ठेकेदारले पारे सडक अलपत्र

ठेकेदारले पारे सडक अलपत्र
सुन्नुहोस्

बेनी : राजनीतिक पहुँच भएका सञ्चालक रहेको निर्माण कम्पनीले ठेक्का पाएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक अलपत्र बनेको छ। मिलन चोकदेखि ठोड्नेरी जोड्ने १० किलोमिटर दूरीको सडक स्तरोन्नति र कालोपत्र गर्न २०७६ मंसिर ६ गते २८ करोड १३ लाख रुपैयाँमा हिमदुङ एन्ड थोकर प्रालिले ठेक्का सम्झौता गरेको थियो। 

पूर्वाधार विकास कार्यालय पर्वतमार्फत सञ्चालित उक्त सडक २०७८ मंसिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। दोस्रोपटक २०८० मंसिरसम्म म्याद थपिए पनि १८ महिनादेखि काम नहुँदा अलपत्र परेको धाइरीङका मनोहर आचार्यले बताए। ‘यो सडकको ठेक्कामा बाग्मती प्रदेशका बाहलवाला सांसद बहादुरसिंह लामा र जलजला गाउँपालिकाका निवर्तमान अध्यक्ष रामकृष्ण मल्ल जोडिनुभएको छ,’ उनले भने ‘सम्वद्ध कार्यालय, व्यवसायी, प्रशासन, जनप्रतिनिधि र मन्त्रालयमा पुगेर दबाब दिए पनि काम गर्नुभएको छैन्।’

धाइरिङका बासिन्दाले सोमबार बेनी–मालढुंगा सडकको छेउमा सञ्चालक र सडक समयमै सम्पन्न नहुदाँको अवस्था झल्काउने तस्विरसहित ‘ठेकेदार हराएको सूचना’ लेखेको ब्यानर झुण्ड्याएर विरोध प्रदर्शन गरे। सडक अधुरो हुँदा आवतजावतमा सास्ती, दुर्घटनाको जोखिम, पहिरो र भू–क्षयको समस्या बढेको स्थानीय दुर्गाबहादुर दर्जीले बताए। सडक निर्माणलाई अधकल्चो बनाएर छाडिएकाले बस्तीमा पहिरोको जोखिम भएको छ। 

५ मिटर २५ सेन्टिमिटर चौडाइमा डीबीएसटी कालोपत्रे हुने सडक सात मिटर र एक मिटर नाली बनाउन धेरै ठाउँमा डोजरले भत्काइएको छ। अधिकांश भागमा विस्तार, ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, नाली बनाउने काम सकिएको सडकको मिलन चोकदेखि सल्यान खण्डमा ग्राभेलसमेत गरेर कालोपत्रको तयारी गरिएको थियो। निर्माणको कामले निरन्तरता नपाउँदा बनाइएका संरचनाहरू भत्किएर सडक जीर्ण बनेको स्थानीय वेदनाथ आचार्यले बताए। ‘यो सडक धाइरिङका १ हजारभन्दा बढी घरधुरीले प्रयोग गर्छन्,’ उनले भने ‘धाइरिङमा उत्पादित तरकारी निकासी, भूमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई सहज हुने थियो।’

पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले हालसम्म ४२ प्रतिशत मात्र भौतिक प्रगति भएको बताए। ‘पछिल्लो एक÷डेढ वर्षयता यो सडक निर्माणको काम नहुँदा हामी पनि सशंकित भएर पत्रमार्फत निरन्तर ताकेता गरेका छौं,’ उनले भने, ‘निर्माण व्यवसायीले यही फागुन अन्तिम सातादेखि काम थाल्ले लिखित सम्झौता गरेका छन्। काम अघि नबढे जमानत जफत र ठेक्का तोडेर कालो सूचीमा राख्ने चेतावनी दिएका छौं ।’

ठेक्का सम्झौता हुँदा यो कम्पनीको सञ्चालक नुवाकोटको क्षेत्र (ख)बाट निर्वाचित कांग्रेसको बागमती प्रदेशसभाको संसदीय दलको नेता बहादुरसिंह लामा सञ्चालक थिए। ‘कम्पनीमा अहिले म छैन। छोरा साझेदार हुन्,’ उनले भने, ‘उच्च तहको राजनीतिक व्यक्तित्वको आग्रहमा रामकृष्ण मल्ल र शिव अधिकारीलाई साझेदारी ठेक्का हाल्न दिएको थिए। उनीहरूले काम नगरेर मेरो बदनाम गरे। फर्मकै साझेदार शिवहरि घिमिरेलाई काम गर्न पठाएको छु।’ 

घिमिरेले वैशाखभित्र ४ किलोमिटर सडक कालोपत्र गर्ने तयारीसहित बिटुमिनलगायतका निर्माण सामग्री र उपकरण जुटाउने काम भइरहेको बताए। ठेक्का सम्झौता गरेको कम्पनीको प्रतिनिधि लालबहादुर मल्लका दाजु रामकृष्ण जलजला गाउँपालिकाका पूर्वअध्यक्ष हुन्। ‘कार्यालयले डेढ करोड बढी बिलको भुक्तानी रोकेको छ,’ मल्लले भने ‘त्यहाँको प्रतिकूल भूगोलले पनि काम गर्न अप्ठ्यारो भयो। निर्माण सामग्री चोरी भयो। गाडी घोडा लैजान दिएनन्। वातावरण नै नभएपछि काम गर्न सकिएन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.