महिनावारी सुक्दाको सकस

जीवन

महिनावारी सुक्दाको सकस

हरेक महिलाले यो सामान्य प्रक्रिया हो भन्ने बुझाइका साथै मानसिक रूपमा तयारी हुन सके महिलामा आत्मबल बढ्छ।

रजोनिवृत्ति अर्थात् महिनावारी सुक्ने चरण हरेक महिलाले एकपल्ट अनुभूति गर्ने शारीरिक अवस्था हो। यो समय हरेक महिलाको निम्ति निकै कष्टकर हुन्छ। कसैलाई केही वर्ष, कसैलाई केही महिना, कतिपयलाई केही दिनमात्र हुन्छ भने कतिलाई क्रमशः लक्षण बढ्दै जान्छ। केहीलाई क्रमशः घट्दै जान्छ। पत्रकार तथा लेखक बबिता बस्नेतको यससम्बन्धी अनुभूति मर्मस्पर्शी मात्र होइन, हरेक महिलाको निम्ति ज्ञान प्रदायक छ।

बस्नेतले भनिन्– ‘एकैछिन अघि दंग परेर हाँसिरहेको मान्छे एकैछिनमा दुःखीजस्तो महसुस हुने, सम्झ्यो दुःखी र खुसी दुवै हुनुपर्ने कारण खासै केही छैन। असहज महसुस गर्नुपर्ने केही कारणै छैन। के भइरहेछ मलाई ? आफूले आफैंलाई धेरैपल्ट प्रश्न गरेपछि साथीहरूसँग कुरा गरें। अनुभवीहरूले भने– ‘ए तिम्रो त मेनोपोज सुरु भएछ। प्रिमेनोपोज (नछुने रोकिने प्रक्रियाको सुरुवात) मा यस्तै हुन्छ।’

बस्नेतले भनिन्– ‘गुगल सर्च गर्दा मेनोपोजका सबै लक्षण मिलेपछि डाक्टर कहाँ गएँ। सबै कुरा सुनेपछि तपाईंलाई त गाह्रो मात्रै भएछ, मेरो नर्सले त डिप्रेसनको औषधि खाइरहेछिन्। सी इज ह्याभिङ सो डिफिकल्ट टाइम।’ यसपछि उनलाई मानसिक रूपमा केही सहज महसुस भएको रहेछ।

यो रोगबारे अनुसन्धानहरूले निकालेको तथ्यअनुसार तीन महिनादेखि तीन वर्षसम्म मेनोपोजको असर रहने गर्छ। कसैलाई बढी कसैलाई कम हुन्छ। त्यस्तो बेलामा डाक्टरको सल्लाहमा हर्मोन खानुपर्छ। मेनोपोज प्रक्रियाका क्रममा हड्डी खिइने, ढाड बांगिने, घुँडा दुख्ने समस्या हुने हुँदा क्याल्सियम र भिटामिनहरू खानुपर्ने हुन्छ। उचित खानपान, शारीरिक अभ्यास, योगा, मेडिटेसन, पोसिलो खाना खाने जस्तै भटमास, हरियो सागपात, फलफूल खाने, व्यायामसँगै शारीरिक तनाव हटाउन आफूलाई जे गर्न मन पर्छ र खुसी लाग्छ ती कामहरू गर्नुपर्छ।

स्थायी रूपमा महिनावारी बन्द हुने अवस्थालाई रजोनिवृत्तिका रूपमा लिइन्छ। महिनावारी बन्द हुने बेलामा डिम्बाशयमा रहेका डिम्बहरू सकिन्छन्। पिट्युटरी ग्रन्थीदेखि पाठेघरको भित्री तहको कार्यमा पनि निष्क्रियता आउँछ। कतिपय महिलामा ४० वर्षअघि नै महिनावारी सुक्ने गरेको पाइएको छ। यसलाई शीघ्र रजोनिवृत्ति (अर्ली मेनोपोज)का रूपमा लिइने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. शान्ति जोशी बताउँछिन्। ५५ वर्षभन्दा ढिलो रजोनिवृत्ति हुनुलाई ढिलो रजोनिवृत्ति (लेट मनोपोज) भनिन्छ।

डा. जोशीका अनुसार रजोनिवृत्तिको बेलामा डिम्बाशय सुक्दै जान्छन्। पाठेघर चाउरिने, डिम्बबाहिनी नली र योनीद्वार साँघुरिन्छ। स्तनमा बोसोको मात्रा घट्दै जान्छ। स्तन सानो हुँदै खुम्चिन्छ। केहीलाई ६ महिना र केहीलाई एक वर्ष विभिन्न खाले शारीरिक समस्या देखिन्छन्। जसमा महिनावारी गडबडी हुने, यौन सम्पर्कको बेला योनी सुक्खा हुने, धेरै वा थोरै रगत बग्ने, चिटचिट पसिना आउने, घरी जाडो हुने त घरी गर्मी हुने, रिस उठ्नेजस्ता मानसिक तथा शारीरिक लक्षण हुन्छन्।

नेपाली समाजमा यो अवस्थाबारे अहिलेसम्म खुलेर चर्चा परिचर्चा नै भएको छैन। तर महिलाको मानसिक स्वस्थ्यलाई सहज राख्न समुदाय स्तरमै यो अवस्थाको विषयमा सचेतना अत्यन्तै आवश्यक छ। बस्नेत भन्छिन्, ‘धेरै महिलालाई यस विषयमा जानकारी छैन। छलफल र जनचेतना नभएपछि महिलाहरू ठूलो मानसिक समस्याबीच बाँचिरहनु भएको छ। यो समस्याको विषयमा समाजमा छलफलको विषयसँगै नीति नै बनाउनु पर्छ।’

  • महिनावारी बन्द हुने बेलामा डिम्बाशयमा रहेका डिम्बहरू सकिन्छन्। पिट्युटरी ग्रन्थीदेखि पाठेघरको भित्री तहको कार्यमा पनि निष्क्रियता आउँछ।
  • प्राथमिक तहकै भए पनि यो महिनाबारी बन्दको अवस्थाबारे जानकारी नहुँदा धेरै नेपाली महिला यो अवस्थाबारे बुझ्न र जुध्न सक्दैनन्। जो मानसिक रोगको औषधि खान बाध्य छन्। कतिपय मनोविद्कहाँ परामर्श लिनसम्म पुग्छन्।
  • नेपाली समाजमा यो अवस्थाबारे अहिलेसम्म खुलेर चर्चा परिचर्चा नै भएको छैन। तर महिलाको मानसिक स्वस्थ्यलाई सहज राख्न समुदाय स्तरमै यो अवस्थाको विषयमा सचेतना अत्यन्तै आवश्यक छ।

हरेक महिलाले यो सामान्य प्रक्रिया हो भन्ने बुझाइका साथै मानसिक रूपमा तयारी हुन सके महिलामा आत्मबल बढ्छ। पोखरा—५ पस्र्याङकी मैना गुरुङ महिनावारी रोकिने समयमा विक्षिप्त बनिन्। उनले मानसिक रोगको औषधिसमेत खानु पर्‍यो। अचानक शरीरमा आएको परिवर्तनले उनलाई निकै गाह्रो भयो। के गर्नु, कसो गर्नु ? खटपटी भयो। ननिदाई कति रात बिताइन्। महिनावारी समयमा नहुने, मिनेट मिनेटमा सुत्केरी व्यथा लागेजस्तो हुने, पैतालादेखि टाउकोसम्म आगोको ज्वाला जसरी गर्मी हुने र पोल्ने हुन थाल्यो। ४४ वर्षको उमेरदेखि यस्तो अवस्था सिर्जना भएको उनलाई ७ वर्षसम्म गाह्रो भयो।

‘उधुम छटपटी हुन्थ्यो, कुचोसम्म उचाल्न नसक्ने, केही गर्ने मन नहुने, रातभर निद्रा नलाग्ने समस्या थियो। त्यसपछि बल्ल महिनावारी रोकियो।’ त्यस समयमा निदाउने औषधि नै लिनु परेको उनले बताइन्। त्यसबीच उनलाई एकजना साथीले विदेशी जुसबारे बताइन्। ‘३० प्याकेटलाई १५ हजार रुपैयाँ पर्ने त्यो जुस एक महिना खाएपछि निको भयो।’ उनी पनि डाक्टरले भनेझैं त्यो अवस्था आउने चरणमा तागतिला कुरा खान सुझाउँछिन्।

त्यस्तै कास्की नाउडाँडाकी सीता भण्डारी एक वर्षअघि रक्तस्रावले मरेतुल्य भइन्। उनलाई दुई वर्ष अगाडिबाटै महिनावारी गडबड भएको थियो। कहिले १५ दिनमै भइहाल्थ्यो त कहिले दुई महिनासम्म पनि रोकिन्थ्यो। एकाएक रगतको खोला बगेपछि उनी अत्तालिइन्। ‘अब म मर्ने भएँझै लाग्यो। प्याडमाथि कपडा राखेर पनि धान्न सकेन।’ यो कुरा उनले श्रीमान्लाई सुनाइन्। श्रीमान्को सहयोगमा अस्पताल पुगिन्। श्रीमान् बुझ्ने भएकाले उनलाई सहज भयो। महिनावारी बन्द हुने समयमा यस्तो हुन सक्छ भन्ने उनलाई पनि थाहै थिएन।

पोखरा—७ की दुर्गा पौडेलको महिनावारी रोकिएको तीन महिनामात्र हुँदैछ। केही महिना अघिबाट शरीरमा परिवर्तन आउन थालेको थियो। तर उनी यस विषयमा पहिल्यै जानकार थिइन् जसले उनलाई सहज भयो। पौडेल भन्छिन्– ‘मैले यसका लक्षण पढेकी थिएँ। त्यसकारण पनि सहज भयो। मलाई महिनावारी नियमित नहुने, घरी पसिना आउने, घरी जाडो हुने, सानो कुरामा पनि एकदमै रिस उठ्ने, मन शान्त नहुनेजस्ता शरीरमा अनौठो परिवर्तन देखियो। जानकारी भएकै कारण आत्तिइनँ। धैर्य गरें। हड्बडाइनँ। समस्यालाई सहजतापूर्वक पार लगाएँ।’

पोखरा—१७ कै जानकी शर्माको ५६ वर्षकी हुँदा महिनावारी सुक्यो। उनको महिनावारी कहिले ३, ४ महिना नहुने र कहिले ६ महिना, १ वर्षमा हुने, यो खालको समस्या उनले ३ वर्षसम्म भोग्नुपर्‍यो। अधिवक्तासमेत रहेकी शर्माले आफ्नो उमेरको हिसाबले पनि यो महिनावारी सुक्ने परिस्थिति हो भन्ने अनुमान गरिन्, ‘चिटचिट पसिना आउने, उतिबेलै जाडो हुने, रिस उठ्ने र झर्को लाग्ने भयो।’ त्यसपछि मणिपाल अस्पताल गएर डा. महेन्द्र पाण्डेसँग सल्लाह लिइन्। त्यसपछि अलि सजिलो भयो। धेरै महिला र उनका परिवारलाई यस विषयमा जानकारी नै छैन। गाउँटोलमा यससम्बन्धी प्रशिक्षण दिनुपर्ने उनको बुझाइ छ।

शाही अर्चना अस्पतालका सर्जन र गाइनोक्लोजिस्ट डा. अर्चना इन्दु पुन भन्छिन्, ‘यस्ता समस्या लिएर थुप्रै महिला आउनु हुन्छ। हरेक महिलाको ४५ देखि ५० वर्षको बीचमा महिनावारी सुक्नु सामान्य अवस्था मानिन्छ। तर ४० भन्दा पहिला सुक्यो भने त्यसलाई प्रि मेचोर मेनोपोज भनिन्छ। ५२ भन्दा उता गयो भने चेकअप गराउनुपर्छ। धेरै छिटो र ढिला पनि राम्रो होइन। ढिला भयो भने हर्मोनले पाठेघर र स्तन क्यान्सर हुने सम्भावना हुन्छ। तर धेरैजसो आमाहरूको जति उमेरमा महिनावारी सुकेको हुन्छ, छोरीहरूको पनि त्यही समयमा सुक्न सक्छ। नेपालमा सामान्यत महिलामा ४५ वर्षदेखि ५५ वर्षको उमेरमा महिनावारी रोकिने गरेको पाइएको छ।’

प्राथमिक तहकै भए पनि यो अवस्थाबारे जानकारी नहुँदा धेरै नेपाली महिला यो अवस्थाबारे बुझ्न र जुध्न सक्दैनन्। जो मानसिक रोगको औषधि खान बाध्य छन्। कतिपय मनोविद्कहाँ परामर्श लिनसम्म पुग्छन्। मनोविद् विजया बिजुक्छे भन्छिन्, ‘आफू कहाँ यो समस्या लिएर थुप्रै आउने र आएकामध्ये धेरैमा डिप्रेसन, एन्जाइटी र मुडस्विङ हुन्छ यो अवस्था भनेको गम्भीर अवस्था भएको र परिस्थिति बुझेर त्यही खालको परामर्श दिन्छौं।’ यस्तो समस्यासँग जुझ्न महिला एक्लै होइन, घरपरिवारै सचेत हुनुपर्छ। तर समग्र समाजकै साझा दायित्व हो। वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय भन्छन्, ‘जे–जे भए पनि नआत्ती सम्हाल्लिनुको विकल्प नै छैन। यसलाई टार्ने, ठेल्ने वा पन्छाउने उपाय छैन।’

मेनोपोज हरेक महिलाले जीवनमा एकपल्ट अनुभव गर्नैपर्ने चरण हो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार पोस्ट मेनोपोजल अर्थात् महिनावारी सुकिसकेका महिलाको संख्या क्रमशः बढ्दो छ। ‘महिलाको आयु बढ्दो छ’, डब्लूएचओले वेबसाइटमा लेखेको छ, ‘त्यसैले मेनोपोजलाई पीडा मात्र होइन, अवसरका रूपमा पनि लिइनुपर्छ। यो शक्तिलाई अवसरमा रूपान्तरण गर्न सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.