भूमिकाको भाउ कति ?

मैले भूमिका लेखाएबापत कसैलाई पारिश्रमिक दिएको पनि छैन।

भूमिकाको भाउ कति ?

कृतिमा भूमिका किन लेखाउने, नलेखाउने, पारिश्रमिकबिना किन लेख्ने, नलेख्ने, यसको भाउ निर्धारण हुनुपर्छ भन्नेजस्ता कुरा केही पहिलेदेखि नै चर्चा हुँदै आएका हुन्। कृतिमा भूमिका लेखाउने वा नलेखाउने भन्ने कुरा कृतिकारको अधिकार हो भने पारिश्रमिकबिना लेख्ने वा नलेख्ने भन्ने कुरा भूमिकाकारको अधिकार हो। कुनै पनि लेखकले जोसुकैलाई भूमिका लेखाउँदैन, आदर गरेका व्यक्तिबाट मात्र लेखाउँछ। कसैले कसैलाई भूमिका लेखाउनु भनेको उसप्रति गरिएको सम्मान हो र दीर्घसाधनाबाट निर्मित व्यक्तित्वको मूल्यांकन पनि हो। यस्तो मूल्य पैसाबाट मात्र निर्धारण हुन्न तर कतिपयले यसलाई धान्न सकेकोे देखिन्न।

ज्ञानको कुनै मूल्य हुँदैन यो त अमूल्य हुन्छ। साँच्चिकै कृति राम्रोसँग पढेर विश्लेषणात्मक, समालोचनात्मक र मूल्यांकनात्मक ढंगबाट भूमिका लेख्दा लाग्ने समय, श्रम र मिहिनेतको मूल्य दिनु राम्रो हो। कति भन्ने कुरा भन्न गारो छ किनभने भूमिका लेखन पेसा होइन। यसर्थ यस्ता भूमिकाका लागि तोकिएको मूल्य नै हुँदैन। कृतिको प्रायः अग्रभागमा राखिने शुभकामना, मन्तव्य, परिचयात्मक, सैद्धान्तिक, प्रायोगिक, विश्लेषणात्मक, समालोचनात्मक, मूल्यांकनात्मक आदि सबै प्रकारका लेखनलाई भूमिका नाम दिइन्छ। भूमिका कसले लेख्यो र कस्तो लेख्यो भन्ने कुराले पनि कृतिलाई प्रभाव पार्छ। कतिपय व्यक्तिले कृति नै नपढी फेद न टुप्पाका फुँदा जोडेर शतककै वा दशककै उत्कृष्ट कृति भनी भूमिका लेखिदिने भूमिकाकार र त्यसैमा मख्ख पर्ने लेखक पनि पाइन्छन्। यस्ता फुँदाजडित भूमिकारूपी शुभकामना र मन्तव्यले कृतिको गरिमा कत्ति पनि बढाउँदैन बरु घटाउँछ, यसर्थ यिनको कुनै अर्थ छैन।

कृति राम्रोसँग पढेर सैद्धान्तिक, प्रायोगिक, विश्लेषणात्मक, समालोचनात्मक र मूल्यांकनात्मक ढंगबाट लेखिएका भूमिकाले भने कृतिको गरिमा अवश्य बढाउँछ, त्यसमा पनि भूमिका लेखकको प्रभावले उल्लेख्य काम गर्छ। भूमिकाकै कारणबाट पनि कैयांै कृति प्रसिद्ध भएका र अधिक बिकेका उदाहरण पनि छन्। यता केही समयदेखि कृतिमा लेखाइने–लेखिने भूमिकाको पारिश्रमिकबारे सामाजिक सञ्जाल फेसबुकमा भइरहेका टीकाटिप्पणी र बहसमा खासै बोल्ने मन थिएन तर नामोल्लेख गरेर संलग्न गरी प्रतिक्रियाको अपेक्षा गरेपछि बोल्नैपर्ने भयो। यसको आरम्भ कृष्णले गरे र अरू विभिन्नले टिप्पणी प्रतिटिप्पणी गर्दैछन्। टिप्पणी उग्र र मत्थर दुवै खालका छन्। हुनतः उहिलेका कृष्णले पनि मान्छे उकासेर भिडन्त गराएकै हुन् भने अहिलेकाले किन छोडुन्। कृतिमा भूमिकाको काम छैन, लेखाउनै पर्दैन भन्ने उग्र टिप्पणी पनि देखियो। कृतिमा भूमिकाको काम नभए अनेक अनुनयविनय गरेर किन लेखाएका त ? सबै टिप्पणीकर्ताले पालना गर्लान् त ?

पहिले गाउँघरतिर बेरोजगारहरू चौतारामा भेला भएर अरूका कुरा काट्दै छेउछाउका खोल्साखाल्सी फोहोर पारेर समय कटनी गर्थे भने अहिले फेसबुकमा अरूका कुरा काट्दै फेसबुक नै फोहोर पारेर समय कटनी गर्ने गरेको देखिन्छ। यसमा पनि हामी नेपाली नै अग्रपंक्तिमा छौं। कतिपय भूमिका लेखकले शब्द गणना गरेर पैसा लिन्छन्, कसैले अग्रिम भुक्तानी गरेपछि मात्र लेख्छन्, कसैले मोलमोलाई नै गर्छन्, कसैले लेखकसँगै लेखिदिन्छु भन्ने आग्रह गरेर पनि लेख्छन्, कसैले लेखकलाई थाहै नदिई प्रकाशकबाट आफैं पाण्डुलिपि ल्याएर पनि लेख्छन् आदि–आदि अनेक कुरा सुनिन्छन्। कतिपय लेखकले मैले फलानालाई भूमिका लेखेबापत यति दिएँ, पैसा नदिई भूमिका दिन्न भन्यो आदि भनेको पनि सुनिन्छ।

भूमिका लेखनमा पारिश्रमिक दिनुलिनु नराम्रो होइन। पूर्वनिर्धारण गरेरै लेनदेन गरे पनि हुन्छ। तर, लेख्नुपूर्व केही कुरा नगर्ने पछि फलानाले दिएन भनी कोकोहोलो मच्चाउने काम भने गलत हो। कसैले कसैका कृतिमा राजीखुसी भूमिका लेखिदिन्छ भने त्यसलाई श्रमको शोषण भन्न मिल्दैन। कसैले कसैलाई पारिश्रमिक दिएर वा नदिएर भूमिका लेखाउँछ र कसैले पारिश्रमिक लिएर वा नलिएरै कसैका कृतिमा भूमिका लेखिदिन्छ भने त्यसमा अरूले टाउको दुखाउनु आवश्यक छैन। यी सब दिनेलिनेका निजी कुरा हुन्। यसमा व्यक्तिगत सम्बन्धले पनि प्रभाव पार्छ। यसमा अरूले चासो लिनु र कुरा काट्दै हिँड्नुको कुनै अर्थ छैन। अग्रज पुस्ताले अनुज पुस्ताको प्रोत्साहनका लागि पनि भूमिका लेखिदिनु उपयुक्त नै हुन्छ। यो एकोहोरो मात्र हुन्न दोहोरै हुन्छ।

पुस्तक छपाउने खर्चमा भूमिका लेखन र विमोचनमा बोल्न लगाउने पैसा जोड्नुपर्छ भन्ने कुरा अनुपयुक्त होइन तर यस्तो परिपाटी बसिहाल्ने अवस्था पनि छैन। भूमिका लेखकले भूमिका लेखनको मूल्य आफैंले तोक्न पनि पाउँछ र त्यो मूल्यमा कृतिकारले नलेखाउन पनि पाउँछ। ‘म बिना पारिश्रमिक कुनै पनि सम्पादन, भूमिका, पुस्तक समीक्षा, पाण्डुलिपि पढी राय सुझाव दिन सक्दिनँ’ भन्न पाइन्छ र यसमा कसैले किन भनी प्रश्न गर्न मिल्दैन तर भूमिकालाई सम्पादन, पुस्तक समीक्षा, पाण्डुलिपि पढी दिइने रायसुझावसँग तुलना गर्न मिल्दैन। यी सबै फरक–फरक कुरा हुन्। यिनैमा पनि पहिले केही कुरा नगरी काम गरिदिने र पछि फलानाले पारिश्रमिक दिएन भन्दै हिँड्नचाहिँ नैतिकताले दिँदैन। यो त विभिन्नतिर समालोचकलाई गाली गर्दै हिँड्ने लेखकले घरमै कोसेली बोकेर आई मेरो समालोचना लेखिदिनु न, पाठ्यक्रममा राखिदिनु न भनी चाकडी गरेजस्तो मात्र हो।

फेसबुके अभिव्यक्तिको प्रतिटिप्पणीका क्रममा कसैले त विशिष्ट, चर्चित भूमिकाकार भनी प्रशंसा गर्दै विस्तारवादी भूमिका लेख्ने केही व्यक्तिका नाम लिएर तिनले पारिश्रमिक नलिई लेखेको भनी ठोकुवा गरेको र आफूलाई ठूलै भूमिका लेखक भएको देखाउन अग्रज पुस्ताका यी–यी लेखकको भूमिका लेखेको भन्ने विवरण नै दिएर आत्मश्लाघा गरेको पनि देखियो। त्यसरी नाम लिएका व्यक्तिले भूमिकाका नाममा असुल्ने मात्र नभएर के–के चर्तिकला गरेका छन् भन्ने कुरा सर्वविदितै छ। कसैले कसैका कृतिमा भूमिका भनेर लम्बेतान गन्थन लेखी त्यसलाई ‘भूमिका खण्ड मात्र’ भनी पाठ्यक्रममा राखेको कुरा पनि कसैबाट छिपेको छैन। यस्ता कुरामा अनावश्यक चाकडी गर्नाको कुनै तुक छैन।

मैले विभिन्न लेखकका पाण्डुलिपि पढ्दा मन नपरेर भूमिका नलेखी फिर्ता पनि गरेको छु र तीमध्ये कतिपयसँग बोलचाल नै बन्द पनि भएको छ। कतिपय लेखकका पाण्डुलिपि पढेर सच्याउन लगाई र कतिपयका अनिवार्य सच्याउने सर्तमा मात्र भूमिका लेखेको छु तिनले भनेअनुसार प्रसन्नतापूर्वक सच्याएका पनि छन्।

भूमिका लेखनमा पारिश्रमिक दिनुलिनु नराम्रो होइन। पूर्वनिर्धारण गरेरै लेनदेन गरे पनि हुन्छ। तर, लेख्नुपूर्व केही कुरा नगर्ने पछि फलानाले दिएन भनी कोकोहोलो मच्चाउने काम भने गलत हो।

पैसाको मात्राका आधारमा अनावश्यक प्रशस्तिगान गरेर भूमिका लेखिदिने व्यक्तिलाई भूमिकाकार र पैसाका भरमा अनावश्यक प्रशस्तिगान गर्न लगाउने लेखकलाई पनि साहित्यकार भन्न मिल्दैन। यी दुवै वणिक् हुन्। पैसा देऊ तिमीले भनेजस्तै भूमिका लेखिदिन्छु भन्ने पण्डा समालोचकबारे त्यसरी लेखाउने र लेख्नेलाई नै बढी थाहा होला, यस्तालाई समालोचक भन्न मिल्दैन। यिनले मात्र होइन, पैसाका भरमा ठूलो साहित्यकार बन्न खोज्ने तथाकथित अन्डा लेखकले अझ बढी नेपाली साहित्यको हुर्मत काढेका छन्। यी दुवै साहित्य जगत्का कलंक हुन्।

खासमा भन्ने हो भने सुरुमा कतिपय भूमिका रहरले लेखिन्छ। पछि क्रमशः करले र बाध्यताले लेखिन्छ। बिना पारिश्रमिक कसैको भूमिका लेख्दिनँ भन्न पाइन्छ तर यसो भनी हाल्ने अवस्थामा सबै हुँदैनन् र सबैलाई भन्न पनि सकिन्न। कुनै लेखकको आग्रहलाई हार्न सकिन्न भने कुनै कसैमार्फत आएकाले उसको आग्रहलाई टार्न पनि सकिन्न। यस्ता कुरामा भावनामा बहकिएर हुन्न यथार्थवादी भएर सोच्नुपर्छ। यति हुँदाहँदै पनि काम लगाएपछि परिश्रमको मूल्य भने दिनु राम्रो हो तर त्यो मूल्य नगदनारायणमा मात्र हुन्छ भन्ने होइन।

मैले अहिलेसम्म अग्रज, समकालीन र अनुज पुस्ताका संसारभरका कतिजना लेखकका विविध विधाका कतिवटा कृतिमा भूमिका लेखेँ भनी गणना गर्न कठिन छ। मैले एकै व्यक्तिका विभिन्न विधाका आधादर्जन कृतिको भूमिका पनि लेखेको छु भने एकै व्यक्तिका २–४ कृतिको भूमिका पनि लेखेको छु। कसैका त तीन पुस्ताका कृतिको पनि भूमिका लेखेको छु। म जन्मनुभन्दा पहिले कृति प्रकाशन गर्ने लेखकका कृतिको भूमिका पनि लेखेको छु। एक व्यक्तिको एक कृतिको भूमिका त कति लेखियो कति...। कसैले जस्ताको तस्तै छाप्छन् भने कसैले त थपघट पनि गर्छन् र कमजोरी देखाइएका कुरा हटाएर छाप्छन्। यी सबै व्यक्तिका व्यवहारमा निर्भर हुने कुरा हुन्।

भूमिका लेखाउने कतिपयले केही दिन्छन् कतिपयले केही पनि दिँदैनन्। कसैले पारिश्रमिकको त के कुरा प्रकाशित कृति पनि दिँदैनन्। पहिलेपहिले त दिएको पारिश्रमिक र उपहार फिर्ता पनि गरियो अहिले किन फिर्ता गरिएछ भनी पुनः माग्न जान वा झोक्राएर बस्न पनि त भएन नि। पारिश्रमिकका सन्दर्भमा मैले भूमिका लेखेबापत कसैसँग पनि लेनदेनको सर्त गरेर वा मागेर अहिलेसम्म लिएको छैन र त्यसरी लेखेकै छैन तर कसैले खुसीले दिएको भने लिएको पनि छु। कतिपयले भूमिकालेखन र विमोचनमा बोलेबापत एउटा ठेउको मात्र भिडाएका पनि छन्।

मैले भूमिका लेखाएबापत कसैलाई पारिश्रमिक दिएको पनि छैन। पारिश्रमिकबिना भूमिका नलेख्ने भनेर निकै पहिले लेख नै लेखेका डा. तारानाथ शर्मालाई मेरो निबन्ध संग्रहमा भूमिका लेखाउँदा उनले पैसा मागेनन्। मैले पारिश्रमिकको कुरा कोट्याउँदा ‘भाइसँग पनि पैसा लिन्छु त’ भनेर उल्टै जंगिए। मैले मेरा कृतिमा भूमिका लेखाएको यति नै हो, त्यो पनि पैसाविना लेख्दा रहेछन् कि लेख्दा रहेनछन् भनी परीक्षणका लागि। यी सब व्यक्तिगत सम्बन्धमा भर पर्ने कुरा हुन्। यसर्थ भूमिकाको पारिश्रमिकलाई लिएर अनावश्यक गनगन गर्नुको कुनै तुक छैन। खासमा भूमिकाको भाउ यतिउति भनेर निर्धारण गर्न सकिन्न। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.