
अस्पतालका अनुसार मंगलबार बिहानसम्म शिशुको उपचारमा कुल १ लाख ७९ हजार रुपैयाँ खर्च भएको छ। जसमा आफन्तले हालसम्म मात्र २० हजार रुपैयाँ तिरेका छन्। उपचार खर्चमा अस्पतालले ५१ हजार रुपैयाँ छुट गरिदिँदा पनि पैसा तिर्न नमानेपछि शव बन्धक बनाइएको अस्पतालका व्यवस्थापक सुनिल बाँनियाले बताए। 

अस्पतालले कुल १ लाख ८ हजार रुपैयाँ प्राप्त गर्न बाँकी देखिएको उनले जानकारी दिए। ‘हामीले उपचार खर्चमा सक्दो छुट गरिदिएका छौं। यद्यपि उहाँहरूले पैसा तिर्न मान्नुभएको छैन। १५ दिनपछिको चेक दिन्छौं भन्नुभएको छ,’ उनले भने, ‘कुनैपनि अस्पतालले चेकमा कारोबार गर्दैन। त्यो सकिदैन।’

जहदा–३ भाथीगछ घर भएकी मृत्तकको बुबा दिलीप मुखिया सामान्य एम्बुलेन्स चालक हुन्। आर्थिक अवस्था कमजोर रहेकाले तत्कालै पैसा तिर्न नसकिरहेको उनले अन्नपूर्णलाई बताए। 

ब्याकडेटको चेक दिन खोजेको भएपनि अस्पतालले लिन नमानेको उनले गुनासो गरे। उनले भने, ‘म सामान्य एम्बुलेन्स चालक हो। भन्ने बित्तिकै पैसा ल्याउन सक्दिन। चेक दिन्छुभन्दा पनि अस्पतालले मान्दैन।’

उपचारका क्रममा मंगलबार बिहान ज्यान गुमाएकी २५ दिने खुसी मुखिया गत माघ ४ गते कोशी अस्पतालद्वारा जिवितै मृत घोषणा गरिएकी शिशु हुन्। 

श्वासप्रश्वासमा समस्या देखिएर कोशी ल्याइएकी उनलाई उपचारै नगरी अस्पतालले मृत घोषणा गरिदिएको थियो। पछि साँस चलेको थाहा पाएपछि थप उपचारका लागि उनलाई गोल्डेन भर्ना गरिएको थियो।

तर, इन्फेक्सन बढेर रेस्पोन्स गर्न छोडेपछि मंगलबार बिहान करिब १० बजे शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार शिशुको स्वास्थ्य अवस्था एकदमै नाजुक थियो। राम्रो ट्रिटमेन्ट हुँदै आएको भएपनि मंगलबार बिहानदेखि शिशुले रेस्पोन्स गर्न छाडेकी हुन्।

शिशुमा सेतो तथा रातो रगतको कमी, निमोनिया, मृगौलाले काम नगरेको तथा इन्फेक्सन लगायतका समस्या देखिएको अस्पतालका बालरोग विशेषज्ञ डा.सतिश यादवले बताए। 

अस्पतालको एनआईसियुमा उपचार भइरहेको शिशुले एक्कासी रेस्पोन्स गर्न छोडेको उनले जानकारी दिए। ‘ट्रिटमेन्ट राम्रै भइरहेको थियो। यसअघिको स्वास्थ्य अवस्था स्थिर रहँदै आएकोमा हिजो भने बचाउन सकिन्छ की भन्ने आश पलाएको थियो। तर, सकिएन,’ उनले भने, ‘अस्पताल ल्याउँदै बच्चाको जिउ चिसो थियो। इन्फेक्सन एकदमै बढेको थियो।’

श्वासप्रश्वासमा समस्या देखिएपछि गत माघ ४ गते जहदा–३ भाथीगछकी १८ दिने नवजात शिशुलाई उपचारका लागि कोशी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। बुवा दिलीप मुखियाले शिशुलाई उपचारका लागि करिब ९ बजे विराटनगरस्थित कोशी अस्पताल ल्याएका थिए। 

डाक्टर आकाश यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिशुको उपचार सुरु गरेका थिए। तर, सही उपचार नै नगरी डा. यादवले जीवित शिशुलाई मृत घोषणा गरिदिएका थिए। 

दाह संस्कारका लागि घर लगेपछि शिशु जिवितै रहेको थाहा पाएसँगै उनलाई थप उपचारका लागि गोल्डेन अस्पताल भर्ना गरिएको थियो। एनआईसियु कक्षमा राखेर उनको उपचार भइरहेको थियो। तर, इन्फेक्सन बढेर औषधिले काम गर्न छोडेपछि मङ्गलबार बिहान उनको मृत्यु भएको हो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.