सुन तस्करीबारे छानबिनको माग गर्दै रास्वपाले दर्ता गर्यो सार्वजनिक महत्वको प्रस्ताव
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १०० किलो सुन प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ।
रास्वपाका तर्फबाट सभापति रवि लामिछानेसहित पार्टीका सांसदहरूले हस्ताक्षर गरेको संकल्प प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको हो।
प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकारले जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ।
सुन तस्करीमा नेपाललाई किन हब ट्रान्जिटको रुपमा संगठित अपराधीहरुले सजिलै प्रयोग गरिरहेका छन् भन्ने विषयमा अपराधशास्त्रको विन्दुबाट सरकारद्वारा अध्ययन र अनुसन्धान हुनुपर्ने रास्वपाको माग छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको १०० किलो बढि परिमाणको सुन राजस्व अनुसन्धान विभागले गत बुधबार सिनामंगलबाट बरामद गरेको थियो।
रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुई पाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु)भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको हो। उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ।
सोही प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना पक्राउ परिसकेका छन्।
प्रतिक्रिया दिनुहोस !