अभिभावकले बनाइदिन्छन्, विद्यालयलाई शैक्षिक सामग्री

अभिभावकले बनाइदिन्छन्, विद्यालयलाई शैक्षिक सामग्री
कालीकोटको नरहरिनाथ गाउँपालिकास्थित नुवादेवी आधारभूत विद्यालयमा अभिभावकहरूले बनाएका शैक्षिक सामग्रीहरू विद्यालयलाई हस्तान्तरण गर्दै। बिस्नप्रसाद न्यौपाने

वीरेन्द्रनगर : कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं. १ स्थित नुवादेवी आधारभूत विद्यालयमा अभिभावकहरूले नै धेरै शैक्षिक सामग्रीहरू बनाइदिएका छन्। 

विद्यालयको शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी एवं व्यावहारिक र जीवनोपयोगी बनाउन शिक्षण सिकाइ क्रियाकलापका लागि आवश्यक पर्ने शैक्षिक सामग्रीहरू अभिभावक आफैंले बनाएर विद्यालयलाई हस्तान्तरण गरेका हुन्। 

विगतमा विद्यालयले शैक्षिक सामग्रीको प्रयोगलाई प्राथमिकता दिँदैन थिए। आफूलाई पनि शैक्षिक सामग्रीका विषयमा खासै जानकारी थिएन। 

स्थानीय अभिभावक माता बिष्टले भनिन्, 'प्लान इन्टरनेसनलबाट आएका कर्मचारीहरूले विद्यालयमा छोराछोरीको पढाइका लागि चाहिने शैक्षिक सामग्रीहरूको विषयमा छलफल गरे। 
ती सामग्री निर्माण गरेर विद्यालयलाई दिनुपर्छ भनेर सल्लाह दिए। अनि हामीले गाउँमा पाइने निगालो, काठ, माटोजस्ता कच्चा पदार्थहरूबाट डोको, सुपो, कुटो, कोदालो, हला जुवाँ, गोरुलगायतका शैक्षिक सामग्रीहरू बनाएर विद्यालयलाई हस्तान्तरण गरेका छौं। विद्यालयमा शिक्षकहरूले पढाउने बेला ती सामग्रीहरू प्रयोग गरी आफूसँग भएको सीपको प्रयोग गरेर बनाएका स्थानीय शैक्षिक सामग्रीहरूले आफ्ना नानीबाबुहरूको सिकाइमा सुधार ल्याओस् भन्ने उद्देश्य हो।'

प्लानले पढाइलेखाइ सुधार परियोजनामार्फत विभिन्न शैक्षिक क्रियाकलापहरू गर्ने घरमा पढाइ कुना निर्माण गर्नेजस्ता कार्यहरू गर्न लगाउँदा आफ्नो छोराको पढाइमा पनि निकै सुधार भएको अर्की अभिभावक शीतला दर्जीले बताइन्। 

उनले भनिन्, 'बालबालिकाहरूलाई पढ भनेर मात्र नहुने रहेछ। उनीहरूलाई पढाइमा आकर्षित गर्न र ध्यान लगाउने वातावरण पनि हामीले बनाउनुपर्ने रहेछ। पहिले छोरालाई जति पढ्न कर गर्दा पनि मन नलगाउने समस्या थियो। अहिले आफैं पढाइमा ध्यान दिन थालेको छ। घरमा पढाइ कुना र विद्यालयमा शैक्षिक सामग्रीसहितको शिक्षण सिकाइ क्रियाकलाप हुन थालेपछि छोराको पढाइमा निकै सुधार भएको उनको अनुभव छ।' 

स्थानीय शैक्षिक सामग्रीको प्रयोगले शिक्षण सिकाइमा नयाँ आयाम ल्याएको नन्दादेवी आधारभूत विद्यालयका विद्यालय सम्पर्क शिक्षक धनराज बिष्टले बताए। 

उनले भने, 'शैक्षिक सामग्रीले शिक्षण सिकाइ क्रियाकलाप गर्न सहज हुनुका साथै बालबालिकाहरू रमाउँदै सिक्दै गर्न थालेका छन्। जसको कारण विद्यार्थीहरूमा नियमित विद्यालय आउने दर पनि निकै बढेको छ। विगतमा विद्यालय नआउने बालबालिकाहरू पनि अहिले नियमित आउँछन्।'

यस्तै विद्यालयका प्रधानाध्यापक रणबहादुर बिष्टले विद्यालयमा अभिभावकहरूले बनाएका शैक्षिक सामग्री प्रदर्शनीले विद्यालय, विद्यार्थी र अभिभावकहरूसँग सम्पर्क बढेको र जसको प्रतिफल बालबालिकाहरूको सिकाइमा सक्रियता बढेको बताए। 

उनले भने, 'बालबालिकाहरूको खुसीको लागि डोको, डोलो, हलो, घरजस्ता स्थानीय शैक्षिक सामग्रीहरू बनाउँदा शिक्षकहरूलाई शिक्षण कार्यलाई बालबालिकामैत्री बनाउन ठूलो सहयोग पुगेको छ।' 

शिक्षक अभिभावक मिलेर विभिन्न शैक्षिक सामग्रीहरू बनाई विद्यालयमा तीनको प्रयोगसहित शिक्षण हुने थालेपछि आफूहरूलाई पनि सिक्नका लागि सहज भएको नुवादेवी आधारभूत विद्यालयमा कक्षा सातमा अध्ययनरत छात्रा प्रगति बिष्टले बताइन्। 

उनले भनिन्, 'सधैं पढेर नबुझ्ने कुरा पनि शैक्षिक सामग्रीको माध्यमबाट शिक्षकले पढाएपछि बुझ्न सजिलो हुँदो रहेछ।'

शैक्षिक सामग्रीले गर्दा विद्यालयमा रमाउँदै पढ्ने गरेको उनले बताइन्। विद्यालयमा राखिएका शैक्षिक सामग्रीहरू र खेलौनाहरूले आफूलाई विद्यालय कति बेला जाउँजस्तै लाग्न थालेको विद्यार्थी सुमन बिष्टले बताए। 

उनले भने, 'विगतमा विद्यालयमा विद्याभन्दा खुसी लाग्थ्यो। अहिले विद्यालय जाने भनेपछि खुसी लाग्ने भएको छ।' 

नुवादेवी आधारभूत विद्यालय मात्र होइन। प्लान नेपाल र किर्डाक नेपालको सहजीकरणमा नरहरिनाथ गाउँपालिकाका मात्र १२ वटा विद्यालयहरूमा नमुना बनाउने हिसाबले अभिभावक र शिक्षकहरूको सहकार्यमा शैक्षिक सामग्री निर्माण गर्ने गरिएको प्लान नेपालको पढाइ लेखाइ सुधार परियोजना संयोजक दीक्षा भाटले बताइन्। 

उनका अनुसार विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न नरहरिनाथ गाउँपालिकाका नन्दादेवी मावि, रूपादेवी आवि, नुवादेवी आवि, चौथीकोट आवि, जनजागरण आवि, जनप्रिय आवि, रामारोशन आवि, शान्ति आवि, नेपाल राष्ट्रिय आवि, विश्वकुना आविलगायत १२ वटा विद्यालयहरूमा अभिभावकहरूले स्थानीय स्तरमा पाइने शैक्षिक सामग्रीहरू निर्माण गरी विद्यालयलाई हस्तान्तरण गर्ने गरेका छन्। 

अभिभावकहरूले विद्यालयलाई हस्तान्तरण गरेका सामग्रीहरूको प्रयोग शिक्षकहरूले शिक्षण सिकाइ क्रियाकलापमा गर्ने गरेका छन्।

नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले विद्यालयमा शैक्षिक सामग्रीको प्रयोगले बालबालिकाहरूको सिकाइ उपलब्धि वृद्धि गर्न निकै सहयोग पुगेको बताए। 

उनले भने, 'प्लान र किर्डाक नेपालले नरहरिनाथका १२ वटा विद्यालयमा नमुनाका हिसाबले काम गरेको छ। अब गाउँपालिकाले पालिकाभरिका सबै विद्यालयहरूमा यसलाई प्रयोगमा ल्याउन जोड दिनेछौं।'

विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामग्रीहरू बनाउन अभिभावकहरूलाई जिम्मा दिँदा विद्यालयसँग अभिभावकहरूको सम्पर्क बढ्ने, बालबालिकाहरू नियमित विद्यालय आउने र शिक्षकहरूले पनि बालबालिकाहरूको पढाइमा थप सक्रिय हुने हुँदा यसले पालिकाको सिकाइ उपलब्धि पनि वृद्धि हुने उनको विश्वास छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.