चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावक पार्टीका महानगर संयोजक सिता ज्ञवाली र समर्थकमा भरतपुर ११ का संयोजक विक्रम श्रेष्ठ रहेका थिए ।
चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि लामिछानेले उमेदवारी दर्ता गरेका थिए । भरतपुर ११ स्थित विशाल चोकमा रहेको पार्टीको प्रचारप्रसार कार्यालयबाट र्यालीसहित लामिछाने निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
आफ्ना समर्थक सहित उनले मनोनयन दर्ता गरेका हुन् । निर्वाचन कार्यालयमा उमेदवारको प्रतिनिधिका रुपमा जिल्ला सहसंयोजक प्रभा ढकाल रहेकी छन् । भरतपुर ४ त्रिचोकमा रहेको लंकु भगवती मन्दिरमा पुजा गरेर लामिछाने मनोनयन दर्ता गर्न पुगेका थिए ।
लामिछानेको नागरिकतासम्बन्धी मुद्धामा दोषी ठहर गर्दै सर्वोच्चले उनको सांसद पद खारेज गरेपछि बैशाख १० मा उपनिर्वाचन गर्न लागेको हो । उपनिर्वाचनका लागि दिउँसो १ बजे नेपाली कांग्रेसले मनोनयन दर्ता गर्दैछ ।
निवर्तमान जिल्ला सभापति जीत नारायण श्रेष्ठले उमेदवारी दर्ता गर्दैछन् । भरतपुरको चौविस कोठीमा भेला भएर कांग्रेसका कार्यकता उमेदवारी दर्ताका लागि जाँदैछन् । यस्तै नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उमेदवार बनाएको छ । एमालेले दिउँसो तीनबजे मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।