संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय अदालतले हस्तक्षेप गर्न मिल्दैन : महरा
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायसँग सम्बन्धीत विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने विषय नभएको बताएका छन्।
सोमाबार माओवादी घटकले काठमाडौंमा आयोजना गरेको नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तक्रिया कार्यक्रममा महराले संक्रमणकालीन न्यायसँग सम्बन्धीत विषयलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगद्वारा नै निरुपण गर्नुपर्ने भन्दै यसमा न्यायाधीश वा अदालतको हस्तक्षेप हुन नहुने बताएका हुन्।
संक्रमणकालीन न्यायलाई अघि बढाउदा बृहत विस्तृत शान्ति सम्झौताको मर्म अनुसार नै अघि बढ्नुपर्नेमा उनले जोड दिए। उनले राज्यको पुनसंरचनासहित शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने भन्दै पुरानो कानुनद्वारा समाधान खोज्न नहुने बताए। महराले माओवादी घटकबीच सके एकता नभए कार्यगत एकताका साथ बलियो शक्ति भएर अघि बढ्नुपर्ने धारणा राखे।
त्यस्तै अन्य माओवादी घटक दलका नेताहरूले माओवादी कमजोर भएकै कारण मु्द्दाहरू कमजोर हुने खतरा रहेको भन्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।