शिरमा लाउने नि शिरबन्दी फूल,
गलामा लगाउने चन्द्रहार चाँदी,
हातैमा लाउने नि चाँदीका बाइँ,
औंलामा असर्फी मेरी आमै औंलामा असर्फी।
मोहोरका रेजिनी झलल पारी,
हेर्दछिन् फर्की नि मेरी आमै हेर्दछिन् फर्की नि।
गोडा लगाउने ती काँडे कल्ली,
छिर्लिङ बजाउँदै मेरी आमै छिर्लिङ बजाउँदै।
दाजु र सँग नि आइन ठूली भाउजू,
पिँढीमा लजाउँदै मेरी आमै पिँढीमा लजाउँदै।
हिँड न हिँड न ए मेरी भाउजू,
घरभित्र पस न मेरी आमै घरभित्र पस न।
पिठ्यूँको झोला बिसाइकन,
पिरामा बस न मेरी आमै पिरामा बस न।