दस वर्षपछि कराते महासंघको महाधिवेशन चितवनको पटिहानीमा
२०६९ साउनमा तत्कालीन सदस्यसचिव युवराज लामाले दावा गुरुङको नेतृत्वमा महासंघ गठन गरेपछि कराते विवाद सुरु भएको थियो । उनै लामाले नै १० वर्षपछि करातेमा एकता र आगामी कार्यदिशाको मार्ग कोर्ने जिम्मेवारी लिएर महाधिवेशन गरेका हुन्।
चितवन : दस वर्षदेखि तदर्थ समितिको भरमा चलेको नेपाल कराते महासंघको अधिवेशन चितवनमा सुरु भएको छ। महाधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले कराते संघ संस्थागत हुने बताए ।
उनले नीतिगत निर्णय गर्न र क्षमता बढाउन सरकार प्रयत्नशील रहेको बताए। सबैभन्दा बढी खेल क्षेत्रको विकास र खेलाडीको भविस्यको लागि सरकार इमान्दार छ', उनले भने, 'सरकार खेल र खेलाडीको विकासको लागि सहयोग गर्न तत्पर रहेको छ । सरकारले यसलाई बढी महत्त्व दिएको छ ।' आफूले खेलाडीको प्रोत्साहनका लागि प्राथमिकता दिएको बताए ।
नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले कराते ब्यापार नभइ राज्यको अभिन्न अंग रहेको बताउँदै आत्म समीक्षा गरेर अघि बढ्नु पर्ने बताए ।
पटिहानीमै महाधिवेशन गर्नका लागि वडा नम्बर २२ का वडा विष्णुराज महतोले सहजीकरण गरेका हुन् । वडा अध्यक्ष महतोले भने खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन हुने कार्यक्रम सफल बनाउन लागेको बताए ।
२०६९ साउनमा तत्कालीन सदस्यसचिव युवराज लामाले दावा गुरुङको नेतृत्वमा महासंघ गठन गरेपछि कराते विवाद सुरु भएको थियो । उनै लामाले नै १० वर्षपछि करातेमा एकता र आगामी कार्यदिशाको मार्ग कोर्ने जिम्मेवारी लिएर महाधिवेशन गरेका हुन्।
गत माघ १२ गते राष्ट्रिय खेलकुद परिषदले पूर्व सदस्यसचिव लामाको नेतृत्वमा २१ सदस्यीय तदर्थ समिति बनाएको थियो । ९० दिनभित्र निर्वाचन गर्ने म्यान्डेट दिएको थियो । स्थानीय तहदेखि प्रदेशसम्मको अधिवेशन सकेर महाधिवेशन गरिएको हो । ७६ जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागी छन् ।
कराते महासंघको तदर्थ समितिका २१ जना, सात प्रदेशबाट ५–५ जनाका दरले ३५ जना तथा महासंघमा आवद्ध चार विधाहरु (सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान) करातेबाट ५–५ का दरले २० गरी कुल ७६ जनाले नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउँछन् ।
करातेको नयाँ विधानअनुसार २५ सदस्यीय कार्यसमिति रहनेछ । तीमध्ये हरेक प्रदेशबाट १–१ गरी सातजना केन्द्रीय सदस्यलाई सम्बन्धित प्रदेशले नै चयन गरेर पठाउनेछ । अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ७ जना सदस्यको चयन साधारणसभाले गर्नेछ । कार्यसमितिमा कम्तिमा २ जना महिला हुनुपर्छ ।
सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन (डब्लूकेएफ)ले मान्यता दिएका करातेका चार विधा हुन् । २०३८ सालमा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुवात भएको हो । लामाका अनुसार राखेपमा सोतोकानका ९, गोजुरियोका ६, वादुरियोका ४ र सितोरियोका ३ संघ दर्ता छन् ।