आस्थाले प्राप्ति, अर्चनाले पुण्य

आस्थाले प्राप्ति, अर्चनाले पुण्य

आइदेऊ भगवान्, आइदेऊ भगवान्

अज्ञानीलाई ज्ञानमा, लाइदेऊ भगवान्।

मानिस सानो होस् या ठूलो, धनी होस या गरिब सबैको केही न केही आस्था र विश्वास भगवान्मा हुन्छ। मानिस खुसी हुँदा होस् या दुःखी हँुदा पहिले सम्झने भगवान्लाई हो। भगवान्ले दुःखबाट पार लगाउँछन् भन्ने विश्वास छ। सांसारिक दुःख, अभाव र समस्याबाट भगवान्ले मुक्ति दिलाउँछन् भन्ने जनविश्वास छ। यस्तै धर्मका नाममा, भगवान्का नाममा संसारभर विभिन्न चाडपर्व र संस्कृति मनाइन्छ। नाम फरकफरक भए पनि सबैका भगवान् साझा हुन्। जसको कोही हुन्नन्, भगवान् छन् भनिन्छ। भगवान्को महिमा अपरम्पार छ। 

यस्तै हिन्दू धर्मावलम्बीले श्रीस्वस्थानी मातालाई पुज्छन्। विश्वास गर्छन् र माघ महिनाभरि पूजा अर्चना गरेर महिमा गाउँछन्। श्रीस्वस्थानी माताप्रतिको लगाव, विश्वास र शालीनदीको ऐतिहासिक महŒव विशेष छ, हिन्दु धर्मावलम्बीको लागि। साँखुस्थित श्रीस्वस्थानी मन्दिर प्राङ्गणमा कलकल बगेको छ शालीनदी। माघ महिनाभरि जहाँको जल छोएमात्रै पनि पुण्य प्राप्त हुन्छ भन्ने आमविश्वास छ। शालीनदीमा डुबुल्की मार्नकै लागि देशका विभिन्न ठाउँ तथा विदेशबाट समेत भक्तजन आउने गर्छन्। श्रीस्वस्थानी मातालाई शिवशक्ति स्वरूपकी शक्तिमान देवीको रूपमा पुज्ने गरिन्छ। जानी नजानी भए पनि स्वस्थानी माताको पूजा गर्ने धनधान्य हुन्छन् भन्ने विश्वास छ।

आँखा चिम्म गरेर श्रीस्वस्थानी मन्दिर प्राङ्गणमा उभिएका केही भक्तजनहरू हात जोडेर ध्यान गरिरहेका छन्। कोही भजन गाउँदै नाच्दै छन्। कोही धुनी जगाएर झुमिरहेका छन्। माघ महिना, मुटु कमाउने सिरेटो छ। उस्तै बेतोडले कुदेको चिसो हावा। पानीसहितको हावाको दौडाइमा मिसिएको मधुरो घाम कतिबेला हराउँछ, पत्तै हँुदैन। यस्तै छ शालीनदी प्राङ्गणको मौसम। शालीनदी परिसर पुग्दा विशेष अनुभूति हुनेगर्छ हर कोहीलाई। टङ् टङ् बजिरहेका घण्टको आवाज। भजनकीर्तनको सुमधुर धुन। ध्यानमा मग्न भक्तजनहरू। चिलिम समाइरहेका बाबाजी। मन्दिर परिसरमा श्रीस्वस्थानी माताको व्रतकथा पढिरहेका पण्डितहरू। पूजा गरिरहेका भक्तजन र भक्तजनको निधारमा टीका टाँसिरहेका गुरुबाहरू। चराचुरुङ्गीको कलाङमल्याङ आवाज, नदी सुसाएको मीठो धुन। झट्ट हेर्दा र सुन्दा देखिने दृश्य हो यो।

जाडोको प्रवाह नगरी कुण्डमा नुहाउने भक्तजनको श्रद्धा बेग्लै छ। मन्दिर प्राङ्गणमा रहेको विशाल शिलामाथि शिर निहुरिएर भक्तिभाव गर्ने श्रद्धालुको विश्वास बेग्लै छ। शिरमा जल अर्पण गरेर हात जोडिरहेका दर्शनार्थीको भरोसा झ्न प्रिय देखिन्छ। कोही गुरुहरूसँग टीका आशिष ग्रहण गर्दैछन् त कोही मन्दिरमा पजा अर्चना गरिरहेका छन्। शालीनदी दर्शन गर्न हर कोही पुग्ने गर्छन्। मन्दिर प्राङ्गण घुम्दै गर्दा भन्न मन लाग्छ, ‘हरेकको छुट्टै भगवान् हुन्छ। भगवान्प्रतिको आस्था, विश्वास र महिमाभन्दा ठूलो सन्तुष्टि केही छैन।’ उहिल्यैदेखि सुनिआएको, हरेक घरघरमा वाचन हुने श्रीस्वस्थानी माताको कथा र शालीनदीको शक्तिको अगाडि हर व्यक्ति नतमस्तक देखिन्छन्। आस्था, विश्वास र भरोसाको अगाडि हरचिज फिका लाग्छ। 

रातो सारी चोलीमा देखा परिन् नवविवाहित महिला। हातमा फूलपाती समाएर ध्यान मुद्रामा थिए उनका श्रीमान्। दुवै जना सँगै उभिए, मन्दिरमा पूजा गरे, फूलपाती चढाए, हात जोडेर निकै वेर माधवनारायण भगवान् अघिल्तिर झुकिरहे। कोही युवायुवती स्वस्थानी माताको मन्दिरमा लाइनबद्ध थिए त कोही आमाबुबाहरू भजनकीर्तनमा रमाइरहेका थिए। कोही फोटो खिचिरहेका थिए त। कोही भजन मण्डलीमा बसेर थपडी मारिरहेका थिए।  मन्दिर परिसरमा रहेको हवन कुण्डमा बालेको आगो नजिकै बसिरहेका बाबाजीहरू महादेवको प्रसादस्वरूप चिलिममा भरिएको गाजा तान्नमा व्यस्त देखिन्थे। जाडोका प्रवाह नगरी केही गुरुहरू भने स्वस्थानी व्रतकथा वाचन गरिरहेका थिए। मनमोहक थियो स्वस्थानी मन्दिर परिसर। 

गेटबाट भित्र छिर्दाछिदै कर्णप्रिय भजन सुन्न सकिन्छ। भक्तजन र मन्दिरको सुरक्षाका खातिर नेपाल प्रहरीको टोली चौबिसै घण्टा तैनाथ छ। माधवनारायणको मन्दिर निर्माणाधीन छ। अन्य केही संरचना पनि बन्दै छन्। मन्दिर व्यवस्थापन समितिले यो मन्दिरलाई पवित्र तीर्थस्थलको रूपमा विकास गर्ने गरी योजना बनाएर काम गरिरहेको छ। श्रीस्वस्थानी व्रतकथामा भएका मन्दिर आसपास रहेको गोमा ब्राह्मणीको कुटी, नवराजको दरबार, चन्द्रावतीको माइती घर र गाउँ सबैको संरक्षणका लागि व्यवस्थापन समिति लागिपरेको छ। काठमाडांै उपत्यकाको उत्तरपूर्वमा रहेको प्राचिन नगर साँखुस्थित शालीनदी आफैंमा ऐतिहासिक, धार्मिक र पौराणिक महŒव रहेको स्थान हो। जहाँ हिन्दु धर्मका तेत्तीसकोटी देवताको बास रहेको छ भन्ने किंवदन्ती छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हरेक घरघरमा श्रीस्वस्थानी परमेश्वरीको पूजाआजा हुनेगर्छ। यो व्रत लिँदा र पूजा गर्दा जीवनभर गरेको पापनास हुन्छ, पुण्य मिल्छ भन्ने जनविश्वास छ। 

सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउनको लागि विष्णु भगवान्को सल्लाहअनुसार एक महिनासम्म निराहार व्रत बसेर श्रीस्वस्थानी माताको पूजा गर्दा मनोकांक्षा पूरा भएको किंवदन्ती छ। मनोकांक्षा पूरा भएपछि पार्वतीले लोककल्याणका लागि व्रतको प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गरेको उल्लेख छ। ३१ अध्याय रहेको श्रीस्वस्थानी व्रतकथाको बाह्रांै अध्यायमा श्रीस्वस्थानी माताको महिमाबारे वर्णन गरिएको छ। व्रत बसी कथा श्रवण गरेमा रोगव्याधि नास हुने, दुःखहरण हुने र मनले चिताएको पुग्ने बताइन्छ। यसका लागि कथामा गोमा ब्राह्मणी, नवराज, चन्द्रावती, पार्वती, सतीदेवीलगायतका पात्रहरूको कथा वर्णन गरिएको छ। स्वस्थानी व्रत अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी, तथा अन्य सतीदेवीको अंग पतन भएको स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वास छ। यसले गर्दा पनि यी स्थानहरूमा भक्तजनको ठूलो घुइँचो हुने गर्छ।

बुटवलका माधव आचार्य हरेक माघमा शालीनदी दर्शन गर्न काठमाडौ झर्ने गर्छन्। यहाँ आएर कामना गरेका हरेक कामहरू सफल भएका छन् उनका। नदीमै भेटिएकी जनकपुरकी लालदेवी यादव भन्छिन्, ‘मकर स्नान गर्दा रोग लाग्दैन, चिसो काट्छ र दुःख पीडाबाट मुक्ति मिल्छ भन्ने विश्वास छ।’ मन्दिर परिसरमा रहेको शालीनदीलाई थुनेर जलकुण्ड बनाइएको छ। जहाँ भक्तजनहरू नुहाउने गर्छन्। नदी सफा र स्वच्छ छ। नदीका छेउमा लस्करै व्यवस्थित रूपमा धाराहरू निर्माण गरिएको छ। जहाँ तातोपानी आउने गर्छ। स्वस्थानी व्रत सुरु भएपछि माधवनारायण भगवान्लाई प्रदेश यात्रामा लगिन्छ। माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले माधवनारायण भगवान्को दर्शनका लागि ३० देखि ३५ लाख भक्तालु उपस्थित हुने अनुमान गरिएको छ। साढे ४ करोडमा माधवनारायण मन्दिरको पुनर्निर्माण भइरहेको छ। आउने वर्षबाट भक्तजनले नयाँ मन्दिरको संरचनासहित दर्शन गर्न पाउनेछन्।

देवताको मूर्तिलाई बोकेर व्रतालुहरूले खाली खुट्टा बाजागाजासहित प्रदेश यात्रामा लैजाने गर्छन्। पशुपति गुह्येश्वरी, पनौती, फर्पिङको शेषनारायण, चाँगुनारायणलगायत स्थानमा भगवान्लाई भ्रमण गराइन्छ। माधवनारायण र श्रीस्वस्थानी माताको व्रत एकैदिन सुरु हुन्छ। भन्छन्, स्वस्थानी माताको मन्दिर तीन सय वर्ष पुरानो मन्दिर हो भने माधवनारायणको पूजा करिब सात सय वर्षअघिदेखि सुरु भयो। शालीनदी भने १३ सय वर्षदेखि बगिरहेको किंवदन्ती छ। मन्दिरमा हरेक दिन सूर्यभजन हुन्छ। बाह्रैमहिना पूजा हुन्छ। उनका अनुसार माधवनारायण भगवान्को पूजा अर्चनाले पुण्य मिल्छ र दुःख नास हुन्छ भनिन्छ। उस्तै अटल महिमा छ स्वस्थानी माताको पनि। शालीनदीको पानी छोएमात्रै पनि जीवनमा गरेको पाप नास हुन्छ भन्ने विश्वास छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.