कांग्रेस महासमिति बैठक : आज विभिन्न प्रतिवेदन पेश हुने, समूहगत छलफल गर्ने
काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक आज बिहान ९ बजेबाट सुरु हुने भएको छ। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको बन्दसत्रमा आज विभिन्न प्रतिवेदन पेश गरिने भएको छ।
सूचना, संचार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने कार्यसूची छ। उक्त प्रस्तावहरुमाथि विभिन्न समूहमा रहेर छलफल हुने विश्वकर्माले जानकारी दिए।
महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा सोमबार मध्यरातिमात्रै सहमति जुटेको छ। ‘...हामी संकल्प गर्छौं कि– नेपाली कांग्रेसले भविष्यमा हुने आवधिक निर्वाचनहरूमा निर्वाचनपूर्व गठबन्धन (प्रिइलेक्सन एलायन्स) गरेर अब कहिल्यै आफ्ना मतदातालाई अन्य कुनै दलको चुनाव चिह्नमा मत हाल्ने अवस्था सिर्जना गर्ने छैन,’ महामन्त्री गगन थापाको सांगठानिक प्रतिवेदनमा उल्लेख छ। थापाको यही प्रस्तावले कांग्रेसमा सोमबार दिनभर हलचल पैदा गर्यो। महासमिति बैठकको बन्द सत्र सुरु हुन सकेन। पार्टी सभापति शेरबहादुर देउवाले ‘चुनावमा गठबन्धन नगर्ने’भन्ने प्रतिवेदनको वाक्यांस फेर्न महामन्त्री थापासँग पटक–पटक आग्रह गरे। थापाले मानेनन्।
सभापति देउवा अहिल्यै चुनावी गठबन्धनबारे नीति बनाउन नहुने पक्षमा थिए। महासमिति उद्घाटनपछि देउवा निवासमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपश्चात सहमति जुटेको हो। यद्यपी संस्थापनइत्तर पक्षबाट शेखर कोइरालाले एजेण्डामा बलियो साथ नदिएको भन्दै गगन थापा रुष्ट बनेका छन्।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !








