रोमानिया पठाउने बहानामा म्यानपावरको ‘संगठित ठगी धन्दा’
विराटनगर : वैदेशिक रोजगारीको आकर्षक गन्तव्य रोमानियाको झुटो सपना देखाएर झापा र मोरङका युवाहरुसँग लाखौं रुपैयाँ असुली गरिएको संगठित ठगी प्रकरण सार्वजनिक भएको छ ।
म्यानपावर कम्पनीमार्फत कामदार पठाउने नाममा लामो समयदेखि चलिरहेको धन्दाको मुख्य आरोपीका रूपमा मोरङ रतुवामाई नगरपालिका–८ का उद्धव पाठक पक्राउ परेपछि घटनाको विस्तृत स्वरूप उजागर भएको हो । प्रहरीका अनुसार पाठकद्वारा रतुवामाई–८ दाम्राभिट्टामा सञ्चालित ‘केएसए’ नामक म्यानपावरमार्फत रोमानिया पठाउने आश्वासन दिएर कम्तीमा १५० भन्दा धेरै युवाबाट करिब ३ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
तर, पीडितहरूको संख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ । किनकी धेरैले हालसम्म उजुरी दिएका छैनन् । उजुरी दिन प्रहरी कार्यालय पुग्ने क्रम जारी छ । कतिपयसँग रकम बुझाएको प्रमाण समेत छैन । नगद नै लेनदेन गरेकासँग प्रमाणको अभाव देखिएको हो । यो ठगी आर्थिक क्षति मात्र नभएर गाउँ गाउँका युवाहरूको भविष्यसँग जोडिएको गहिरो संकट बनेको छ । जहाँ विदेश जाने सपना बोकेका परिवारहरू अहिले ऋण, तनाव र अविश्वासको चपेटामा परेका छन् ।
झापाको कमल गाउँपालिका–१ का पवन कार्की त्यस्ता पीडितमध्ये एक हुन् । उनले रोमानिया जाने प्रक्रिया अघि बढाउन म्यानपावरलाई साढे सात लाख रुपैयाँभन्दा बढी बुझाएका थिए । उनीसँग भिसा र टिकट तयार भएको भन्दै निरन्तर आश्वासन दिइएको थियो । यही विश्वासका आधारमा उनी रोमानिया जानलाई भारतको नयाँ दिल्ली पुगे । व्यक्तिगत जीवन समेत स्थगित गर्दै विदेशको सपना बोकेर नयाँ दिल्ली पुगेका कारण उनले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा मतदान समेत गर्न पाएनन् ।
तर, सबै योजना भत्किने क्षण उनी भारतको नयाँ दिल्ली पुगेपछि सुरु भयो । त्यहाँ पुगेपछि उनको हातमा परेको भनिएको हवाई टिकट नक्कली भएको पत्ता लाग्यो । विदेश उडानको तयारीमा रहेको समूह नै अनिश्चिततामा फस्यो । त्यसपछि एजेन्टले पुनः काठमाडौंबाट उडाउने आश्वासन दिए पनि त्यो ढिलाइ गर्ने रणनीति मात्र भएको पीडितहरूको आरोप छ ।
दिल्लीबाट फर्किएपछि पवनसँगै मोरङका जीवन लिम्बू र झापाका उमेश खत्री झण्डै तीन हप्ताभन्दा बढी अनिश्चित अवस्थामा काठमाडौंमा बस्न बाध्य भए । न उडान भयो, न त रकम फिर्ता । अन्ततः उनीहरू निराश भएर घर फर्किन बाध्य भए । पवन अहिले मोरङको इलाका प्रहरी कार्यालय सिजुवामा पुगेर आफ्नो पीडा सुनाउँदै छन् । घरमा गरगहना धितो राखेर, ऋण काढेर विदेश उड्ने तयारीमा रहेका उनको सपना मात्रै तुहिएन, पैसा गुमेपछि परिवार नै आर्थिक संकटमा परेको छ ।
यस्तै, पीडाको अर्को कथा मोरङको उर्लाबारी नगरपालिका–३ का आशिष कार्कीको हो । उनले चार वर्षअघि नै रोमानिया पठाउने भन्दै म्यानपावरलाई दुई लाख रुपैयाँ बुझाएका थिए । तर, न उनी विदेश जान पाए, न त पैसा फिर्ता भयो । लामो समयदेखि विभिन्न सरकारी निकाय धाउँदै आएका उनी अझै पनि न्यायको प्रतीक्षामा छन् । प्रहरीले यो घटनालाई व्यक्तिगत ठगीभन्दा पनि व्यवस्थित र संगठित संरचना भएको प्रकरणका रूपमा हेरेको छ । उद्धव पाठकले सञ्चालन गरेको म्यानपावरले गाउँगाउँका एजेन्ट र बिचौलियामार्फत युवालाई आकर्षित गर्ने, कागजी प्रक्रिया देखाएर विश्वास जित्ने र अन्ततः रकम असुली गर्ने प्रणाली अपनाएको देखिएको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार हालसम्म प्राप्त उजुरीका आधारमा ठगी रकम ३ करोड ५० लाख रुपैयाँभन्दा बढी देखिएको छ । तर, वास्तविक रकम अझै धेरै हुन सक्ने अनुमान गरिएको छ । ‘अझै पनि पीडितहरू आउँदैछन् । केहीसँग बैंक ट्रान्सफरको प्रमाण छ । धेरैसँग नगद कारोबार भएको रहेछ,’ उनले भने ।
यस प्रकरणमा पीडितहरूको सामाजिक र आर्थिक अवस्था झनै पीडादायी छ । अधिकांश पीडित निम्न र मध्यम वर्गीय परिवारका युवा हुन् । उनीहरुले विदेश जानका लागि मिटरब्याजमा ऋण लिएका थिए, जग्गा धितो राखेका थिए, घरका गरगहना बेचेका थिए । अहिले उनीहरू न विदेश जान सकेका छन्, न त ऋण तिर्ने अवस्थामा छन् ।
ठगीको अर्को गहिरो पक्ष रतुवामाई–८ का दिलिप खड्कासँग जोडिएको छ । उनी उद्धव पाठकमार्फत रोमानिया पुगेका थिए । रोमानिया पुगेपछि गाउँका अन्य युवालाई पनि सोही प्रक्रियामा जोडिदिए । पछि समस्या देखिएपछि गाउँमै ठूलो विवाद भयो । त्यसपछि दिलिपले आफ्नै सम्पत्ति बेचेर करिब ३३ लाख रुपैयाँभन्दा बढी रकम पीडितहरूलाई फिर्ता गर्नुपरेको थियो । यसले उनको परिवार नै आर्थिक रूपमा कमजोर बनेको छ ।
प्रहरी अनुसन्धानअनुसार पाठकले रोमानियामै आफ्नो नेटवर्क विस्तार गरेका थिए । त्यहाँ उनले नेपाली कामदारहरूलाई राख्न भन्दै ‘नेपाली होस्टल’ सञ्चालन गरेको र अतिरिक्त शुल्क असुली गर्ने गरेको आरोप छ । केही पीडितहरूले उनलाई रोमानियामा विलासी जीवन बिताउने, क्यासिनो जाने र ठगीको रकम व्यक्तिगत खर्चमा प्रयोग गर्ने गरेको दाबी गरेका छन् ।
त्यहाँ काम गर्न गएका युवाहरूले अपेक्षित काम, तलब र सुरक्षाको अभाव भएपछि असन्तुष्टि जनाएका थिए । असुरक्षा बढेपछि पाठक केही समयअघि नेपाल फर्किएको बताइन्छ । उनकी श्रीमती भने अझै रोमानियामै रहेको प्रहरी स्रोतले जनाएको छ । नेपाल फर्किएपछि उनी केही समय लुकीछिपी काठमाडौंमा बसेका थिए । एक साताअघि मात्रै गाउँ फर्किएका थिए ।
पीडितहरूले नै उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएपछि अहिले पाठक र उनको म्यानपावरका लेखापाल अभि भण्डारी प्रहरी हिरासतमा छन् । दुवै जनामाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार पाठकविरुद्ध मोरङ र काठमाडौं दुवै ठाउँमा उजुरी परेको छ ।
हाल हिरासतमा रहेका पाठकले सम्पत्ति बेचेर रकम फिर्ता गर्ने आश्वासन दिएका छन् । तर, पीडितहरू भने उनको भनाइमाथि विश्वास गर्न सक्ने अवस्थामा छैनन् ।
‘पहिले पनि आश्वासन दिएर ठगी गरिएको हो । अहिले पनि त्यही दोहोरिन सक्छ,’ पीतिडहरु भन्छन् । यो घटनाले नेपालमा वैदेशिक रोजगारीको नाममा फैलिएको म्यानपावर धन्दा कति गहिरो र जोखिमपूर्ण छ भन्ने विषयलाई बाहिर ल्याएको छ । गाउँगाउँमा फैलिएको विदेश मोह, बेरोजगारी र आर्थिक दबाबको फाइदा उठाउँदै केही व्यक्तिहरूले संगठित रूपमा ठगी गर्ने गरेको तथ्यले राज्य संयन्त्रको निगरानीमाथि पनि प्रश्न उठाएको छ ।
अहिले सयौं पीडित युवाहरू ऋणको भारी बोकेर भविष्य अनिश्चित बनेको अवस्थामा छन् । उनीहरूका लागि विदेश जाने सपना मात्र नभएर आफ्नै आर्थिक अस्तित्व जोगाउने चुनौती पनि थपिएको छ । प्रहरीले थप संलग्न व्यक्तिहरूको खोजी जारी राखिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !