गाउँमा भाइरल ज्वरोका बिरामी बढे
गुल्मी : मालिका गाउँपालिका-५ छापका ८ वर्षीय राजेश जिसी दुई दिनदेखि ज्वरोका कारण बिरामी परेका छन्। उनलाई बान्ता हुने, ज्वरो आउने र शरीर दुख्ने जस्ता लक्षण भइरहेका छन्। सोही ठाउँकै १२ वर्षीय मादेव भण्डारी पनि ज्वरोले थलिएको पाँच दिन भइसक्यो। ज्वरो आउने, बान्ता हुने र रिंगटा लाग्ने जस्ता लक्षण उनलाई पनि देखिएको छ।
भदौको दोस्रो हप्तादेखि उक्त लक्षण देखिएका बिरामीहरू गाउँका स्वास्थ्य चौकीमा पुग्ने गरेका छन्। दैनिक दर्जनौं बिरामी औषधिका लागि स्वास्थ्य चौकीमा पुग्ने गरेको स्वास्थ्यकर्मीले बताए।
छापहिले स्वास्थ्य चौकीका प्रमुख देव बहादुर महताराले दैनिक २० देखि ३० जनाको हाराहारीमा बिरामी स्वास्थ्य संस्थामा आउने गरेको बताए। उनले एन्टिबायोटिक औषधिले समेत भाइरल ज्वरोका बिरामी ठीक नभएको जानकारी दिए। ‘औषधिले समेत काम गरेको छैन’, उनले भने, ‘भदौ पहिलो हप्तादेखि ज्वरोका बिरामी बढेका छन्।’
महताराले परिवारमा एक जनालाई ज्वरो आएपछि सबैलाई सरेर बिरामी हुने गरेको बताए। भाइरल ज्वरोका बिरामी एक हप्तापछि मात्रै निको हुने गरेको उनको भनाइ छ।
बिरामी भएर निको भएका अन्य स्थानीयले भने कोभिड जस्तै कुनै संक्रामक रोग हुनसक्ने अनुमान गरेका छन्। ‘पहिलेको तुलनामा यसपटक ज्वरोका बिरामीमा फरक लक्षण देखिएको छ’,उनले भने, ‘ज्वरो आउने, शरीर दुख्ने, घाँटी दुख्ने, कमजोर हुने र कुनै बिरामीमा बेहोस हुने जस्ता लक्षण देखिएको छ।’
घरमा एक जना बिरामी भएपछि क्रमशः परिवारका अन्य सदस्यमा समेत यस रोगको लक्षण देखिएका छन्।
प्रतिक्रिया दिनुहोस !