दुर्व्यवहारले वृद्धवृद्धाको दुर्दशा

अग्रमत

दुर्व्यवहारले वृद्धवृद्धाको दुर्दशा
सन्दर्भ : ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्ध विश्व चेतना दिवस
सुन्नुहोस्

आमाबुबाको काँप्ने ओठबाट निस्कने आशीर्वाद नै संसारको सबैभन्दा ठूलो सम्पत्ति हो। यत्ति बुझे जीवन सार्थक बन्छ।

जीवन एउटा नदी हो, जो अनेकौं घुम्ती पार गर्दै अन्त्यमा शान्त सागरतर्फ बग्छ। यो सृष्टिको अकाट्य नियम हो। गालाका मुजा र आँखामुनिका काला धर्साहरूमा परिणत हुनु वृद्धावस्थाको संकेत हो। उनै ज्येष्ठ नागरिकहरू हाम्रा इतिहासका जीवित पाना हुन्, अनुभवका जिउँदा संग्रहालय हुन्। तर, आज आधुनिकताको दौडमा लुरुलुरु हिँडिरहेको हाम्रो समाजले तिनै इतिहासका पानाहरूलाई च्यात्न खोज्दै छ। संयुक्त राष्ट्रसंघले सन् २०२१ मा ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारलाई परिभाषित गर्दै भनेको छ– ‘कुनै पनि यस्तो सम्बन्ध, जहाँ विश्वासको अपेक्षा गरिएको हुन्छ, त्यहाँ ज्येष्ठ नागरिकलाई हानि वा मानसिक तनाव पुर्‍याउने गरी गरिने एकल वा पटक–पटकको कार्य वा उपयुक्त कदमको अभाव नै ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार हो।’ यो केवल एउटा कानुनी परिभाषामात्र होइन, बरु विश्वभरिका लाखौं ज्येष्ठ नागरिकको आँसुले भिजेको नमीठो यथार्थ हो।

हिजो जसको औंला समातेर हामीले हिँड्न सिक्यौं, आज तिनै औंलाहरू काँप्दा तिनलाई सहारा दिनुको साटो झिँजो मान्न थालेका छौं। जुन घरको जग बसाल्न उनीहरूले आफ्नो सिंगो जवानी र पसिना बगाए, आज त्यही घरको एउटा चिसो कुना उनीहरूका लागि बिरानो बन्दै गएको छ। आफ्नै सन्तान र विश्वासपात्रहरूबाट पटक–पटक अपमानित हुनु, गाँस र बासका लागि समेत याचना गर्नुपर्ने अवस्था आउनु नै ज्येष्ठ नागरिक दुर्व्यवहारको पराकाष्ठा हो। यो आज कुनै एउटा परिवार वा गाउँको मात्र समस्या रहेन, बरु सिंगो विश्वकै स्वास्थ्य र मानव अधिकारलाई चुनौती दिने भयानक सामाजिक रोग बनिसकेको छ।

  • समयमै चेतौं। कानुनका पानाहरूलाई मात्र बलियो बनाएर पुग्दैन, मनका भावनाहरूलाई पनि उति नै संवेदनशील बनाउनुपर्छ।
  • ज्येष्ठ नागरिकको ओइलिएको जीवनको साँझलाई अपमानको अँध्यारोले होइन, बरु आदर, प्रेम र ओतको उज्यालोले भर्नु नै आजको पुस्ताको साँचो धर्म हो।
  • चौतारीका यी देवतातुल्य रूपहरूलाई आश्रमको चिसो कुनामा होइन, घरको न्यानो मन्दिरमा सजाऔं।

मनका अदृश्य घाउहरू : ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार सधैं देखिने गरी हुँदैन। कहिलेकाहीँ लौरीले हिर्काएका नीलडामहरूभन्दा शब्दले दिएका खतहरू धेरै गहिरा हुन्छन्। सन् २००६ देखि नै ‘इन्टरनेसनल नेटवर्क फर द प्रिभेन्सन अफ एल्डर एब्युज’ले यसविरुद्ध आवाज उठाउँदै हरेक वर्षको जुन १५ लाई ‘ज्येष्ठ नागरिक माथिहुने दुव्र्यवहारविरुद्ध विश्व चेतना दिवस’को रूपमा मनाउन सुरु गर्‍यो। नेपालले तय गरेको राष्ट्रिय नारा ‘दुव्र्यवहार विरुद्ध सचेतनाको अभिवृद्धि : ज्येष्ठ नागरिकका लागि खुसी र समृद्धि’ रहेको छ।

आईएनपीईए नामक संस्थाले संयुक्त राष्ट्रसंघलाई पटक–पटक घच्घच्याएपछि अन्तत: डिसेम्बर २०११ को महासभाले (प्रस्ताव नं. ६६/१२७) द्वारा पारित गरी यस दिवसलाई औपचारिकता प्रदान गरेको थियो  अध्ययनहरूका अनुसार करिब ९५.५५ प्रतिशत ज्येष्ठ नागरिकहरू आफूमाथि हुने दुर्व्यवहारबारे जानकार छन्। तीमध्ये सबैभन्दा बढी ८६ प्रतिशतले अपहेलना र बेवास्ताको सामना गर्नुपरेको छ भने ७५ प्रतिशतले अनादर भोगिरहेका छन्। गालीगलौज सहनेहरू ७० प्रतिशत छन् भने ५४ प्रतिशत शारीरिक यातनाको सिकार भइरहेका छन्। त्यतिमात्र होइन, २० प्रतिशत आर्थिक शोषण र १३ प्रतिशत आवेगपूर्ण वा भावनात्मक दुव्र्यवहारबाट छट्पटाइरहेका छन्। यी अंक केवल गणितीय तथ्यांक होइनन्, यी त हाम्रा घरघरमा रोइरहेका आमाबुबाहरूको सुस्केरा हुन्।

आधुनिकताको सस्तो मूल्य : परिवर्तित समयसँगै हामी भौतिक रूपमा जति धनी हुँदै छौं, सांस्कृतिक र आध्यात्मिक रूपमा उति नै कंगाल बन्दै गएका छौं। ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार मुख्य रूपमा छ भागमा बाँडिएको पाइन्छ। पहिलो हो, शारीरिक दुव्र्यवहार, जसमा कुटपिट गर्ने, घचेट्ने मात्र होइन, उनीहरूलाई कोठामा थुनेर राख्ने वा जथाभाबी औषधि ख्वाएर बेहोस बनाउनेसम्मका अमानवीय कार्यहरू पर्छन्। दोस्रो, भावनात्मक दुव्र्यवहार हो, जहाँ हेरचाह गर्नेले नै उनीहरूलाई धम्काउने, होच्याउने र मानसिक रूपमा दास बनाउने गर्छन्। तेस्रो स्वरूप अझ बीभत्स छ– यौन दुव्र्यवहार, जसका लक्षणहरू उनीहरूको शरीरका भित्री लुगामा लाग्ने दाग वा रगतका टाटा र गुप्त अंगहरूमा लाग्ने तर बुझाउन नसकिने चोटहरूबाट प्रस्ट हुन्छ।

यसको अर्को पाटो भनेको हेरचाहकर्ता वा स्वयं आफैंबाट हुने बेवास्ता हो। अचानक ज्येष्ठ नागरिकको तौल घट्नु, शरीरमा पानीको कमी हुनु, ओछ्यानमा परेका घाउहरूको उपचार नगराइनु, मैला लुगा र फोहोर ओछ्यानमा राखिनु यसका उदाहरण हुन्। जाडोमा पातलो कपडा र गर्मीमा बाक्लो कपडा पहिर्‍याइनु वा कतिपय अवस्थामा त उनीहरूलाई सार्वजनिक स्थलमै एक्लै अलपत्र छाडिदिनु आजको क्रूर यथार्थ हो। पाँचौं स्वरूप आर्थिक शोषण हो। बुढेसकालको सहारा भन्दै इच्छापत्र बदल्न दबाब दिने, सम्पत्ति र जायजेथाका कागजातहरू शंकास्पद रूपमा आफ्नो नाममा गराउने, उनीहरूको खाताबाट पैसा चोर्ने र हस्ताक्षर कीर्ते गर्ने काम आफ्नै सन्तानहरूबाट भइरहेका छन्। छैटौं भनेको स्वास्थ्य सेवासम्बन्धी भ्रष्टाचार हो, जहाँ एउटै उपचारको दुईवटा बिल बनाइन्छ वा आवश्यकभन्दा बढी वा कम औषधि दिएर उनीहरूको जीवनमाथि खेलबाड गरिन्छ।

कानुनका निरस पानाहरू : कुनै समय बाटोघाटो वा मेलापातमा भेटिने ज्येष्ठ नागरिकहरू सबैसँग मुस्कुराएर भलाकुसारी गर्थे। तर आज, कतिपय ज्येष्ठ नागरिकहरू बाटोमा भेटिँदा चिन्नै नचाहेजस्तो गर्छन्। उनीहरूको पाखुराको चोटबारे सोध्दा ‘लडेर लागेको’ भन्दै अनेक बहाना बनाएर आँसु लुकाउँदै घरतिर लाग्छन्। किनकि, उनीहरूलाई डर छ– यदि सत्य कुरा ओकलियो भने घर पुगेपछि फेरि सन्तानको कडा प्रहार सहनुपर्नेछ। संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान की मुनले भनेका थिए– ‘ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारको अपराध प्राय: घरभित्रै घटित हुन्छ। यस विषयमा प्रभावकारी र सार्वजनिक प्रतिक्रिया दिनु आवश्यक छ। यो समस्या अन्त्य गर्न हाम्रा संकल्पहरू बलियो बनाई, सबैका लागि सम्मानपूर्ण जीवनको सिर्जना गरौं।’

नेपालको सन्दर्भमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकका लागि दुई वटा सिट आरक्षण र भाडामा ५० प्रतिशत छुटको व्यवस्था त गरेको छ, तर यो व्यवस्था लगभग कागजमै सीमित छ। कतिपय सार्वजनिक यातायातका चालक र सहचालकहरूले ज्येष्ठ नागरिकलाई गाडीमा चढाउनै मान्दैनन्, चढाए पनि अपमानजनक शब्दहरू प्रहार गर्छन्। नेपालको संविधानको धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हक त दियो, तर नीतिगत तह र व्यावहारिक धरातलबीचको खाडल अझै पुरिन सकेको छैन।

ओत खोज्दै चौतारीमा : घरभित्रका यी क्रूर कथाहरू विरलैमात्र बाहिर आउँछन्। पारिवारिक इज्जत जाने डर, समाजले के भन्ला भन्ने त्रास र जसको विरुद्ध उजुरी गरिँदै छ, उसैले थाहा पाएपछि अझ बढी दु:ख दिनेछ भन्ने भयले गर्दा धेरैजसो ज्येष्ठ नागरिक मौनताको सिरक ओढेर आँसु निलिरहेका छन्। वृद्धावस्थामा मानिस शारीरिक रूपमा कमजोर हुन्छ, कसैले हेप्यो भने सामना गर्ने तागत हुँदैन, आँखा तिर्मिराउँछन् र सोच्ने शक्ति क्षीण हुन्छ। यही कमजोरीको फाइदा गलत नियत भएका मानिसहरूले उठाइरहेका छन्। 

अब राज्यले यस विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नैपर्छ। पहिलो त, यातायातमा भएको छुट र आरक्षणको व्यवस्थालाई कडाइका साथ अनुगमन गर्नुपर्छ। दोस्रो, नयाँ बन्ने ऐन–नियमहरूमा ज्येष्ठ नागरिकमाथि दुव्र्यवहार गर्ने व्यक्ति वा निकायलाई कडा सजायको भागीदार बनाइनुपर्छ। तेस्रो, आर्थिक शोषणबाट बचाउन ज्येष्ठ नागरिकले आर्जेको सम्पत्तिमा उनीहरूको पूर्ण अधिकार र इच्छापत्रको बलियो व्यवस्था हुनुपर्छ। साथै, छोराछोरीको आर्थिक हैसियतअनुसार आफ्ना आमाबुबाको अनिवार्य रूपमा हेरविचार गर्नुपर्ने कानुनी व्यवस्था ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को पहिलो संशोधन २०७९ ले पूर्ण जिम्मेवार बनाएको छ तर यसको प्रयोगबाट हामिले कति लाभ लिन सक्यौं त्यो अनुसन्धानको बिषय भएको छ। चौथो, उनीहरूका आकस्मिक समस्या समाधानका लागि देशव्यापी ‘ज्येष्ठ नागरिक हेल्पलाइन’ स्थापना गर्न ढिला भइसकेको छ।

भत्किएको आस्थाको धरहरा : हाम्रो परम्परागत संस्कारले भन्छ– ‘मातृदेवो भव, पितृदेवो भव’। तर आज यो मन्त्र केवल वृद्धवृद्धा सम्मान दिवसका दिन भाषणमा मात्र सुनिन्छ। समुदाय स्तरमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको समन्वयमा, ज्येष्ठ नागरिक प्रदेश संघ, ज्येष्ठ नागरिक जिल्ला संघ र प्रहरीको समन्वयमा टोलटोलमा रहेका ज्येष्ठ नागरिकहरूको लगत संकलन गरिनुपर्छ। दुव्र्यवहारमा परेकाहरूलाई उद्धार र पुनस्र्थापना गर्नका लागि प्रहरी संयन्त्रभित्र अनिवार्य रूपमा ‘ज्येष्ठ नागरिक प्रहरी सेल’को स्थापना गर्नुपर्छ। साथै, सञ्चार माध्यमहरूले रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमार्फत विभिन्न भाषामा चेतनामूलक सन्देशहरू निरन्तर प्रवाह गर्नुपर्छ।

अर्कोतर्फ, ज्येष्ठ नागरिक स्वयं पनि सजग हुन जरुरी छ। आफ्ना आर्थिक र कानुनी व्यवहारहरू पारदर्शी राख्ने, समस्या पर्दा कानुनी सहयोग लिने र आफ्ना विश्वासिला मित्र वा आफन्तहरूलाई अवस्थाबारे जानकारी गराइरहने बानी बसाल्नुपर्छ। आफूमाथि दुव्र्यवहार भइरहेको छ भने त्यसलाई लुकाउनुको साटो तुरुन्त सम्बन्धित निकायमा खबर गर्नुपर्छ। ‘मेरो संसार... तिम्रो संसार... हाम्रो संसार... दुर्व्यवहारमुक्त संसार’ भन्ने संयुक्त राष्ट्रसंघको नारालाई सार्थक बनाउन हरेक नागरिकले आफ्नो घरबाटै अभियान सुरु गर्नुपर्छ।

निष्कर्ष : बूढो रुख ढलेपछि सिंगो चौतारी नै उज्यालो र छहारीविहीन बन्छ। ज्येष्ठ नागरिकहरू हाम्रा समाजका ती बूढा रुखहरू हुन्, जसले आफू घाममा डढेर पनि हामीलाई संस्कार र पहिचानको शीतल छहारी दिए, दिइरहेकै छन्। उनीहरूमाथि गरिने दुर्व्यवहार केवल व्यक्तिमाथिको अन्याय होइन, बरु हाम्रै भविष्यमाथिको प्रहार हो। किनकि आजका तन्नेरीहरू भोलिका वृद्धवृद्धा हुन्। त्यसैले, समयमै चेतौं। कानुनका पानाहरूलाई मात्र बलियो बनाएर पुग्दैन, मनका भावनाहरूलाई पनि उति नै संवेदनशील बनाउनुपर्छ। आमाबुबाको काँप्ने ओठबाट निस्कने आशीर्वाद नै संसारको सबैभन्दा ठूलो सम्पत्ति हो। उनीहरूको ओइलिएको जीवनको साँझलाई अपमानको अँध्यारोले होइन, बरु आदर, प्रेम र ओतको उज्यालोले भर्नु नै आजको पुस्ताको साँचो धर्म हो। चौतारीका यी देवतातुल्य रूपहरूलाई आश्रमको चिसो कुनामा होइन, घरको न्यानो मन्दिरमा सजाऔं।

प्रधान, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका संस्थापक एवं पूर्वअध्यक्ष हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.