समस्यामा जेलिँदैं सहकारी

समस्यामा जेलिँदैं सहकारी

सञ्चालकले मनपरी ऋण चलाउने, सावाँ, ब्याज नतिर्ने र अन्धाधुन्ध घरजग्गामा लगानी गर्दा सहकारी धराशायी हुने क्रम बढ्दो।  तुलसी सुवेदी

काठमाडौं : सञ्चालकको बदमासी र गैरजिम्मेवारीका कारण सहकारीमा दिनप्रतिदिन समस्या बढ्न थालेको छ। सञ्चालकले मनपरी ऋण चलाउने, सावाँ, ब्याज नतिर्ने र अन्धाधुन्ध घरजग्गामा लगानी गर्दा सहकारी धराशायी हुने क्रम बढेको हो। 

केही सीमित व्यक्तिले सहकारीलाई कम्पनीका रूपमा चलाउँदा अधिकांश सहकारी समस्या पर्न थालेका छन्। सहकारीले ऋणको किस्ता र ब्याज असुल्न नसक्दा बचतकर्ता मारमा परेका छन्। राष्ट्रिय सहकारी महासंघका सञ्चालक केबी उप्रेतीले कति सञ्चालकले ऋण चलाएका छन् भन्ने यकिन नभएको बताए। ‘ऋण चलाएका सञ्चालकले प्राथमिकताका साथ तिर्नुपर्छ’, उनले भने, ‘ऋण उठाउनका लागि सरकारले पनि सहयोग गर्नुपर्छ।’ 

महासंघले गत पुस महिनामै ऋण नतिर्ने सहकारीका सञ्चालक तथा सदस्यको जग्गा रोक्का राख्न सरकारलाई अनुरोध गरेको थियो। त्यसरी जग्गा रोक्का राख्न नमिल्ने सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्याय बताउँछन्।

ऋण चलाउने सञ्चालक तथा ऋणी सदस्यको जग्गा रोक्का राख्दै ऋण तिर्न जिल्ला प्रशासन कार्यालयमार्फत ताकेता गर्ने निर्णय महासंघले गरेको थियो। तर, अदालतले निर्णय नगर्दासम्म जग्गा रोक्का राख्न कठिन भएको उपरजिस्ट्रार उपाध्याय बताउँछन्। ऋण नतिर्ने सञ्चालक तथा सदस्यलाई विभागमार्फत पत्राचार गरिएको महासंघका सञ्चालक उप्रेतीले बताए। 

महासंघले उप्रेतीको संयोजकत्वमा समस्या समाधान उपसमिति गठन गरेको छ। उक्त समितिको बैठकले गत पुस ११ गते सहकारी ऐन २०७४ को दफा ८४ को व्यवस्था कार्यान्वयन गर्न सरकार गुहारेको थियो। सरोकारवाला निकायसँग समन्वय गरी समस्या समाधान गर्न उक्त समिति क्रियाशील भइरहेको उप्रेती बताउँछन्। 

सहकारीका सञ्चालक तथा कर्मचारीले ऋण नतिरी समस्या समाधान नहुने उप्रेतीको भनाइछ। ‘सदस्यले ऋण नतिरेमा निक्षेप फिर्ता गर्न सकिँदैन,’ उनले भने, ‘ऋण तिर्ने पहिलो प्राथमिकता सञ्चालक र कर्मचारीकै हो।’ 

महासंघले ताकेता गरेसँगै सञ्चालकबाट तिर्ने क्रम सुरु भएको जनाइएको छ। धेरै संस्थामा सञ्चालकले ऋण नलिए पनि पछिल्लो आर्थिक संकटले उनीहरूलाई पनि गाँजेको छ। ‘पैसा तिर्नुपर्दैन भन्ने कतिपयमा गलत धारणा भएकाले तिर्न आनाकानी गरेका छन्,’ उप्रेतीले भने, ‘त्यस्ता सञ्चालक तथा सदस्यलाई कारबाहीको दायरामा नल्याई सुखै छैन।’  सहकारीमा प्रायःजसो बिनाधितो लगानी हुने गरेको छ। त्यसैले पनि धितो नलिई जग्गा रोक्का राख्न सहज नभएको हो। बिनाधितो, कमसल धितोमा लगानी तथा सञ्चालकले आफूखुसी ऋण चलाउँदा सहकारीमा समस्या विकराल भएको हो। सदस्यमा ऋण तिर्न नपर्ने सोच हाबी भएसँगै खराब कर्जा बढ्दै गएको सञ्चालकको दाबी छ। 

अधिकांश सहकारीले सदस्यलाई बचत फिर्ता गर्न सकेका छैनन्। संकट देखा परेसँगै सहकारीमा विश्वास गुम्दै गएको उपरजिस्ट्रार उपाध्यायको भनाइ छ। ‘एकैचोटी कसैले पनि फिर्ता दिन सक्दैन्,’ उनले भने, ‘तर सहकारीमा अविश्वासका कारण धेरै सदस्य एकै पटक फिर्ता माग्न आउने गरेका हुन्।’ 
पछिल्लो समयमा सहकारीमा खराब ऋणको दायरा बढ्दै गएको छ। औसतमा ३५ प्रतिशतभन्दा बढी नै खराब ऋण रहेको सहकारी अगुवाहरूको अनुमान छ। सञ्चालक आफैं, परिवारका सदस्य तथा छद्मभेषी नाममा ऋण लिई दुरुपयोग गर्ने गरेको अनुगमनका क्रममा भेटिएको थियो। 

‘महासंघ आफैंले इनिसेसन लिएर सञ्चालकलाई ऋण तिर्न लगाउनु राम्रो विषय हो’,उपरजिस्ट्रार उपाध्यायले भने, ‘सञ्चालकले अनुत्पादनमा लगानी गरेकाले नै सहकारीमा समस्या थपियो। केही संस्थामा समस्या देखिँदा त्यसको असर चारैतिर पर्‍यो।’

सहकारीमा विश्वास धर्मराएको भन्दै उपरजिस्ट्रार उपाध्यायले भने, ‘अव विश्वास जगाउने काम पनि सञ्चालककै हो।’ ऋणीलाई ऋण तिर्न माहोल सिर्जना गरी बचतकर्ताको बचत फिर्ता गर्ने सुनिश्चितता सञ्चालकले तत्काल गर्न सके समस्या समाधान हुने उनको भनाइ छ। ‘कहाँ लगानी गर्ने भन्ने सञ्चालक नै बढी जिम्मेवार हुने भएकाले ऋण लिएको भए तिर्न र सदस्यबाट उठाउन पनि अग्रसर हुनुपर्छ’ उनले सुझाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.