मृत्युबोधका अक्षरहरू
प्रत्येक सन्तानको मूल खाँबो आफ्ना देवतुल्य मातापिता हुन्। भौतिक दुनियाँलाई अन्तिम सत्य ठान्ने वर्तमान समयले बुवाआमाको महत्त्वलाई स्विकार्न सकिरहेको छैन। समय झन्झन् विकराल बन्दै छ। भौतिक सुखसुविधा पाउनका निम्ति हामी गाउँ र देश छाडिरहेका छौं। गाउँ–देशसँगै आफ्नो बाल्यकाल र आफूलाईभन्दा बढ्ता माया गर्ने आमाबुवाको काख छाड्दै छौं।
के गाउँ के सहर; वर्तमानका मान्छेहरू आफ्ना रहर र बाध्यताको चक्रव्यूहमा आफ्नोपनबाट बिस्तारै टाढिँदै गइरहेको छ। हिजो हामी बुवाआमाकै काँखमा हुन्थ्यौं, बाहिरी संसारसँग हाम्रो कुनै परिचय थिएन। आज पढाइ, व्यापार वा रोजगारीका सिलसिलामा बुवाआमा र परिवारको साथबाट टाढिएका छौं। भनेको समय सहज रूपमा बुवाआमा वा आफन्तसँग भेट्न सकिरहेका हुँदैनौं। के भौतिक सुखमात्र अन्तिम सत्य हो ? छोराछोरीसँग सँगै रात बिताउने ती इतिहासरूपी बुवाआमाको सपना पूरा गर्न सक्छौं त ? बुवाआमाको अन्तिम प्राणको साक्षी बन्न सक्छौं त ? आखिर यो शृंखला कहिलेसम्म ? बुवाको महाप्रस्थानको १२ औं दिन। यो अनकन्टार र पट्यारलाग्दो समय सीमामा बुवाप्रति श्रद्धाभावका साथ मेरा निजी निजात्मक भोगाइ र अनुभूति साझा गरेको छु।
बुवासँगका अन्तिम संवादहरू
२०७९ चैत २७ गते बेलुकी ९:२५ तिर बुवासँग बोल्ने इच्छा भयो। बुवासँग रातमा खास संवाद हुँदैनथियो। तर त्यो दिन बुवासँग संवाद गर्ने इच्छा जाग्यो। फोनमा भन्दा पनि मेसेन्जरमा कल गर्छु भनेर अनलाइन हेरें बुवा अनलाइन हुनुहुन्थेन। मेसेन्जरमा सात पटक घण्टी बजेपछि बुवाको ९:३१ मा बुवाको फोन उठ्यो। म काठमाडौंको घरमा एक्लै थिएँ, बुवाआमा कुश्माको घरमा। मैले बुवालाई भनें, “बुवा मलाई आज शून्य महसुस भएको छ। अब हामीसँगै बस्नुपर्छ। भोलि गाडी लिन आउँछ।” बुवाले पुनर्निर्माण हुँदै गरेको घरतर्फ संकेत गर्दै भन्नुभयो, ‘कान्छा मलाई पनि किनकिन एक्लो महसुस लागिरहेको छ। घरको बन्दोवस्त हुन देऊ अनि आऔंला। मलाई दुई–चार दिन समय देऊ अनि सँगै बसौंला।’ बुवालाई आफ्नो महत्त्वपूर्ण सामग्री राख्ने कोठाको व्यवस्था गरेर काठमाडौं आउने आग्रह गर्दै लामो संवाद टुंगियो। अन्ततः यिनै संवाद बुवासँगका अन्तिम संवाद बने।
बुवासँगको अन्तिम संवाद हुनु पाँच दिनअघि म बेल्जियमबाट नेपाल आएको थिएँ। श्रीमती र दुई छोरा बेल्जियममै थिए। नियतिसँग कसैको केही लाग्दो रहनेछ। बुवाका सात सन्तान भएर पनि महाप्रस्थानको अन्तिम प्रहर कुनै पनि सन्तान उहाँको काँखमा हुन सकेनौं। आमाको काँखमा उहाँले अन्तिम प्राणको विश्राम लिनुभयो। सबथोक भएर पनि मान्छेसँग नियतिले लेखेपछि केही नहुँदो रहेछ। बुवाको भौतिक शरीरलाई अन्तिम प्रहरमा स्पर्श गर्न नपाए पनि बुवाको पितृ आशीर्वाद सदैव प्राप्त भइरहने छ।
जनपक्षीय प्रधानपञ्च
पञ्चायती व्यवस्थामा बुवा प्रधानपञ्च हुनुभयो तर कहिल्यै पञ्चको गन्ध आएन। जनताका दुःख–सुखसम्म सधैं अहोरात्र लाग्ने बुवा सबैका बुवा बन्नुभयो। मेरो प्रकाशोन्मुख पुस्तक ‘अर्जुनदृष्टि : जीवनका पाँच दशक’ का क्रममा गरिएका बुवासँगका केही संवाद बुवाकै शब्दमा आज यस आलेखमा लिपिबद्ध गरेको छु।
“जातले नेवार हुँ तर बाहुन–क्षेत्रीको समाजमा हुर्किएकाले मेरा निम्ति नेवारी संस्कृति–सभ्यता परको विषय बन्यो। हाम्रो पुख्र्यौली थलो– भक्तपुर। पाँच पुस्ताअघि भक्तपुरमा भोजभतेर गर्न नसकेपछि व्यापारका सिलसिलमा पोखरा–कार्कीनेटा (पर्वत) हुँदै हाम्रा पुर्खा फलेवास आइपुगे। नेवारको भोज नै चर्को। रीतिस्थिति पुर्याउन त्यति सहज थिएन। सभ्यता जोगाउन निकै संघर्ष गर्नुपर्ने। यसरी हाम्रा पुस्ताले थातथलो छाडेर यायावरिक बने। मेरा पिताजी स्वर्गीय जिमुवाल देवीप्रसादको विशेष प्रेरणाबाट मैले हाम्रो वंशावली तयार गरें। मैले नेवार भाषा–संस्कृति जोगाउन पर्छ भनेर काठमाडौं र पोखराबाट भाषा–संस्कृति बुझेका व्यक्तिलाई ल्याएर तीन महिनासम्म तालिम दिने योजना बनाएँ।
तर दाजुभाइका बीचमा समय व्यवस्थापन गर्न र आफ्नो भाषा–संस्कृति सिक्न रुचि प्रकट नभएपछि योजना बीचैमा रोकियो। यद्यपि नेवाः संस्कृति जोगाउनका लागि मैले २०३३ सालबाट एउटा समिति निर्माण गरें। तर जिम्मेवार बोध गर्न सकिएन र नेतृत्वले साथ दिएन भने एकल योजना सफल नहुँदो रहेछ। यसबाट पत्तो लाग्यो कि कसरी भाषा–संस्कृतिको लोप हुन्छ। दुई भाषा–संस्कृतिको टकरावमा बलियो भाषा–संस्कृतिबाट हामी परास्त भयौं। अन्ततः नेपाली भाषा र बाहुन–क्षेत्रीकै संस्कारलाई हामीले अपनायौं।”
प्रधानपञ्च हुँदा बुवाले भोग्नुभएका भोगाइ बुवाकै शब्दमा यसरी लिपिबद्ध भएका छन्, “आम मान्छेमा एक किसिमको बुझाइ रहेछ; पञ्च भनेको दुःख दिने मान्छे हुन्। सामन्ती हुन्छन्; परपीडक हुन्छन्। मैले त पञ्च हुँदा पाउने सुविधासम्म पनि लिइनँ। प्रधान भनेर स्नेह गर्नेहरू थिए तर मैले म प्रधान हुँ भन्ने घमण्ड कहिल्यै राखिनँ। मैले सरकारबाट पाउने पैसामा उल्टो थपेर जनताको सेवा गरेँ। फलेवासी जनताका काम लिएर कुश्मा आउँथेँ। महिना दिनसम्म बसेर काम गर्नुपथ्र्यो। त्यसका निम्ति फलेवासी पनि आएर बस्थे। तिनले र मैले खाएका खानाको पैसा मैले नै तिर्नुपथ्र्यो। अरू कुनै स्रोत नहुँदा जमिन बेचेरसमेत मैले होटलको बिल बुझाएको छु। मलाई एउटा घटना स्मरण छ; मलाई लेखापढी गर्न भनेर नुवाकोट पठाइयो। मैले रसिद लेख्ने काम पाएँ तर मेरा हाकिमले मलाई रसिद लेखेबापत सोझा जनताको ढाड सेक्ने गरी पैसा असुल्न भनेपछि मैले एउटा रसिद लेखेपछि उक्त काम छाडिदिएँ। मलाई गरिबको पसिनाले पोल्छ भन्ने लागेपछि मेरा निम्ति बनेको पेसा होइन रहेछ भन्ने निष्कर्ष निकालेर म लेखापढी कामबाट टाढा भएँ।”
बुवाका यी संवादका लामा अध्याय छन्। जसलाई मैले जीवनको इमानदारी र समझदारीका रूपमा ग्रहण गरेको छु। उहाँको निष्कर्ष थियो; प्रधानको अर्थ प्रमुख हो। प्रमुख हुनु भनेको सबैको समस्यालाई बुझ्न सक्नु हो। समस्याको समाधान दिन र सही नेतृत्व लिन सक्दैन भने त्यो पदीय रूपमा प्रधान हुन सक्दैन।
पर्वतेली शिक्षाका धरोहर
“मैले पढ्न सकिनँ। तिमीहरू सबैले कम्तीमा बीएसम्म पढ्नुपर्छ। बीएसम्म पढ्न सक्याँै भने जीवनका चारै ढोका खुल्छन्।” शिक्षाप्रेमी बुवाका यी वचन हाम्रा लागि खास थिए। बुवाले सन्तान र भाइहरूलाई मात्र पढाउनु भएन; सिंगो फलेवास र पर्वतवासीलाई शिक्षाको ज्योति छर्न अथक यत्न गर्नुभयो। यसको ज्वलन्त प्रमाण जनता माध्यमिक विद्यालय फलेवास पर्वतका संस्थापक, पर्वत बहुमुखी क्याम्पस फलेवास पर्वतका संस्थापक कोषाध्यक्ष तथा चन्दादाता आदि हुन्।
बुवा सदैव शिक्षाको परिकल्पनामा चिन्तनशील भइरहनुहुन्थ्यो। घरआँगनमै उच्च शिक्षा पाउन सके धेरै बालबालिकाको भविष्य सुन्दर बन्ने सपना देख्नुहुन्थ्यो। सपनालाई विपनामा रूपान्तरण गर्न उहाँको योगदान साँच्नै अतुलनीय छ। बुवा भन्नुहुन्थ्यो, “मैले खरिपाटीमा साँवा अक्षर चिनेँ। चौतारीमा बसेर गुरु दीक्षा लिएँ। तिमीहरूले खुब पढ्नू। पढाइ भए देशविदेश चिन्न पाइन्छ। विकासले उचित गति लिन्छ। पर्वतमा माध्यामिक र उच्चशिक्षा ल्याउन सक्यौं भने पर्वत र आसपासका भेगमा ठूलो क्रान्ति हुनेछ। यहाँका जनताका घरआँगनमा उज्यालो छाउनेछ।” यही चिन्तनलाई मूर्तरूप दिने बुवा पर्वतेली जनताका शिक्षाप्रेमी धरोहर बन्नुभयो।
मैले नचिनेका सन्तान
जन्मसँगै मृत्यु लेखिएर जन्मनु हामी प्राणीको अन्तिम सत्य हो। प्राकृतिक सत्यलाई कुनै अस्त्र–शस्त्रले रोकेर रोक्न सकिँदैन। बुवाको बोल्दा बोल्दैको वाक्य, हिँड्दा–हिँड्दैको पैताला, चल्दा–चल्दै यात्रा टक्क अडियो र स्थिर बन्यो। त्यसपछि बुवा महाप्रस्थानिक बन्नुभयो।
फलेवासको माटोमा बुवाले जीवनको आठ दशक ज्यादा समय व्यतीत गर्नुभयो। मलाई लाग्थ्यो बुवाका मसँगै मेरा दुई दाइ र चार दिदी गरी सात सन्तानका मात्र बुवा हुनुहुन्छ। बुवाको महाप्रस्थानले मलाई झस्काइदियो बुवाका त मैले नचिनेका कयन सन्तानहरू रहेछन्। हामी सात सन्तानभन्दा ज्यादा भावविह्वल बनेका फलेवास र कुश्माका आफन्त इष्टमित्रभित्र मैले विराट सन्तानको स्वरूप देखेँ; मेरा लागि ती सदैव अमिट छाप बनेर बस्ने छन्। बुवाको महाप्रस्थानको अन्तिम यात्रा बुवाकै जन्मथलो पर्वतको फलेवासस्थित हाँडीचौरबाट पवित्र देवस्थल कालीगण्डकी नदीको तीर रातढुंगासम्म तय थियो। उत्तरी तिब्बत हुँदै मुस्ताङ जिल्लाको कागबेनी मुक्तिनाथ क्षेत्रको काँखबाट बग्ने पवित्र कालीगण्डकीकै काँखमा समाधिस्थ हुन पाउनु हरेक आस्तिक व्यक्तिका निम्ति ठूलो सौभाग्य हुनेछ। बुवाको नश्वर शरीरले त्यही स्थानमा आपूmलाई पञ्चमहाभूतमा लीन गरायो।
प्रसिद्ध लोकोक्ति सम्झिएँ, ‘जिउँदाको जन्ती, मर्दाको मलामी’। जीवनमा कमाउने भनेकै यी दुई चिज रहेछन्। बुवाको कर्मले अन्तिम समय बुवालाई माया गर्ने हजारौं व्यक्तिलाई फलेवासको आँगनीमा डोर्यायो। अन्तिम संस्कार र त्यसपछिका दिनमा बुवाप्रतिको श्रद्धामा भएका भौतिक तथा साञ्चारिक उपस्थितिले पुष्टि गर्यो कि बुवाले बिताउनुभएका जीवनका आठ दशक साँच्चै महान् र स्तुत्य रहेछ। जीवनको गोरेटोमा ‘मान्छे कमाउनु’ को महत्त्व सिकाएर बुवा अन्तध्र्यान हुनुभयो।
मृत्युबोधको अद्भुत चेतना
मृत्यु जीवनको अन्तिम सौन्दर्य हो र अकाट्य सौन्दर्य पनि। गीता दर्शनसँग साक्षात् बुवा सदैव मृत्यु चेतनाबारे भन्नुहुथ्यो, “मृत्युलाई जित्नुपर्छ। बाँच्नु भनेको सास फेर्नु होइन; सास त सबै प्राणीले फेर्छन् तर मान्छेले सकर्म सास फेर्न जान्नुपर्छ।” बुवाको उपर्युक्त कथनमा ठूलो अर्थ लुकेको रहेछ; निष्काम सास फेर्नु बाँच्नु होइन रहेछ। हामी निष्काम सास फेर्नकै निम्ति बाँचिरहेका छौं।
जनश्रुति वा पौराणिक किंवदन्तीमा वर्णन भएअनुसार श्रेष्ठ महात्मा वा सिद्ध पुरुष आफ्नो मृत्युबारे पूर्वउद्घोष गर्थे; मेरो मृत्यु फलानो सयम–प्रहरमा हुनेछ। बुवासँग भएको २७ गते रातिको संवादले बुवामा मृत्युबोधको चेतना गौण रूपमा प्रारम्भ भइसकेको रहेछ। उसो त मृत्युको संकेत मैले पनि पाइसकेको रहेछु। व्यक्ति जब साधारण भावबाट उठेर अनौठो गतिविधि गर्न थाल्छ तब ऊभित्र नयाँ घटनाको आगमनको घडी प्रारम्भ हुँदो रहेछ।
चैत २८ गते अर्थात् महाप्रस्थानको अन्तिम दिन; उहाँले गर्नुभएका कार्यकलापले उहाँमा मृत्युबोध राम्रोसँग भएको पुष्टि मिल्दछ। बुवाले सहकारीमा राखेको पैसा झिकेर बैंकमा राख्नु भएछ। दिनैभरि जस्तो भेटघाट गर्ने, हिसाबकिताब मिलाउनेजस्ता कार्य गर्नु भएछ। नश्वर शरीर त्याग गर्नुपूर्व उहाँले छिमेकी घडी बनाउने भाइलाई सोध्नुभएछ, ‘व्यापार–बिजनेस छैन, चल्न कुनै समस्या त भएको छैन।’ त्यसपछि उहाँलाई केही अप्ठ्यारो महसुस भएछ। बुवाले आफूलाई अप्ठ्यारो बढ्दै गएको संकेत गरेसँगै आमाले बुवालाई काँखमा राखेर दही खुवाउनु भएछ। अन्ततः बुवाको विशाल हृदय भरजन्मसँगै हुने वाचामा सहयात्री बनेकी मेरी आमाको काँखमा टक्क रोकियो। मृत्युबोधको चेतनामा बुवा ब्रह्मलीन हुनुभयो।
पुनर्जन्मको फेरमा
विश्वास छ मेरो बुवा मलाई पुनः सन्तानको ममत्व दिन आउनु हुनेछ। मलाई थाहा छ भौतिकवादले अध्यात्मवादलाई विश्वास गर्दैैन तर मन भन्छ बुवालाई अपार माया गर्नुहुने हजारौं तपाईंका सन्तति एवं शुभचिन्तकका वचनलाई मान्नका निम्ति पनि तपाईंलाई पुनः मनुष्यलोकमा आउनु पर्नेछ; हामीलाई यसैगरी पुत्रवात्सल्यको छहारीमा समाहित गर्नु पर्नेछ। पूर्वीय दर्शनको आत्मवादी चिन्तनको मर्मलाई बुझ्नु हुने हजुरको दिव्यात्मा पुनः फलेवास र कालीगण्डकी सभ्यतामा उदय हुनेछ। बुवा, तपाईंले निर्माण गर्नुभएको इमान र निष्ठाको समाजसेवा, शिक्षासेवा र मानव धर्मको रक्षार्थ अर्जुनदृष्टि सदैव समर्पित भइरहनेछ। यी हरफका अन्तिम अक्षर बुवाको बैकुण्ठ यात्राको कामना गर्दै पुनः हजुरकै सन्तान बन्न पाउने दृढ इच्छार्थ भाव प्रकट गर्दछ।