आगो पुज्न २२ गाउँका दरै एकै ठाउँ

आगो पुज्न २२ गाउँका दरै एकै ठाउँ
गिदरीको काठ मन्थन गरी आगो बाल्ने तर्खर गर्दै । दरै समुदायले यस दिन गिदरीको आगोलाई गृह प्रवेश गराए पुन्य प्राप्त हुने विश्वास राख्दछन् । तस्बिरः पूर्ण विक / रासस।
सुन्नुहोस्

'आगोको पूजा कसरी गरिन्छ भन्ने देखाउन पनि हामीले बृहत् भेला गरेका हौँ', व्यास–५ चिन्तुटारका दरै अगुवा ६२ वर्षीय मीनबहादुरले भने, 'यसरी भेला गरी पूजा गरेपछि भावी पुस्ताले पनि जातीय संस्कृति बुझ्छन् भन्ने हाम्रो सोचाइ हो ।'

तनहुँ : ठूलो जमघटका साथ आगोको पूजा गरिन्छ भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर तनहुँका दरै समुदायमा भने आगोको पूजा गर्ने अचम्मको संस्कृति कायम छ । व्यास नगरपालिका–५ चिन्तुटारका दरै समुदायले मङ्गलबार २२ गाउँका दरै समुदायलाई भेला गरेर आगोको धुमधाम पूजा गरेका छन् । 

'आगोको पूजा कसरी गरिन्छ भन्ने देखाउन पनि हामीले बृहत् भेला गरेका हौँ', व्यास–५ चिन्तुटारका दरै अगुवा ६२ वर्षीय मीनबहादुरले भने, 'यसरी भेला गरी पूजा गरेपछि भावी पुस्ताले पनि जातीय संस्कृति बुझ्छन् भन्ने हाम्रो सोचाइ हो ।'

प्रत्येक वर्ष वैशाख पूर्णिमापछि पर्ने गङ्गा दशहराको दिन दरै समुदायले विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेको व्यास–५ चिन्तुटारका दरै पुजारी ६८ वर्षीय पदमबहादुरले जानकारी दिए। उनका अनुसार यस दिन गिदरी प्रजातिको काठलाई मन्थन गरी आगो सल्काएर त्यो आगोलाई अक्षता, फूलपातीले पूजा गर्ने र दरै समुदायका सबैले आगोलाई घरमा लैजाने प्रचलन रहेको छ । आगो पूजा गरेपछि प्रसादको रुपमाचामलको पिठोबाट बनाइएको विशेष परिकार ‘डेगुवा’ खाने र नाचगान गरी मनोरञ्जन गर्ने चलन छ ।

'पूजा गरिएको आगोलाई जाँड र डेगुवा चढाउनै पर्ने मान्यता छ', पुजारी दरैले भने, 'आगोको विधिपूर्वक पूजा नगरे घरमा चट्याङ र आगलागी हुन्छ भन्ने किंवदन्ती छ ।' आगोको पूजा गरी घरमा लैजाने चलन देख्दा अचम्म लागेको चिन्तुटार घर भई हाल व्यास–१ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक अध्ययनरत २३ वर्षीया सुनिता दरैले बताए। यसअघि आगोको बृहत् पूजा गरिएको जानकारी नपाएको उनले बताए । 

'यसरी बृहत् भेला गरेर आगोको पूजा गरेको यसअघि थाहा पाएको थिइनँ', सुनिताले भनिन्, 'यसरी पूजा गर्दा हाम्रो संस्कृति पनि रोचक रहेछ भन्ने अनुभव भएको छ ।' निम्तो पाएपछि छ-सात  जना भएर आफूहरू आगोको पूजा गर्न आएको व्यास–१० अत्रौली दरै समाजका अध्यक्ष हिराबहादुर दरैले बताए। यस्तो कार्यक्रमले आफूहरूलाई संस्कृति संरक्षण गर्नेबारे सचेत बनाउने उनको भनाइ थियो । 

आगोको पूजा सम्पन्न गर्न आफूहरूले तनहुँको शेरा, दुम्सी, साँगे, पतेनी, बैरेनी, फराकचौर, सिमलटार, निर्वु, सिसाघाट, अत्रौली, साँखर, भादगाउँलगायत २२ स्थानका दरै समुदायलाई निम्तो दिएको दरै समाज सुधार समितिका अध्यक्ष शर्मिला दरैले बताए। 

'युवा पुस्ताले संस्कृति बिर्सिंदै गएकाले पनि यसपटक सबै दरै बस्तीलाई निम्ता गरेका हौँ', समिति अध्यक्ष दरैले भने, 'यस्तो पूजाले संस्कृतिलाई संरक्षण गर्न सहयोग पुर्‍याउने ठानेका छौँ ।' आगोको पूजा कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, दरै सुधार समाज तनहुँका अध्यक्ष ठाकुर दरैलगायतका सहभागी हुँदा संस्कृति संरक्षणमा टेवा पुगेको आफूले ठानेको अध्यक्ष दरैको भनाइ छ । 

आगोको पूजा गरेपछि प्रसाद ग्रहण गर्दै नगर उपप्रमुख दरैले आगोको विधिवत् पूजा गर्ने दरै प्रकृतिप्रेमी रहेको तथ्य प्रमाणित भएको बताए। 'नदीखोलाको किनारामा माछा मारेर जीविका चलाउँदै आएका दरैहरूको संस्कृति संरक्षण गर्न आवश्यक छ', उपप्रमुख दरैले भने, 'त्यसको लागि व्यास नगरपालिकाको कार्यालयबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध छु ।'

नदीमा माछा मारेर जीविका चलाउँदै आएका दरैको तनहुँ, गोरखा, चितवन, धादिङ र नवलपरासीमा बाहुल्य छ । विसं २०६८ अनुसार मुलुकमा दरैको जनसङ्ख्या १७ हजार आठ सय ७९ छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.