काठमाडौं : ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ, तिम्रो याद आइदिँदा आँसु त्यसै बगेछ...’। भक्तराज आचार्यको संगीत र स्वर रहेको यो कालजयी गीतले भनेझैं असंख्य स्रोता सोमबार साँझ एकाएक उनकै यादमा आँसु बगाउन बाध्य भए। अक्सिजन लेभल अचानक घटेपछि अस्पताल पुर्याउँदा चिकित्सकले गायक आचार्यलाई मृत घोषणा गरेका थिए। भजन शिरोमणि उपाधिले चर्चित आचार्यको ८१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो।
‘दसैंलगत्तै घरमा लडेपछि आचार्यको टाउकोमा चोट लागेको थियो। त्यसपछि उहाँ थलिनुभएको हो’, संगीतकार हरि लम्सालले भने, ‘भन्न त डाक्टरले ३० वर्षअघि नै अब उहाँको समय धेरै छैन भन्नुभएको थियो। जिब्रोमा त्यसबेला देखिएको क्यान्सर शल्यक्रिया गरेपछिको झन्डै तीन दशकको अवधि हामीले सँगै बस्ने अवसर पायौं। तर, आज उहाँ सबैबाट सदाका लागि टाढा हुनुभएको छ।’
आचार्य ३० वर्षदेखि दूधको मात्र भरमा रहेको उनले बताए। उनका अनुसार पाकिस्तानी गजल गायक गुलाम अली नेपाल आएपछि भक्तराजले आफूलाई चिनाउने अवसर पाएका हुन्। ललितपुरको भैंसेपाटीस्थित संगीत नगरीमा दुई वर्षदेखि बस्दै आएका थिए, आचार्य। सोही नगरीमा ५ कलाकारले घर बनाइसकेका छन् भने १४ कलाकारको जग्गा छ।
‘पाकिस्तानका चर्चित गजल गायक गुलाम अली नेपाल आउँदा उहाँको बेजोड प्रस्तुति रह्यो। नेपालबाट कसले प्रस्तुति दिनेभन्दा उक्त कार्यक्रममा सबै टाढाटाढा भए छन्। त्यतिबेला विभिन्न कारणले गुलाम अलीको छेउमै पर्न नदिएपछि भक्तराज आचार्य चुपचाप हुनुभएको रहेछ’, संगीत नगरी निवासी संगीतकार लम्साल आचार्यले सुनाएको सन्दर्भ यसरी सुनाउँछन्, ‘आयोजकमध्ये कसैले हाम्रो लाज बचाइदिनु पर्यो भक्तराजजी भनेपछि उहाँ स्टेजमा चढ्नुभए छ। गायनमा मन्त्रमुग्ध गुलाम अली गीत सकिएपछि उठेर ताली बजाए छन् र भक्तराजलाई अंकमाल गरे छन्। त्यसपछि अलीले म तपाईंसँग फोटो खिच्छु भने छन्। अघिसम्म छेउ पर्न नदिनेलगायत सबै अचम्भित भएका थिए रे !’
जति चोट दिन्छौ, मुटु जलिरहेछ, हजार सपनाको माया, जीवन भनूँ त भूल, माया मेरी जस्ता कालजयी दर्जनौं गीत आचार्यले गाएका छन्। भजन शिरोमणि भक्तराजको सर्वाधिक लोकप्रिय भजन हो– एकदिन मैले प्रभुसँग सोधेँ। उनका तन, मन वचनले, कति लिन्छांै भगवान् परीक्षा, दुर्गे देऊ भक्ति मलाई आदि दर्जनौं भजन पनि कालजयी छन्। जिब्रोमा क्यान्सर भएको थाहा पाउँदा आचार्य रेडियो नेपालमा जागिरे थिए। यसरी स्वरमा समस्या देखिएपछि उनको गायन यात्रा टुंगिएको थियो।
- दसैंलगत्तै घरमा लडेपछि आचार्यको टाउकोमा चोट लागेको थियो। त्यसपछि उहाँ थलिनुभएको हो।
- उपाधि र सम्मानले मात्र भक्तराजका सिर्जनाहरूको सम्मान हुँदैन, उनको प्रतिभाको अझै उच्च मूल्यांकन सरकारबाट हुनुपर्छ।
आफ्नो आवाजमा अब गीत रेकर्ड गर्न नसक्ने अवस्था भएपछि भक्तराजले दुई सन्तान सत्य र स्वरूप आचार्यलाई हस्तान्तरण गरी गायन यात्राको थालनी गरिदिएका थिए। सन्तानद्वयले यसबीच आफूलाई सुगम संगीतका हस्तीका रूपमा उभ्याइसकेका छन्। उनले गाएको गीत ‘जीवन भनूँ त घात छ, मृत्यु भनूँ त सास छ। दोधारमा बाँचूँ कति हरगीतमा चित्कार छ’ जस्तै भयो भक्तराजको जिन्दगी पनि। उनलाई जीवनले पछिल्ला ३० वर्ष घात गर्यो अनि त्यसपछिको जीवन दोधारमै बित्यो मौन चित्कारमा।
भक्तराजले गाएको सबै बेहोसी नशा पिएर बोलको गीत लेख्ने रवि प्राञ्जल पहिलोपटक उनै गायकलाई भेट्न निवास पुग्दा उनलाई लागेको थियो, ‘वाह ! क्या जुहारी खुलेको स्वर ! मूलाधारदेखि प्रवाहित स्वरको चमत्कार सुन्दा लाग्यो, घरभित्र षडज साधना चलिरहेछ।’ उनका अनुसार नाभीदेखि प्रवाहित वजनदार र सुरिलो स्वरका धनी भक्तराजको लोकप्रियतादेखि आत्तिएको एउटा गिरोह रेडियो नेपालमा सधैं निरुत्साहित तुल्याउने दुष्प्रयासमा लागिरहेको हुन्थ्यो। ‘उपाधि र सम्मानले मात्र भक्तराजका सिर्जनाहरूको सम्मान हुँदैन, उनको प्रतिभाको अझै उच्च मूल्यांकन सरकारबाट हुनुपर्छ’, उनले भने, ‘जीवनपर्यन्त संगीतमै समर्पित स्रष्टा हुन् उनी। उनलाई जीवन्त बनाइराख्ने अवस्था पनि सरकारले बनाउनुपर्छ।’