मोरङ कारागारका चौकीदार अभिषेक गिरी थुनामुक्त
विराटनगर : जिल्ला कारागार मोरङका चौकीदार अभिषेक गिरी थुनामुक्त भएका छन्। कारागार व्यवस्थापन विभागको फैसला बमोजिम गिरी कारागारमुक्त भएका हुन्।
कारागारका नाइके र चौकीदार भएर काम गरेको बापतको प्राप्त सुविधाअनुसार उनी ४ महिनाअघि नै थुनामुक्त भएका हुन्। कैदीबन्दीको कामदारी सुविधासम्बन्धी कार्यविधिअनुसार कैद सजाय कटौतिमा भएपछि उनलाई आइतबार थुनामुक्त गरिएको मोरङ कारागारका जेलर ध्रुवप्रसाद कोइरालाले बताए।
स्थानीय प्रशासनको सिफारिसमा कारागार व्यवस्थापन विभागले गिरीलाई कैदमुक्त गर्न आदेश दिएको उनले जानकारी दिए। उनले भने, ‘कैदपूर्जीमा गिरीको कैद भुक्तान अवधि २०८० साउन १६ गतेसम्मको थियो। तर, कारागारमा उनले देखाएको असल व्यवहार र कानुनले दिएको विशेष सुविधाको आधारमा उनी कैदमुक्त भएका हुन्।’
गिरी २ पटक चौकीदार र नाइकेसमेत भइसकेका कैदी हुन्। कारागार ऐनमा चौकीदार र नाइके भइसकेका व्यक्तिलाई उसको असल आचरणको आधारमा सजायमा केही छुट दिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार गिरीलाई आइतबार रिहा गरिएको जनाइएको छ।
अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गिरी २०७४ चैत २३ गते अगाडि मोरङ कारागारका चौकीदार थिए। कैदीबन्दीलाई यातना, मिटरब्याजको धन्दा र बजारमा चन्दा आतंक मच्चाएको गुनासो आएपछि २०७४ चैत २३ गते उनलाई डिल्लीबजार कारागार सारिएको थियो। तर, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री भएपछि २०७८ मङ्सिर ९ गते उनी दोस्रोपटक मोरङ कारागार आएर चौकीदार बनेका थिए।
युवती प्रयोग गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर २०७० सालमा फिरौती मागेको घटनामा विराटनगर घर भएका गिरीलाई अदालतले दोषी ठहर गरेको थियो।
प्रतिक्रिया दिनुहोस !