![चेलीका हातको आशीर्वाद थाप्न](https://annapurnapost.prixacdn.net/media/albums/tihar_pb09fhQW3p_0g0v0e3E1w.jpg)
मख र मली नि फूलै र फुल्यो
चेलीका हातको आशीर्वाद थाप्न
हरियो गोबरले लिपपोत गरी
आँगनी माझैमा मेरा भाइ आँगनी माझैमा,
सवारी हुन्छ नि लक्ष्मीको पनि
औंसीको साँझैमा मेरा भाइ औंसीको साँझैमा।
दैलाका ठेलामा जोर बत्ती बाली
लक्ष्मीको स्वागत मेरा भाइ लक्ष्मीको स्वागत,
तेलको धर्काे नि पिठाको रेखी
रङ भरी सर्वत्र मेरा भाइ रङ भरी सर्वत्र।
गणेशको पूजा नि दियो र कलश
दैलामा ओखर मेरा भाइ दैलामा ओखर,
कलशको पानीले तीन फेरा छेकी
बन्धनमा राखेर मेरा भाइ बन्धनमा राखेर।
सयपत्री थुँगा नि मखमली फूल
उनेर मालामा मेरा भाइ उनेर मालामा,
सप्तरंगी टीका नि निधारमा लगाई
फूलमाला गलामा मेरा भाइ फूलमाला गलामा।
दाजुको पूजा नि भाइको पूजा
सकेर साथमा मेरा भाइ सकेर साथमा,
परिकार मीठा जो हातमा राखी
ढाकाटोपी माथमा मेरा भाइ ढाकाटोपी माथमा।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)