होलीः भेदभावरहित पर्व
महोत्तरी: फागु पुर्णिमाका दिन घरघरमा मनाईने रंगहरुको पर्व होली हरेक समुदायले मनाउने पर्वको रुपमा मनाउने गरिन्छ।
हिन्दु धर्मग्रन्थका अनुसार सत्ययुगमा भगवान विष्णुका भक्त प्रल्हादले आसुरी शक्तिमाथि विजयी पाएको खु्शियालीमा यो पर्वको शुरुवात भएको मानिन्छ। पछिल्लो समयमा आएर पर्वलाई उल्लासमय तवरले घरघरमा मनाईने गरिन्छ। होली पर्व भेदभावरहित तवरले मनाउने गर्दछ।
वर्षको एक दिन मनाउने यो पर्वको खु्शियालीमा मानिसहरु जातपात, धर्म, वर्ण, लिङ्ग, समुदाय नहरिकन एकले अर्कालाई रंग र अविर दलेर खुशि साटासाटी गरिरहेका हुन्छन्। उसो त यस पर्वको अवसरमा महिनादिन अगाडिदेखि नै प्रायः स्थानमा होलीको अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरिएका हुन्छ।
माघ शुक्लपक्ष अर्थात श्रीपंचमीदेखि नै समु्दायमा होली पर्वको आभास हुन थाल्दछ। सामाजिक छुवाछुत, उचोनिचो जात र भिन्न भिन्न धर्मसंस्कृतिभन्दा माथि उठेर एक अर्कोलाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ। तर, यसको सौन्दर्यको महत्त्वपूर्ण अङ्ग श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म गाइने जोगिरा लोप हुँदै गएर अब ‘डिस्को’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएको कर्णले चिन्ता व्यक्त गरे।
होली पर्वमा वर्षभरि भेटघाट नभएकाहरु एकअर्काको घरमा भेटघाट गर्न जाने र रङ तथा शुभकामना आदानप्रदान गर्ने चलन छ। यो पर्वले साथी भाई इष्टमित्रलाई वर्ष दिनमा एक पटक भेटघाट गर्ने अवसर पनि जुराउँछ। आपसमा मनोमालिन्य र रिसराग भएकाहरु पनि त्यसलाई बिर्सेर आजकै दिनबाट सम्बन्धको नयाँ सुरुवात गर्छन्।
तराईमा गर्मी भएकाले यहाँ पहिलेदेखि नै पानी र रङसँग होली खेल्न सहज महसुस गरिन्छ। रङ र अबिरको होली खेलेपछि आफन्तजन एवम् इष्टमित्रहरुलाई काजु, किसमिस, नरिवल, छोकडा, सुपारी आदिको मसला खान दिने चलन छ। होली पर्वकै लागि नया सेतो वस्त्र लगाएर होली खेल्ने तराईको पुरानो परम्परा हो। मान्यजन तथा ठूलाबडासँग रङ लगाएपछि कनिष्ठले खुट्टामै ढोगेर आशीर्वाद लिने परम्परा छ।
होलीमा माछामासुको परिकार बढी खाइन्छ। खाने पिउनेमात्र नभई नेता तथा समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुलाई पनि सार्वजनिक रुपमा व्यंग्य गर्ने छुट यो पर्वमा छ। यसरी होली पर्वमा व्यंग्य गर्दा कसैले पनि चित्त दुखाउँदैनन्। अग्रज संचारकर्मी कन्हैयालाल केशरी भारतसँगको भौगोलिक सामिप्यता तथा सहज आवागमनको सुविधाका कारण भारत र नेपालको तराई मधेसको होलीबीच धेरै समानता रहेको बताउँछन्।

जोगिरा लोप हुँदा समाजिक अगुवा चिन्तित
होली पर्वको अवसरमा सामुहिक रुपमा गाईने जोगिरा (फागुगीत) क्रमिक रुपमा लोप हुँदै गएको छ। डेढ दशक अगाडि वसन्त ऋतुको आवागमनसँगै रातिको समयमा जोगिरा गाईने गर्दथ्यो। सार्वजानिकस्थलमा रातिको समयमा गाईने जोगिरा क्रमिक रुपमा लोप हुन थालेको छ।
फागुको स्वागतमा हार्मोनियमको मिठो राग, लय अनि डम्फु र मृदङ्गको तालमा जम्ने जोगिराको दलान पछिल्लो समयमा देखिन छाडेको छ। मिथिलाका बस्ती–बस्तीमा टोलैपिच्छे घरदलानमा गाउने जोगिराले दिने फागु पर्व नजिकिएको सन्देश अब सुन्न छाडिएकोमा यहाँका बुढापाकाको चिन्ता छ।
जोगिराले फागुको सन्देश दिन र उमङ्गसित बनाउने विषय अब कथामा मात्रै सिमित हुने हो कि भन्ने चिन्ताको विषय बन्दै गएको गौशाला वहु्मुखि क्याम्पसका प्राध्यापक दुर्गाप्रसाद सिंहले बताए। प्राध्यापक सिंहले भने, ‘देशमा माओवादी जनयुद्ध तीव्र रुप लिएपछि सर्वसधारणहरु सुरक्षाको कारण देखाउँदै एक ठाँउमा वस्नका लागि डराउन थाल्यो। जसको परिणाम जोगिरा समाजबाट लोप हुने स्थितिमा पुगेको छ।’
भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रउस मिसिएका शब्दावलीको संयोजनका जोगिरा (फागु गीत) सुन्न छाडिएपछि फागुपर्वको रौनक हराउँदै गएको गौशाला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विरेन्द्र कुमार साहको ठम्याई रहेको छ। आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीक मानिने फागु (होली) पर्वमा हास(परिहास, ठट्टा गरिनेबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रउसको संयुक्त प्रतिबिम्ब हुने जोगिरा सुन्न छाडिएको साहले बताए।
साहले भने, ‘नाता अनुसार ख्यालठट्टा गरिनु नवयौवना मात्र नभई गवैया समूहबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन। समाजिक लोकपरम्परालाई जीवित पार्नका लागि अनि सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि यी जोगिराले महत्वपुर्ण भूमिका निर्वाह गरेका हुन्छ। यसले समाजिक सद्भाव बढाउनुको साथै परम्परालाई जीवित राख्न थप मद्दत पुर्याएका हुन्छन्।’
लामो समयसम्म अध्यापन पेशा अंगालेका गौशाला नगरपालिका ४ रजखोरका पूर्व शिक्षक वासुदेव महतोका अनुसार जोगिरामा कामोत्सव भाव, वीर रस, आफ्नो परम्परागत संस्कृतिप्रतिको गौरव बोध हुने गरेको छ। यसमा आध्यात्मिक पक्ष र धार्मिक परम्पराप्रतिको समर्पण, माया प्रेम, ऊर्जा संस्कृतिको प्रचुरता, परम्पराको निरन्तरता अनि उमङ्गको भाव एकसाथ झल्किने गरेको शिक्षक महतोले बताए।
उनले भने, ‘पछिल्लो युवापुस्ताले राजनीतिक अधिकारका लागि मिथिला क्षेत्रमा नयाँ पुस्ताको आन्दोलनमा सहभागिता देखाउनु सुखद पक्ष रहेको छ। तर संस्कृतिको सवालमा जगेर्ना र संरक्षणमा भने खासै उत्साह देखिएको छैन्। यस्ता प्रवृतिले अगामी दिनमा हाम्रा पुस्ताले यहाँको मौलिक संस्कृतिलाई ईतिहासमै भेटिन्छ। तसर्थ यस प्रकारका सांस्कृति सम्पदाको संरक्षण अनि जगेर्नाका निम्ति समयमै सवैका ध्यान दिनु आवश्यक छ।’
पछिल्लो समयमा आएर यस्ता मिथिलाका प्रसिद्ध मौलिक संस्कृतिको रुपमा परिचित जोगिरा र झिझियाजस्ता परम्परागत धरोहरहरुलाई एनजिओ/आइएनजिओ (गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था) का कार्यक्रममा प्रायोजित रूपमा देखिन पाईएको भंगहा ३ का ८४ वर्षीय तेजनारायण सिंहले बताए। यद्यपि, यस्ता औपचारिक कार्यक्रममा देखाइने यी पारम्परिक सांस्कृतिक प्रदर्शनले नयाँ पुस्तालाई यी विषयमा सोच्न र तत्परता देखाउन भने सघाउने गरेको सिंहको तर्क छ।
मिथिलान्चल क्षेत्रमा सरस्वतीपूजा अर्थात श्रीपञ्चमीसँगै जोगिरा सुरु हुने गरेको छ। तर यसको औपचारिकता भने मिथिला माध्यमिक परिक्रमाको आठौँ दिनदेखि मात्र पुरा हुन्छ। धार्मिक लस्करको टोली महोत्तरीकै भङ्गाहा नगरपालिका ९ कञ्चनवनमा आएर होली खेलेपछि यसको यहाँ होली पर्वले औचारिकता पाउने गर्दछ। त्रेतायुगमा भगवान राम र माता सीताले यहाँ नै अबीर खेलेको स्मरणमा तीर्थयात्रीहरु रामजानकीलाई अर्पित गरिएको अबीर प्रसादस्वरुप एकअर्कालाई लगाइदिएपछि रङ्ग अबीरको पर्व विधिवत् सुरु भएको मानिने परम्परा छ।

संरक्षण गर्नुपर्नेमा सरोकारवाला निकायको जोड
परम्परागत रुपमा मनाईने होलीपर्वको जोगिरालाई विशेष रुपमा संरक्षण गर्नुपर्नेमा यहाँका जनप्रतिनिधीहरुले जोड दिएका छन्। मधेस प्रदेशका प्रदेशसभा सभासद तथा पूर्वमन्त्री भरतप्रसाद साहले होली पर्वको मुख्य आर्कषक केन्द्रविन्दु मानिने जोगीरालाई क्रमिक रुपमा युवा पुस्तामा हस्तान्तरण गर्नु अति नै आवश्यक रहेको धारणा राखेका छन्।
युवाहरुले क्रमिक रुपमा विर्सिदै गएको परम्परालाई कडिको रुपमा राख्नको निम्ति भएपनि वुढयौली पुस्ताले जोगीराजस्ता हाम्रा मौलिक सांस्कृतिक परम्परालाई हस्तान्तरण गरिनु अति नै आवश्यक रहेको सभासद साहले धारणा राखेका छन। उनले भने, ‘वर्तमान समयमा देशमा संस्कृति र प्रविधीजस्ता दुवै शिक्षाको आवश्यक रहेको छ। यसप्रति स्थानिय सरकारले विशेष रुपमा ध्यान दिनुपर्छ।’
गौशाला नगरपालिकाका पूर्वमेयर शिवनाथ महतोले यस्ता पुराना संस्कृतिलाई संरक्षण गर्नका लागि स्थानिय सरकारलाई ईमान्दारीता देखाउनुपर्नेमा जोड दिएका छन्। मैथिली संस्कृति लगायतका कुनै पनि समुदायको लोपोन्मुख संस्कृतिलाई जगेर्णा गर्नका लागि वजेट छुटयाएर भएपनि वार्षिक विनियोजित वजेटमा नै स्थान दिनुपर्नेमा महतोले जोड दिएका छन्।
गौशाला नगरपालिकाका मेयर डा दिपेन्द्र महतोले होरैया गीतलाई संरक्षण गरे युवाहरु कुलतबाट बच्न सकिने बताएका छन्। उनले भने, ‘यस्ता सांस्कृतिक सम्पदाले केही मात्रामा भएपछि युवालाई मानसिक रुपमा परिवर्तन गर्न सफल हुनेछ। पुरानो पुस्ताले क्रमिक रुपमा यस्ता समाजका लागि महत्वपुर्ण रहेको धरोहरहरुलाई क्रमिक रुपमा युवालाई हस्तान्तरण गरिनुसक्नुपर्छ। जसले गर्दा केहीमात्रामा भएपनि नगरका युवाहरु लागुऔषधजस्ता कुलतबाट बच्न सकिन्छ। नगरपालिकाले अगामी वजेटमार्फत युवा लक्षित कार्यक्रम थप गरिने प्रतिवद्धता जनाएका छन्।
मधेसमा भोलि होली
मधेस प्रदेशमा वुधबार मात्र होली खेल्ने भएका छन्। एकले अर्कालाई रंग र अविर दलेर होली पर्व मनाईदैछन्।
मधेसका पर्वते समुदायले सोमबार फागुन पूर्णिमाका दिन ‘होली’ मनाइरहेका छन्। मधेस प्रदेशका मूल मधेसीले पूर्णिमाको भोलिपल्ट ‘होली’ मनाउँछन्। मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने अर्को परम्परा छ। तर मंगलवारका दिन काटमार नहुने भएपछि वुधबार मात्रै होली खेल्ने तयारी गरेका छन्। मधेसी समुदायले उदाउँदो पूर्णिमा अर्थात् चैत कृष्ण प्रतिपदाका तिथिमा होली मनाउने परम्परा भए पनि यसपटक चैत्र द्वितीया तिथीका दिन होली खेल्दैछन्।
यसैबीच पर्वलाई सभ्य र शालीन ढङ्गले मनाउन प्रशासनिक निकाय र सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन्। ‘होली’ सत्य र अहिंसाको प्रतीक पर्व भएकाले जबर्जस्ती रङ हाल्ने, लोला हान्ने र अरुलाई बाधा पर्ने गरी मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पक्षलाई निरुत्साहित गर्न पर्ने सबै निकायले को आग्रह गरेका हुन् । यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होली पर्वले समाजमा विद्यमान आपसी भाइचार र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
होली पर्वको अवसरमा आज शुभकामना सन्देश दिंदै मुख्यमन्त्री यादवले मधेस–प्रदेश तथा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, संवृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नाका साथै ऐतिहासिक र सांस्कृतिक धरोहर मिथिलामध्यमा परिक्रममा सहभागी सम्पूर्ण साधुसन्त र धर्मानुरागीलाईसमेत शुभकामना दिएका छन्।
यस्तो छ पौराणिक गाथा
हिन्द् धर्मशास्त्रमा उल्लेख भएअनुसार सत्ययुगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ। दैत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको थियो। होलिकादहन पश्चात सवैले हर्षित भई एक आपसमा खुशी साटासाट गरेका थिए। सोही घटनालाई स्मरण गर्दै समाजमा ‘होली–पर्व’ पर्दापण भएको विश्वास गरिन्छ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार दैत्यराज्य हिरण्यकशिपु आफ्नै पुत्र प्रह्लाद भगवान विष्णु भक्त भएकामा क्रोधी बनेका थिए। भगवान बिष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवानभक्त प्रह्लादका घटना क्रमसँग सम्बन्धित रहेको छ। नारद पुराण र भविष्य पुराणमा त होलीको महत्व अनि चलनको समेत चर्चा गरिएको छ।
त्यस्तै द्वापर युगमा भगवान श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ। यसरी पुतनाको बध भएपछि गोपालबासीहरुले जयजयकार गर्दै आजको दिनको रङ्गीन उत्सव मनाएको कथा पनि धार्मिक ग्रन्थहरुमा पढ्न पाइन्छ। नीलो रङ्गले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रङ्ग भगवान श्रीकृष्णको प्रिय रङ्ग मानिन्छ।
होलीका बेला शौभाग्यको सूचक रातो रङ्गको प्रयोग पनि आज ब्यापक गरिन्छ। शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछाँयामा होली–गीत गाउँदै रातभरि कार्यक्रम आयोजना गर्ने चलन पनि छ।
प्रतिक्रिया दिनुहोस !