बैंकका शाखा प्रबन्धक र नक्कली ऋणी थुनामा

बैंकका शाखा प्रबन्धक र नक्कली ऋणी थुनामा
सांकेतिक तस्बिर।
सुन्नुहोस्

राजविराज : एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका आरोपित बैंकका तत्कालीन प्रबन्धक सन्तोषकुमार यादवसहित तीन जना पुर्पक्षका लागि सोमबार कारागारमा थुनामा पुगेका छन्। 

सप्तरी जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले राजविराज नगरपालिका–७ का सन्तोष, राजविराज नगरपालिका–९ का मो. सदाम, सप्तरीको रूपनी गाउँपालिका–५ का दीपेन भनिने दीपककुमार सुतिहारलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको हो।

सरकारी लिखत किर्ते गरी संगठित रूपमा ठगी गरेको आरोपमा मंसिर १० गते सन्तोष हाजिर भएपछि मंसिर २० गते सदाम र दीपक पनि अदालतसमक्ष हाजिर भएका थिए। अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बैंकबाट निलम्बित यादव फरार थिए। सदाम भने अनुसन्धानका लागि गत असार १९ गते पक्राउ परेर छुटेका थिए।

‘स्क्याम’ प्रकरणपछि गत वैशाखको दोस्रो साता प्रबन्धक यादव, ऋण अधिकृतसहितका १० जनाविरुद्ध सरकारी कागजात, छाप र हस्ताक्षर किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो। जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्राचार गरेपछि जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंह प्रतिवेदक भई कारबाहीका लागि उजुरी दिएका थिए। 

गत माघ २२ गते बैंकमा सरकारी कागजात किर्ते गरी बनाइएको फर्जी जग्गाधनीलाई स्वीकृत गरिएको २ करोड ८० लाख रुपैयाँमध्ये २ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह गरेको ‘स्क्याम’ को खुलासा माघ २३ गते भएको थियो।

बैंकका प्रबन्धक यादवसहित बैंकका केही कर्मचारी, व्यवसायी, लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटरहरूको मिलेमतोमा राजविराज नगरपालिका–८ का रवीन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको किर्ते जग्गाधनी प्रमाणपत्र बनाई राजविराज नगरपालिका–९ (तत्कालीन मलेठ गाविस–७) की वसिरन खातुनलाई फर्जी जग्गा धनी बनाइएको आरोप लागेको छ। 

एनआईसी एसिया बैंकमा सरकारी कागजात किर्ते गरी बनाइएको नक्कली जग्गाधनीको ऋण मागलाई बैंकले स्वीकृत गरेको थियो। नक्कली जग्गाधनी खडा गरी लिएको ऋणकर्जा २ करोड ८० लाख रुपैयाँमध्ये २ करोड ३० लाख रुपैयाँ ऋण प्रवाहसमेत भएको थियो। वास्तविक जग्गाधनीले थाहा पाई घटना बाहिरिएलगत्तै बैंकका प्रबन्धक यादवसहित बैंकका केही कर्मचारी र व्यवसायीहरू तत्काल फरार भएका थिए।

जग्गाधनी रवीन्द्रकुमार यादवका अनुसार आरोपितले लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटरसँग मिलेमतो गरेर नक्कली जग्गाधनी खडा गरी बैंकबाट कर्जा निकालेका थिए। राजविराज नगरपालिका–८ बस्ने यादवको नाममा रहेको साबिक प्रसवनी गाविस–९ (ग) को कित्ता नम्बर २२१ को १० कट्ठा ५ धुर जग्गाको नक्कली जग्गा धनी प्रमाणपत्र बनाएका थिए। आरोपितहरूले साबिक मलेठ गाविस–७ हाल राजविराज नगरपालिका–९ की वसिरन खातुनलाई नक्कली जग्गा धनी बनाएका थिए।

राजविराजस्थित घरेलु तथा साना उद्योग कार्यालयमा खातुनकै बुहारी आसमा खातुनको नाममा दर्ता रहेको ‘एएस ट्रेडर्स एन्ड सप्लायर्स’लाई बैंकले गत माघ ९ गते उक्त ऋण प्रवाह गरेको थियो। पक्राउ परेका मोबाइल व्यवसायी सदाम नक्कली जग्गाधनी बसिरन खातुनका छोरा तथा ऋणी आसमाका श्रीमान् हुन्। आसमाले ऋण लिएको बेला श्रीमान् सदामकै मोबाइल पसल मूल्यांकन गराएकी थिइन्।

‘स्क्याम’ प्रकरण बाहिरिएसँगै गत माघ २९ गते जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि भूमिसुधार तथा मालपोत कार्यालय राजविराजले सरकारी कागजात, छाप र हस्ताक्षर किर्ते भएको विषयमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.