कन्भेयर बेल्टले हवाई यात्रुलाई सहजता

कन्भेयर बेल्टले हवाई यात्रुलाई सहजता

विराटनगर : विराटनगर विमानस्थलको आगमन कक्षमा जडान गरिएको कन्भेयर बेल्टले हवाई यात्रुहरूलाई सहजता थपिएको छ।

विमानस्थलको टर्मिनल भवन छेउमै जडान गरिएको बेल्टका कारण सामान लिन यात्रुहरूले हानाथाप गर्नुपर्ने अवस्थाको अन्त्य भएको हो। कन्भयेर बेल्ट गत बुधबारदेखि सञ्चालनमा आएको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरण उड्डयन सेवा निर्देशनालयका उपमहानिर्देशक हंसराज पाण्डेले बुधबार आयोजित एक कार्यक्रमकाबिच कन्भेयर बेल्टको उद्घाटन गरेका थिए। 

यसले यात्रुहरूलाई सहजता प्रदान गर्नुका साथै समयको समेत बचत गरिरहेको विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारी बताउँछन्। आन्तरिक उडानबाट आएका यात्रुका ब्यागेज र अन्य सामानको उचित व्यवस्थापनमा यसले सघाउ पुर्‍याएको उनको भनाइ छ।

३८.८ मिटर लम्बाईको कन्भेयर बेल्टसँग एक घण्टामा २ हजार ३२८ वटा ब्यागेज क्लियर गर्ने क्षमता रहेको विराटनगर विमानस्थलले जनाएको छ। विमानस्थलका अनुसार कन्भेयर बेल्टले ६० किलोग्राम प्रतिमिटरका दरले ब्यागेज क्लियर गर्दछ। 

काठमाडौंको सिटीएस एनटीई जेभीले विमानस्थलमा कन्भेयर जडानको काम गरेको हो। विराटनगरमा जडान गरिएको कन्भेयर आन्तरिक उडान गर्दै आएका विमानस्थलहरू मध्येकै पहिलो रहेको विराटनगर विमानस्थलका मेकानिकल अफिसर चितनारायण माझीले बताए। 

विराटनगरको काम सकिएपछि हाल नेपालगञ्ज र धनगढी विमानस्थलमा कन्भेयर बेल्ट जडानको काम भइरहेको उनले जानकारी दिए। उनले भने, ‘आन्तरिक उडानतर्फ विराटनगरमा पहिलो हो। काठमाडौं, भैरहवा र पोखरामा भने पहिलेदेखि नै थियो।’

नेपाल नागरिक उडड्यन प्राधिकरणले गत चैत्रदेखि नै विराटनगरसहित देशका ३ वटा विमानस्थलमा ‘कन्भेयर बेल्ट’को सुविधा थप गर्ने योजना अघि सारेको थियो। 

योजना बमोजिम प्राधिकरणद्वारा विराटनगर, नेपालगञ्ज र धनगढी विमानस्थलमा एकैसाथ कन्भेयर जडानको प्रक्रिया अगाडि बढाइएको थियो। जसमा विराटनगरको जडान प्रक्रिया सकिएको हो। 
यसले विमान अवतरण भइसकेपछि आफ्नो सामानका लागि लामो समय पर्खिनुपर्ने अवस्थाको अन्त्य भएको विराटनगर विमानस्थलमा भेटिएका धरान निवासी कुलप्रसाद राई बताउँछन्। 

‘पहिले प्लेनबाट ओर्लिएपछि कर्मचारीहरूले ट्रलीमा सामान ल्याइदिन्थे। त्यसपछि हानाथाप गर्दै हामीले आफ्नो सामान चिनेर लानुपर्‍थ्यो। घण्टाभर समय त त्यसमै लाग्थ्यो,’ उनले भने, ‘तर, अहिले हामीलाई सजिलो भएको छ। १० मिनेटमै आफ्नो लगेज पाईन्छ।’

विमानस्थलमा जडान गरिएको कन्भेयरबाट प्राविधिक सुविधा अभिवृद्धि हुनुका साथै यात्रुहरूले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको सेवा समेत प्राप्त गर्ने विश्वास लिइएको छ। विराटनगर विमानस्थलबाट हाल भने दैनिक १५ देखि १७ वटा नियमित उडान हुने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.