अन्तरविद्यालय महिला क्रिकेटको उपाधि सरस्वतीलाई

विराटनगर : विराटनगरमा सम्पन्न दोस्रो संस्करणको विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालयले जितेको छ।
सरस्वती साविक उपविजेता टिम हो। विराटनगर महानगरपालिका–६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा सरस्वतीले आदर्श बालिका माध्यमिक विद्यालयलाई ७४ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाइ १ सय ४३ रनको योगफल बनाएको थियो।
सरस्वतीकी प्लेयर अफ दी फाइनल प्रेरणा पासवान एक्लैले ७२ रन र कृतिसा धामीले १७ रनको योगदान दिएका थिए। आदर्श बालिकाकी कञ्चन राय, सीमा राय र सिम्रिका राजवंशीले समान १–१ विकेट लिए। १ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको आदर्श बालिका १५ दशमलव २ बलमा सबै विकेट गुमाएर ६९ रनमा सीमित भयो।
आदर्श बालिकाका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । सरस्वतीकी कृतिसा धामीले ४ विकेट लिँदा पूर्णिमा राजवंशी र अञ्जली मण्डलले १–१ विकेट लिएका थिए। प्रतियोगितामा सरस्वतीकी कृतिसा धामी प्लेयर अफ दी सिरिज, आदर्श बालिकाकी सकुन्तला सहनी उत्कृष्ट ब्याटर र सरस्वतीकी चाँदनी यादव उत्कृष्ट बलर घोषित भएका छन्।
क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा नेपाल क्रिकेट फाउण्डेशनले यही फागुन १७ गतेदेखि आयोजना गरेको प्रतियोगितामा विराटनगरका ६ वटा सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए। प्रतियोगितामा सरस्वती, आदर्श बालिका, महेन्द्र, आदर्श, सत्यनारयण र मिल्स माविका महिला खेलाडीहरुले भाग लिएका हुन्।
विजेता खेलाडीलाई विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठलगायतले पुरस्कार र ट्रफी वितरण गरे। प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गरिने फाउण्डेशनका अध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार प्रतियोगिताबाट छनोट गरिने १४ जना उत्कृष्ट खेलाडीले सप्तरीको राजविराजमा आगामी चैतमा हुने टी–२० क्रिकेट प्रतियोगितामा खेल्न पाउने छन्।
प्रतिक्रिया दिनुहोस !
