इतिहास

‘मासिन्या’ जातिबाट सुनुवारलाई उन्मुक्ति

इतिहास

‘मासिन्या’ जातिबाट सुनुवारलाई उन्मुक्ति

जातीय विविधताले भरिपूर्ण नेपालमा आदिवासी जनजाति अनुसूचीमा सूचीकृत सुनुवारहरु सुनकोशी, तामाकोशी, लिखु नदीको आसपासमा आवाद छन्। दोलखा, रामेछाप र ओखलढुङ्गा उनीहरुको मूल आवाद क्षेत्र हुन्। किरात समुदायअन्तरगत पर्ने सुनुवारहरु आफूलाई ‘कोँइच’ भन्छन्। सुनुवारहरु आवाद रहेको ठाउँ वल्लो किरातको नामले प्रशिद्ध छ।

सुनुवारहरुको मौलिक मातृभाषा छ। उनीहरुको मातृभाषा भोट बर्मेली भाषिक परिवार अन्तरगत पर्छ। भाषा मात्रै होइन, उनीहरुको मौलिक लिपी पनि छ। उनीहरु आफ्नो लिपीलाई ‘कोँइच ब्रेस’ भन्छन्। यो लिपीको प्रचारक सुनुवार जातिका अगुवा कर्णबहादुर सुनुवार हुन्। कर्णबहादुरका अनुसार यो लिपि पूर्व २ नम्बरको सुरीखारीमा छालामा खोदिएको अवस्थामा पाइएको थियो। कतिपय मक्किइसकेका थिए। यसलाई अगुवा हेमकर्ण सुनुवारले फेरि छालामा नै पुन :   लिपिवद्ध गरी प्रचारमा ल्याए। यो लिपिका बारेमा सन् १९४३ मा केही स्थानहरुमा र त्यसको चार वर्षपछि ताप्लेजुङको दोखु काउले गाउँमा छलफल चलाइएको थियो (कविताराम, ‘मधुपर्क’ वर्ष १३ अङ्क ७–मङसिर २०३७ :  ६३–६४)।

सुनुवारहरु प्रकृति पूजक हुन्। उनीहरुले उधौली र उभौली चाड ‘फोल स्यादर’ नामले उत्सवमय रुपमा मनाउने गरेका छन्।

खम्बूहरुलाई राई र लिम्बूहरुलाई सुब्बा पद दिइएजस्तै सुनुवारहरुलाई आफू आवाद रहेका क्षेत्रमा मुखिया पद दिइएको थियो। सुनुवारहरुले आफूलाई पक्का किरात समुदायको एक हाँगाका रुपमा परिचित गराउँदै ल्याएका छन्। तर नेपाली मानवशास्त्रका पिता डोरबहादुर विष्टले भने आफ्नो पुस्तक ‘सबै जातको फूलबारी’ (२०७४ :  ४८)मा सुनुवारहरुलाई मगरहरुको एक हाँगो भन्ने पनि कतै कतै विश्वास गरिन्छ भन्ने उल्लेख गरेका छन्। विष्टले यस्तो उल्लेख गरे पनि सुनुवारहरु जातीय, धार्मिक र सांस्कृतिक पहिचान र विहेवारीका दृष्टिकोणले मगरहरुसँग नभई राई, लिम्बू र याक्खाहरुसँग निकट देखिन्छ। विष्टले कुन आधारमा सुनुवारहरुलाई मगरको एक हाँगो देखे, यसलाई पुष्टि गर्ने कुनै तथ्य उनको पुस्तकमा भेटिँदैन।

सुनुवारहरु प्रकृति पूजक हुन्। उनीहरुले उधौली र उभौली चाड ‘फोल स्यादर’ नामले उत्सवमय रुपमा मनाउने गरेका छन्। तर इतिहास शिरोमणि बाबुराम आचार्यले भने आफ्नो पुस्तक ‘प्राचीनकालको नेपाल’ (२०६० :  ३६) मा सुनुवारहरु हिन्दु र बौद्ध धर्म मान्ने गरी दुई धार्मिक समूहमा विभाजित भएको भनी अचम्मको धारणा व्यक्त गरेका छन्। आचार्यले ‘दश थरे’ सुनुवारले बौद्ध धर्म र ‘बाह्र थरे’ सुनुवारले सनातनी हिन्दु धर्म ग्रहण गरेको उल्लेख गरेका छन्। अझ जिरीखोलाका जिरेल र सुरीखोलाका सुरेलहरु दश थरे सुनुवार रुपमा प्रशिद्ध रहेको उल्लेख गरेर थप आश्चर्यचकित बनाएका छन्। जिरेल र सुरेलको सुनुवारभन्दा भिन्न आ–आफ्नै जातीय पहिचान रहेको छ।

राज्यले समुदायका तालुकदार किपटिया मुखिया आदिमार्फत् सनातनी हिन्दु धर्मलाई व्यापक बनाउँदा सुनुवारहरुमध्ये कतिपयले मौलिक संस्कार छाडी हिन्दु धर्म अनुशरण गरेको भने पाइन्छ। तर उनीहरुले बौद्ध धर्म अवलम्बन गरेको भने हालसम्म कतै पाइएको छैन। सुनुवारबारे यस्तो लेख्दा आचार्यले आफ्नो पुस्तकमा कुनै सन्दर्भ ग्रन्थ उल्लेख गरेका छैनन्। तर यस्तो लेख्दा आजभन्दा १०८ वर्षअघि इडेन भ्यान्सिटार्टले लेखेको ‘द गुर्खाज’ (सन् १९१५ :  १३६–३९) पढेर यसैको आधारमा उनले यस्तो लेखेका हुन् भन्न सकिन्छ।  

उत्पत्तिसम्बन्धी किम्वदन्ती

सुनुवारहरुमा प्रचलित किम्वदन्तीअनुसार तिमिरिजोङ नामको पहाडबाट फिरन्ताको रुपमा हिँड्दै सिमाङगढ (सिम्रौनगढ) आइपुगेको र त्यहाँबाट सुनकोशी नदीतिर बढेको एक समूह नै सुनुवारहरु हुन्। यस किम्वदन्तीअनुसार तिमिरिजोङबाट हिँडेको मानिसको एक समूह पाइतिप नामको पहाडमा बसाई सर्न पुग्दा एक हाँगोले हिमालपारीको जाउजिल पहाडमा बस्ती बसाए। त्यहाँबाट खायरपास हुँदै उनीहरु थारमालु–थारसिलु नामको ठाउँमा आइपुगे। त्यहाँबाट एक समूह यारमालु (सिम्रौनगढ) नामको मैदानी भागमा आइपुगे। यस ठाउँमा गढी बनाएर राज्य चलाइरहेका बेला त्यहाँ ठूलो आगलागी र महामारीले उनीहरुलाई दु :  ख दियो। त्यहाँबाट एक समूह पूर्वतिर लाग्यो।

यो समूह सिलुखुलु, हालकावु, फालेखाम (हालको बराहक्षेत्र त्रिवेणी) आई बस्दा जुमु नामका उनीहरुका अगुवा त्यहाँ एक प्रतापी राजाका रुपमा स्थापित भए। उनका १० भाई छोरामध्ये जेठो माप्य होपो सुनकोशी हुँदै उत्तर भोटतिर पसे। माहिलो सोकरे पूर्वतिर लागेर लिम्बू भए। अन्य छोरामध्ये खिंचि, पाई र दुङ सुनकोशीको तिरैतिर पश्चिमोत्तर लागे। खिंचिले लिखु नदीको किनारमा बस्ती बसाले। उनै खिंचिका सन्तान नै कोइँच सुनुवार हुन्। उनीहरुका दाजुभाईमध्ये कोही वाहिङ राई भए, कोही हायु भए।

सुनुवारहरुलाई सैन्य सेवामा लिन थालिएपछि भाउजु विराउ गरेवापत उनीहरुले ज्यान सजाय पाउने पुरानो व्यवस्थामा विचार पुर्‍याई संशोधन गरी उनीहरुलाई त्यस्तो अपराध वापत लिङ्ग काट्ने मात्र सजाय तोकिएको बुझ्न सकिन्छ।

भ्यान्सिटार्ट (सन् १९१५ :  १३६)ले सुनुवारहरुको प्रारम्भिक थलो तिब्बत भएको र त्यहाँबाट उनीहरु गङ्गाको मैदान हुँदै सिम्रौनगढ आइपुगेको उल्लेख गरेका छन्। त्यसपछि उनीहरु उत्तरतिर लागेर सुनकोशी नदीको दायाँ र बायाँ किनारमा आवाद भएका भ्यान्सिटार्टको धारणा रहेको छ।    

भाउजु व्यहोरे मृत्यूदण्ड

सुनुवारहरु अहिले पनि सिमान्तकृत अवस्थामा छन्। कुनै बेला उनीहरुलाई गल्ती कमि कमजोरी गरे ज्यान सजाय दिइन्थ्यो। राजा राजेन्द्रविक्रम शाहले वि.सं. १८९३ साल असार सुदी ७ रोज ४ मा एक रुक्का जारी गरी ‘भाउजु विराउ’ गर्दा कुन जातिका मानिसलाई कस्तो सजाय गर्ने भन्ने बारेमा स्पष्ट आदेश दिएका थिए।

nullवि.सं. १९०३ जेठ वदी ११ मा राजेन्द्रविक्रम शाहले भाउजु विराउ गर्दा गरिने सजायका बारेमा जारी गरेको रुक्का।  तस्बिर स्रोत :  भगिराज इङ्नाम

त्यसबेला जङ्गली मूलुक भएको भन्दै विधवा भाउजुसँग करणी वा विवाह गर्ने अधिकार जुम्ली, लिम्बू, किराती (राई) र लेप्चाहरुलाई मात्र दिइएको थियो। त्यो बेला भाउजु विराउ गरे सुनुवारहरुले ज्यान सजाय पाउने व्यवस्था गरिएको थियो। 

महेश सी. रेग्मीले ‘रेग्मी रिसर्च सेरिज’–वर्ष ३ अङ्क १ (सन् १९७१ डिसेम्बर :  १–२)मा प्रकाशित गरेको यो रुक्कामा लिम्बू, किराती (खम्बु राई), जुम्ली र लेप्चाबाहेक जानी जानी भाउजु विराउ (करणी वा विहे) गरेको अपराधमा दिइने दण्ड सजायबारेमा उल्लेख छ। दण्ड सजायको प्रकृति पनि जातअनुसार बेग्लाबेग्लै किसिमको छ। यसअनुसार मगर, गुरुङ, नेवारलाई भाउजुसँग करणी वा विहे गरे उनीहरुको लिङ्ग काटिन्थ्यो। तर वलामी, माझी, दनुवार, सुनुवार, मुर्मी, भोटे, चेपाङ, पहरी, वाराही, कुम्हाल, वरामुलाई भने यस्तो अपराधमा ज्यान सजाय हुन्थ्यो। बाहुनलाई जातपतित गर्ने, क्षेत्री, ठकुरीको लिङ्ग काट्ने र दलितहरुलाई ज्यानकै सजायको व्यवस्था भएको रुक्कामा उल्लेख छ।

सुनुवारलाई ज्यान सजायबाट मुक्ति 

भाउजु विराउसम्बन्धी यस्तो सजायको व्यवस्थामा केही सुधार गरी राजा राजेन्द्रविक्रम शाहकै समयमा वि.सं. १९०३ जेठ वदी ११ रोज ६ मा अर्को रुक्का जारी गरियो। १० वर्षअघि जारी गरिएको रुक्कामा केही संशोधन गरी जारी गरिएको यो रुक्कामा सुनुवारहरुले भाउजु विराउ गर्दा जुन प्रकारले ज्यानको सजाय पाउथे, त्यसबाट उनीहरुले उन्मुक्ति पाएका छन्। इतिहासकार भगिराज इङ्नामले आफ्नो पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ (२०७७ :  २०२–५) मा यो रुक्का प्रकाशमा ल्याएका छन्।

रुक्कामा ‘भाउजु विराउ गर्ने षस मगर सिपाहि सरहका भाट् गुरुँ घले सुनुवार इ ६ जातलाई लिंग काटनु’ भन्ने व्यवस्था गरिएको छ। यो रुक्कामा ‘वलामि माझी दनुवार मुर्मि भोट्या चेपां पहरि दरै कुमाल वरामु हायु रोहानीपुन् प्रजा जात गैह्रलाई मास्नु’ भन्ने व्यवस्था गरिएको छ। 

यस रुक्काबाट सुनुवारहरुलाई सैन्य सेवामा लिन थालिएपछि भाउजु विराउ गरेवापत उनीहरुले ज्यान सजाय पाउने पुरानो व्यवस्थामा विचार पुर्‍याई संशोधन गरी उनीहरुलाई त्यस्तो अपराध वापत लिङ्ग काट्ने मात्र सजाय तोकिएको बुझ्न सकिन्छ।

यसैगरी रुक्कामा ‘भाउजु विराउ गर्ने षस मगर सिपाहि सरहका भाट् गुरुँ घले सुनुवार इ जातलाई हाडमा ५ पुस्तासम्मका भाउज्यूको करनि गन्र्यालाई सर्वस्व लिनु’ भन्ने व्यवस्था गरिएको छ। यसबाट सुनुवारहरुलाई वि.सं. १९०३ जेठ महिनाबाट मासिने जातिबाट उन्मुक्ति दिएर नमासिने जातिका रुपमा राज्यले ग्रहण गरेको देखिन्छ। 

वि.सं. १८९३ र वि.सं. १९०३ मा राजा राजेन्द्रविक्रम शाहले जारी गरेको रुक्कालाई नेपालमा मासिने मतुवाली र नमासिने मतुवालीका रुपमा समुदायलाई वर्गीकरण गर्ने अभ्यासको आधारको रुपमा लिन सकिन्छ। मूलुकी ऐनमा राखिएका मासिने र नमासिने मतुवालीको जातिगत सूची हेर्दा पनि यसबारे स्पष्ट हुन सकिन्छ। 

जङ्गबहादुर राणाले वि.सं. १९१० मा ल्याएको मूलुकी ऐनले हाल : आदिवासी जनजातिका रुपमा सूचिकृत जातिलाई ‘मासिन्या मतुवाली’ र ‘नमासिन्या मतुवाली’का रुपमा विभक्त गरेको छ। यस ऐनले ‘मासिन्या ज्यू अमालिले लिन्याको’ महलमा ‘भोट्या चेपाङ माझि दनुवार हायु दरै कुमाल पहरि गैह्र मासिन्या जात’ भन्ने उल्लेख भएकोले यी जातिलाई मासिने जातिमा राखिएको स्पष्ट हुन्छ। यस सूचीमा सुनुवारलाई राखिएको छैन।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.