नारायणगढ-मुग्लिन सडकमा जोखिम मोलेर यात्रा

नारायणगढ-मुग्लिन सडकमा जोखिम मोलेर यात्रा
सामाजिक सञ्जालबाट

चितवन : पहिरोका कारण अवरुद्ध  नारायणगढ-मुग्लिन सडकखण्ड शुक्रबार साँझ २८ घण्टापछि सञ्चालनमा आयो। तर अझै पनि ढुङ्गा खस्न भने रोकिएको छैन। माथिबाट खसेका ढुङ्गा लागेर पल्टिएका मोटरसाइकल, सिसा फुटेका गाडीका तस्बिर सामाजिक सञ्जालमा छरिएका छन्। 

केही मानिसहरु ढुङ्गा खस्दै गर्दा सवारी साधन छोडेर भाग्दै गरेका भिडियो पनि पनि देखिएका छन्। यस सडकखण्ड पहिरोका कारण प्रत्येक वर्ष अवरुद्ध हुँदै आएको छ। बर्खा लागेसँगै पहिरो खस्नु नयाँ होइन।

विश्व बैंकको पहिरो विज्ञसहितको प्राविधिक टोलीले यसअघि दुईपटक गरेको अध्ययनमा मौरीखोला माथिको एकापट्टी डाँडाको भाग नै झर्न सक्ने जोखिम औँल्याएको थियो। सो ठाउँमा २५ हजार घनमिटर हाराहारीमा पहिरो खस्नसक्ने विज्ञ टोलीको अनुमान छ।

कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर रमेशकुमार पौडेलले भने, 'आठ/दश हजार घनमिटरसम्म त धान्न सकिन्छ। बढी भयो भने सडक रोकेर काम गर्नुपर्छ।' पहिरो कतिबेला खस्छ थाहा नहुने भएकाले बर्खामा यससडकमा यात्रा गर्नु निकै जोखिमपूर्ण देखिएको छ।

गत साल ड्रोन उडाएर अध्ययन गर्दै गर्दा तीन सय मिटरभन्दा अग्लो डाँडो देखिएको थियो। डाँडामाथि बाटो खन्ने गरिएकाले पनि पहिराको जोखिम बढ्दै गएको विश्लेषण गरिएको छ।

सोही क्षेत्रमा सन् २००३ मा जाइकाले पहिरो रोक्नका लागि काम गरेको थियो। सो सडकखण्डमा पहिराको समयमा काम गर्नुभएका इन्जिनियर शिव खनालका अनुसार भूगर्वविद्ले गरेको अध्ययनमा सो क्षेत्रको झण्डै सात सय मिटर लम्बाइ क्षेत्र पहिरोमा संरचना बनेकाले चलायमान छ। यसै कारण जुनसुकै बेला पहिरो खस्न सक्ने विज्ञहरुले आँकलन गरेको उनको भनाइ छ। सो सडकखण्डको चार किलो र १८ किलोमा पनि पहिराको उच्च जोखिम देखिएको छ। हालः ती दुवै ठाउँमा तयारी अवस्थामा लोडर राखिएका छन्।

ईच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा पछिल्ला केही दिन यता पहिरोले दुःख दिइरहेको छ। आज दिउँसो १ बजेबाट नाम्ची पुलमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। विगत तीन वर्षयता वर्षातको समयमा मौरी खोलामा पटक-पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ।

डिभिजन सडक कार्यालय चितवनले वर्षातको समयमा सो ठाउँमा जुनसुकै समय पहिरो खस्नसक्ने भएकाले असारको २ गतेबाट एक्साभेटर तयारी अवस्थामा राखेको छ। कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर रमेशकुमार पौडेलका अनुसार विगतका वर्ष अहिलेको अवस्था र अध्ययनलाई हेर्दा सो स्थानमा पहिराको जोखिम उच्च छ।

सेती दोभान र सिमलताल पनि पहिराको जोखिममा छन्। सडकखण्डमा १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्तो काटिएका ठाउँमा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाइएको छ। पौडेलका अनुसार ती ठाउँमा पुल बनाउँदै गरेको अनक कन्स्ट्रक्सनले पहिरो पन्छ्याउनका लागि साधन तयारी अवस्थामा राखेको छ। सो सडकका अन्य क्षेत्रमा सानातिना पहिरो खस्ने क्रम जारी रहेको छ। पौडेलले अन्यत्र भने ठूलो समस्या नहुने अनुमान गरे। उनले भने, 'जुनसुकै ठाउँमा पहिरो खस्ना साथ पन्छ्याउनका लागि स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर काम गर्न तयारी अवस्थामा हामी छौं।'

उनले रातिको समयमा सकेसम्म यात्रा नगर्न, सडक लेनको पूर्ण पालना गर्न र पहिरो पन्छाउने टोलीसँग समन्वय गरेरमात्रै हिँड्न आग्रह गरे। यससँगै वैकल्पिक सडकमार्गको प्रयोग गर्न र पहिरो खसेको छ छैन यकिन गरेरमात्रै हिँड्न उनको सुझाव छ। त्यसो त पहिरो खसेको अवस्था भए जोखिम नहुने ठाउँमा सवारी रोक्न पनि उनले आग्रह गरे। 

डिभिजन सडक कार्यालयका इञ्जिनियर सागर कार्कीका अनुसार ३ नम्बर पुलसँगै नारायणगढबाट मुग्लिनतर्फ १४ किलोमिटर, १५ किलोमिटर र १६ किलोमिटरमा पहिराको जोखिम छ। १७ किलोमिटरमा यसपटक पहिरो खसेको छ। १८ किलोमिटरमा गत वर्षझै यसवर्ष पनि पहिरोको जोखिम देखिएको छ। २० किलोमिटर अर्थात् सेती दोभान र २१ दशमलव चार किलोमिटर मौरीपुल पहिरोको जोखिम छ।

२३ किलोमिटरको सिमलतालमा पुलका लागि भित्तो काटिएकाले पहिराको जोखिम देखिन्छ। गत वर्ष पहिरो नखसेको ३१ दशमलव पाँच किलोमिटरको चोरखोलामा यसवर्ष पहिरो खसेको छ। ३२ दशमलव चार किलोमिटरको नाम्सी पुल नजिक गत वर्षझैं यस वर्ष पनि पहिरो खसेको छ।

३२ दशमलव ८ किलोमिटरको कालिखोला र ३३ दशमलव ८ को तुइन खोलामा पहिरो जोखिम भएका कार्कीले बताए। सडकको माथिल्लो भागमा खोलिएका शाखा बाटो र भौगोलिक कारणले पहिराको जोखिम रहेको उनको भनाइ छ। कार्कीले भने, 'वर्षात्को समयमा यो सडकको यात्रा जोखिमपूर्ण छ। सुरुमा सुक्खा पहिरो खस्ने र पछि गएर हिले पहिरो खस्ने गरेको छ।'

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की वर्षात्को समयमा यो सडक जोखिमपूर्ण भएकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरे। 'सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्नुहोस्, सम्भव नभए सडकको अवस्था बुझेर मात्रै यात्रा गर्नुहोस्।' यस सडकमार्गमा  काठमाडौं, पोखरालगायत गन्तव्यका आवतजावतका लागि दैनिक १० हजार हाराहारी सवारी गुड्ने गरेका छन्। -रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.