सुरक्षित आवास पाएपछि बाढी प्रभावित खुसी

सुरक्षित आवास पाएपछि बाढी प्रभावित खुसी
सुन्नुहोस्

कैलाली : जिल्लाको भजनी नगरपालिका–५ पलियापुरमा नगरपालिका, दिगो विकास समाज र जनश्रमदानबाट बाढी प्रभावितका लागि सुरक्षित घर निर्माण गरिएका छन्। नगरपालिकाको सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र भनेर चिनिने पलियापुरमा सुरक्षित आवास निर्माण भएपछि यहाँका बाढी प्रभावित खुसी भएका छन्। 

नगरपालिका, दिगो विकास समाज र जनश्रमदान गरी ९५ लाख ४६ हजार नौ सय बराबरको लगानीमा १६ वटा बाढी प्रभावित परिवारका लागि घर निर्माण भएका छन्। नगरपालिकाले ४० लाख दिगो विकास समाजले ३२ लाख खर्च गरेको नगरपालिकाले जनाएको छ।

भजनी नगरपालिका–५ का मोतीराम भण्डारीको परिवार यतिबेला हुलाकी सडक छेउमा त्रिपालको भरमा असुरक्षित घरमा बसिरहेको छ। एक/दुई दिनमा मोतीरामसहित परिवार नयाँ निर्मित आवासमा बस्ने तयारीमा छन्। नयाँ आवासमा सरेपछि हुलाकीमा वर्षायामको पाँच/छ महिना बिताउनु नपर्नेमा उनी खुसी छन्। 

नगरपालिका र दिगो विकास समाजको आर्थिक सहयोगमा जमिनको सतहदेखि छ फिट अग्लो घर निर्माण गरेको मोतिरामले बताए। 'यस वर्ष सडकमा जानुपर्दैन। घरभित्र पानी पस्ने छैन। परिवार र खाद्यान्न सुरक्षित हुन्छन्', उनले भने, 'स्थानीय सरकार छ भन्ने अनुभूति हामीलाई भएको छ। हाम्रो वर्षौंदेखिको समस्या समाधान भएको छ।'

सोही ठाउँका राज विक अहिले घर निर्माणमै व्यस्त छन्। घर निर्माण सम्पन्न गरेर यस वर्षको वर्षात् नयाँ घरमा बिताउने उनको रहर छ। 'हुलाकी सडकमा भोकभोकै बस्नुको पीडा हाम्रा लागि खत बनेर बसेको छ। त्यो पीडा कहिल्यै भुल्ने छैनौँ', विकले भने, 'त्रिपालको सहायतामा सडकमा बस्ने दिनको अन्त्य हुँदैछ। घर बनेपछि बाढीबाट हुने क्षति कम हुनेमा विश्वस्त छौँ।' उनले नगरपालिका सहयोग गरेर आवास निर्माण गरिरहेको बताए।

आवास निर्माण भए पनि शौचालय र खानेपानीको भने समस्या हुने देखिएको विकको भनाइ थियो। 'आवास निर्माण गर्दा शौचालय निर्माण गरिएको छैन। खानेपानीका हाते नल्कामा बाढीले  क्षति पुर्‍याउँछ', उनले भने, 'खानेपानीका लागि उचाइ बढी बनाएर व्यवस्थित धारा जडान गर्नुपर्ने हुन्छ।'

वर्षामा शौचालय र खानेपानीको समस्या हुने सोही ठाउँकी सरिता टमट्टाले बताए। 'बर्खाको समयमा हुने किरा/फट्याङ्ग्राको जोखिमबाट बच्ने भएका छौँ। बालबालिका बाढी र डुबानबाट सुरक्षित हुने भएका छन्', उनले भने, 'घर निर्माण भएको क्षेत्रबाट बाहिर जान ढुंगा आवश्यक पर्छ। यहाँ नदी बग्छ। यस्तो अवस्थामा खानेपानी र शौचालयका लागि कता जाने भन्ने चिन्ता छ।' घर निर्माण भएको क्षेत्रमा भुइँको सतह निकै गहिरो भएकाले माटो पटानी गरेर समस्या समाधान गर्नुपर्ने टमट्टाको भनाइ थियो। 

नयाँ आवासमा खाद्यान्न सुरक्षित राख्न सकिने भएपछि लालबहादुर कामी तनावमुक्त भएका छन्। बर्खा लागेसँगै घरमा भएको अन्न तथा अन्य खाद्यान्न आफन्तकामा सार्नुपर्ने बाध्यता यस वर्षदेखि अन्त्य हुने उनले बताए। 'बर्सेनि आउने बाढी र डुबानबाट सुरक्षित राख्न हामीले केही सामान आफन्तकामा राख्दै आएका थियौँ। आफन्तकामा राखिएका सामान पनि बाढीबाट सुरक्षित हुँदैनथ्यो', लालबहादुरले भने, 'यस वर्ष आफ्नै घरमा खाद्यान्न सुरक्षित हुने भयो। हामी सुरक्षित  हुने भयौँ।'

भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले नगरपालिकाले पाँच वर्षमा ५० सुरक्षित आवास निर्माण गर्ने लक्ष्य राखेको जानकारी दिए। उनले बाढी र डुबानको बढी जोखिम हुने क्षेत्रका नागरिकको सुरक्षाका लागि दातृ संस्थासँग समन्वय गरी सुरक्षित आवास निर्माण थालिएको बताए।

'चालू आर्थिक वर्षमा १६ घर निर्माण भएका छन्। शौचालय, खानेपानी लगायतको काम बाँकी छ। आगामी आर्थिक वर्षमा बााकी काम पूरा गर्ने योजना बनाएका छौँ', नगर प्रमुख चौधरीले भने, 'बाँकी जोखिम भएका क्षेत्रमा पनि आवास निर्माणका लागि नगरपालिकाले सहयोग गर्नेछ। यसका लागि दातृ संस्थासँग निरन्तर समन्वय गर्नेछौँ।' उनले कान्द्रा नदीलाई नियन्त्रण गर्न नसकेसम्म भजनीलाई डुबानबाट जोगाउन नसकिने बताए।

'हाम्रो पीडा कान्द्रा हो। कान्द्र नियन्त्रण गर्नसके आधा दुःख सकिन्छ', नगर प्रमुख चौधरीले भने, 'त्यसका लागि हाम्रो बजेटले पुग्दैन। प्रदेश र संघीय सरकारले अपेक्षित सहयोग गरेको छैन। टुक्रे बजेटले कान्द्रा नियन्त्रण गर्न सकिँदैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.