राष्ट्रपतिको सवारीमा नागरिकलाई दुःख नदिऔंः गगन थापा
काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिको सवारीका क्रममा जनतालाई दुःख दिन नहुने बताएका छन्।
थापाले विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने वातावरणको अन्त्य गर्नुपर्ने बताएका हुन्।
सामाजिक सञ्जालमार्फत् थापाले भनेका छन्,‘ विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौं। राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लघंन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौं।’
निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुनेगरी अहिलेदेखि तयारी गर्नुपर्ने बताए।
थापाले भने, ‘नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौं। र, म आफ्नो ठाउँबाट यसका लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने र गराउने कुरामा प्रतिबद्ध रहने छु।’
प्रतिक्रिया दिनुहोस !