विद्यालय र अभिभावकलाई जोडन गाउँपालिकाको मोबाइल एप्स ‘इभिज’

विद्यालय र अभिभावकलाई जोडन गाउँपालिकाको मोबाइल एप्स ‘इभिज’
सुन्नुहोस्

झापा: झापाको हल्दिबारी गाउँपालिकाले सामुदायिक विद्यालय र अभिभावकलाई मोबाइल एप्स प्रविधिसँग जोड्ने प्रयत्न गरेको छ।  

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई ख्याल गर्दै झापाका १५ वटा पालिकामध्ये हल्दिबारी गाउँपालिकाको जिल्लामै यो पहिलो प्रयत्न हो।  

हल्दिबारीका सामुदायिक विद्यालयको शान्ति सुरक्षा र अनुगमनलाई मोबाइल एप्समार्फत प्रत्यक्ष निगरानी गराउने गाउँपालिकाको पाँच बर्से लामो प्रयास बल्ल सफल भएको छ।  

गाउँपालिकाले पालिकाभित्र रहेका १७ वटा सामुदायिक विद्यालयमा जडान गरिएको सिसी क्यामेराको निगरानीलाई अभिभावकहरूले घरमा बसी बसी हेर्न पाउने मोबाइल एप्स ‘इभिज’ लन्च गरेको छ।  

गाउँपालिकामा सोमबार आयोजित एक समारोहकाबीच राप्रपा अध्यक्ष तथा पूर्वउपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले मोबाइल एप्स ‘इभिज’को बटम थिचेर उद्घाटन गरेका हुन्।  

उद्घाटन कार्यक्रममा बोल्दै लिङ्देनले सबै विद्यालयहरूमा सिसी क्यामेरा जडान गरी एकै ठाउँबाट निगरानी गर्ने गाउँपालिकाको लामो प्रयास आजदेखि सफल भएको खुसी व्यक्त गरेका छन्।  हल्दिबारी गाउँपालिका प्रविधिसँग जोडेर अघि बढिरहेको बताउँदै उनले भने, ‘यसले हल्दिबारी मात्र नभएर देशभरि नै एउटा सकारात्मक सन्देश दिएको छ।’
 
शिक्षा क्षेत्रको विकासका लागि यस मोबाइल एप्सले विद्यालयको अनुगमन, सुधार र सम्बन्धित निकायलाई नैतिक दबाब दिने उनको भनाइ छ।  त्यस्तै गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले गलत उद्देश्य भन्दा पनि अभिभावकहरूले आफ्ना छोराछोरीको घरमै बसी बसी मोबाइल एप्सबाट अनुगमन गर्न पाउन भनी यो प्रविधि शिक्षा क्षेत्रमा भित्राइएको बताए। 
 
यो एप्सबाट निरन्तर विद्यालयको अनुगमन गर्न सहज हुने बताउँदै अध्यक्ष लिङदेनले भने, ‘विद्यार्थी र शिक्षक कति बजे विद्यालय प्रवेश गरे, कति बजे बाहिर निस्के र विद्यालयको शान्ति सुरक्षाको अवस्था बारे सजिलै थाहा पाइन्छ। ’ 

विद्यालय प्रशासनको सुदृढीकरणमा सहयोग पुग्नुका साथै अभिभावक र स्थानीय सरकारबीच सहकार्य हुनेमा आफू विश्वस्त रहेको उनको भनाई छ।     

गाउँपालिकाले आर्थिक ०७५/०७६ मा १५ लाख बजेट छुट्टाएर सबै विद्यालयहरूमा सिसी क्यामेरा जडान गरेको थियो।  आर्थिक वर्ष ०७७/०७८ मा दुई लाख बजेट छुट्टाएर सबै विद्यालयलाई गाउँपालिकासँग जोडन इन्टरकम गरिएको थियो।  

चालु आर्थिक वर्ष ०७९/ ०८० मा ७ लाख ८८ हजार रुपैयाँबाट सिसी क्यामेराहरूको मर्मत गर्दै अनलाइनमा ल्याएको र इन्टरनेट ब्याण्डव्थ खरिद गरिएको गाउँपालिका आइटी सुशील कडरियाले जानकारी दिए।  

यो एप्स सञ्चालनका लागि गाउँपालिकाले २४ लाख ८८ हजार खर्च गरिसकेको र ३ लाख वार्षिक रुपमा खर्च हुने उनले बताए।  गाउँपालिकामा ६ माविसहित १७ विद्यालयमा ५ हजार ५८१ जना अभिभावक रहेको जनाइएको छ।  

अभिभावकहरूले मोबाइल एप्स इभिजको युजर नेम र पासवर्ड लिन चाहेमा गाउँपालिकामा लिखित रुपमा निवेदन दिएपश्चात् त्यो उपलब्ध गराउने उनको भनाइ छ।  यता गाउँपालिकाले मोबाइल एप्स इभिज प्रयोगमा ल्याएसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार आउने शिक्षकहरू बताउँछन्।  

पञ्चायत माविका प्रधानाध्यापक विश्व वनका अनुसार विद्यालयको कक्षा कोठाबाहेक शिक्षक कोठा, कम्प्युटर कोठा, बाहिरी वातावरणलाई निगरानी गर्ने उद्देश्यले सिसी क्यामेरा जडान गरिएको छ।  

यसले अभिभावक, विद्यालय र शिक्षकसँगको समन्वय थप सुधार हुने उनको विश्वास छ।  त्यस्तै गरमकाली आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद पराजुलीले विद्यालयमा सिसी क्यामेरा जडानले शिक्षक र विद्यार्थी दुवै सजक रहने बताए।  

मोबाइल एप्सले गर्दा विद्यालयको शान्ति सुरक्षा थप मजबुत हुने उनको भनाई छ।  साथै गाउँपालिकाले सोही कार्यक्रमको अवसरमा  १३ औं राष्ट्रपति रनिङ शील्ड झापा जिल्लस्तरीय छनोट प्रतियोगिता तेस्रो स्थान हासिल सफल भएको हल्दिबारीले विद्यालयका उत्कृष्ट खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.