विराटनगरमा पेट्रोल छर्किएर पुरूषले लगाए आफ्नै शरीरमा आगो, अवस्था गम्भीर

विराटनगरमा पेट्रोल छर्किएर पुरूषले लगाए आफ्नै शरीरमा आगो, अवस्था गम्भीर
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : विराटनगरमा बिहीबार बिहान १ जना वृद्ध पुरुषले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका छन् । आगोले शरीरका अधिकांश भाग जलेका वृद्धको अवस्था गम्भीर छ । 

मोरङको लेटाङ नगरपालिका–७ घर भएका ६५ वर्षीय गोविन्दप्रसाद नेपालले बिहान १०:४० बजेतिर पेट्रोल छर्किएर शरीरमा आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

उनका अनुसार सुरुमा वृद्ध ग्यालेनमा पेट्रोल लिएर आएको खुलेको छ । विराटनगर महानगरपालिका–४ तित्रिगाछीमा पुगेपछि पेट्रोल आफ्नै शरीरमा छर्किएर एक्कासी आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको दाहालले बताए । 

आगोले मानिस जलिरहेको देखेपछि स्थानीयले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएका हुन् । स्थानीयले पानी हालेर शरीरको आगो निभइदिएको प्रहरीले जनाएको छ । साथमा बोकेको झोलामा फेला परेको नागरिकताका आधारमा वृद्धको पहिचान खुलेको हो । झोलामा नागरिकतासहित अन्य कागजात पनि भेटिएको प्रहरीले जनाएको छ । 

शरीरमा लागेको आगो निभाएर स्थानीयले उद्धार गर्दै वृद्धलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍याका थिए । त्यहाँबाट थप उपचारका लागि विराटनगर–२ मा रहेको रेडक्रस अस्पताल एन्ड ट्रमा सेन्टरमा लगिएको प्रहरीको भनाइ छ । 

डीएसपी दाहालका अनुसार आगोले शरीरका अधिकांश भाग,लगाएको कपडा र जुत्ता डढेको छ । ‘घाइतेको अवस्था गम्भीर छ । बोल्नसक्ने अवस्थामा हुनुहुन्न,’दाहालले भने,‘के कारणले आफ्नै शरीरमा आगो लगाएको भन्ने खुल्न बाँकी छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको छ ।’ 

अनुसन्धानपछि घटनाका बारेमा थप प्रष्ट हुने डीएसपी दाहालले बताए ।  प्रहरी स्रोतका अनुसार वृद्ध नेपालको आफन्तसँग लेनदेन विवाद रहेको पाइएको छ । ‘नातामा बहिनी पर्ने आफन्तलाई लामो समयअघि पैसा सापटी दिएको जानकारी आएको छ । 

त्यो पैसा उठाउन वृद्ध पटक–पटक बहिनीको घर आइरहने गरेको पनि पाइयो,’प्रहरीका एक अनुसन्धान अधिकृतले भने,‘तर, बहिनीबाट फिर्ता नपाएपछि दुई पक्षबीच यसअघि पनि भनाभन हुने गरेको रहेछ । त्यही पैसा उठाउन जाने क्रममा विवाद भएपछि शरीरमा पेट्रोल छर्किएर आगो लगाएको हुनसक्ने अनुमान छ ।’

पटक–पटक जाँदा पनि फिर्ता नपाएपछि पैसा सापटी लगेकी बहिनीकै घरनजिक वृद्धले आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले पैसा सापटी लैजाने बहिनीका बारेमा थप खुलाएको छैन । यद्यपि,अनुसन्धानको दायरा फराकिलो पारेर पृष्ठभूमि केलाउँदै घटना हुनुको कारण पत्ता लगाउने प्रयास भइरहेको डीएसपी दाहाल बताउँछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.