जो राजनीतिबाटै पलायन हुनुपर्यो
नाम : जयप्रकाशप्रसाद गुप्ता
अकुत कमाइ : २ करोड ८ लाख ८ हजार ४६
हालको अवस्था : दोषी ठहर
बहुदल आएपछि जयप्रकाशप्रसाद गुप्ता ‘आनन्द’ कांग्रेस नेता बनेका थिए। उनी कांग्रेसकै तर्फबाट सूचना तथा सञ्चारमन्त्री पनि भए। सोही समय उनी भ्रष्टाचारमा पनि मुछिए। २०५९ चैत ६ मा गुप्ताविरुद्ध २ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप लाग्यो। अख्तियारले उनकी श्रीमती सरस्वती पुरी (गुप्ता)लाई समेत प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
तर, विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारीको इजलास समूहले गुप्ताको सम्पत्ति स्रोत खुलेको भन्दै उनलाई २०६४ जेठ २४ गते सफाइ दिएको थियो। विशेषको फैसलाविरुद्ध अख्तियारले २०६४ कात्तिक २२ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो। २०६८ फागुन १० मा सर्वोच्चले ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको सजाय सुनाएको थियो। तत्कालीन न्यायाधीश सुशीला कार्की र तर्कराज भट्टको इजलासले सो फैसला सुनाएको थियो।
कांग्रेस हुँदै मूलधारको राजनीति प्रवेश गरेका गुप्ता मधेस आन्दोलनपछि मधेसवादी राजनीतिमा सक्रिय भए। २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार भएका उनी तीन पटक सूचना तथा सञ्चार र एक पटक कृषिमन्त्री भएका थिए। सर्वोच्चले भ्रष्टाचारी ठहर गरेपछि अहिले उनी स्वतन्त्र जीवन बिताइरहेका छन्।