रामेछापको लिखुमा करेन्ट लागेर एक युवकको मृत्यु
काठमाडौं : रामेछाप लिखु तामाकोशी गाउँपालिका-२, सिरिसेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो लिखु खोलामा माछा मार्न लगेको तारबाट करेन्ट प्रवाह हुँदा २९ वर्षीय सुवास कार्कीको मृत्यु भएको सिरिसे प्रहरी चौकीले जनाएको छ। प्रहरीका अनुसार कार्की नुहाउन लिखु खोलामा गएका थिए।
नुहाइसकेपछि कपडा सुकाएको र त्यसपश्चात खोलामा माछा मार्नका लागि आफैंले लगेको तारबाट करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको हो। स्थानीय अर्का एक युवकले बंगुरलाई चारो दिने क्रममा कार्की छट्पटाएको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। नदीमा रहेको पानी लिखु-३ ले फेदीबाटै हाइड्रोपावरको सुरूङतर्फ लगेकाले उक्त स्थानमा पानी थोरै रहेको छ। उक्त दुर्घटनापश्चात स्थानीयले भने यस अगाडिदेखि नैै खोलामा करेन्ट लगाएर माछा मार्नेे गरेको देख्दा पनि प्रहरी प्रशासनले बेेवास्था गरेको भन्दै आक्रोश पोखेका छन्।
प्रतिक्रिया दिनुहोस !