जब मन अशान्त बन्छ... !
मानिसको अस्तित्व मुख्यतः तीनवटा अभिन्न तहमा निर्माण भएको हुन्छ– मन, शरीर र ऊर्जा। यी तीनै तत्व एकापसमा परिपूरक र अन्तरसम्बन्धित छन्। जब मन अशान्त हुन्छ, त्यसको प्रत्यक्ष असर शरीरमा पर्छ र शरीर बिरामी हुन्छ। जब शरीर बिग्रिन्छ, मन पनि स्वाभाविक रूपमा असन्तुलित हुन पुग्छ। पूर्वीय दर्शन, आधुनिक मनोविज्ञान तथा होमियोप्याथिक चिकित्सा पद्धति– यी सबैले एउटै कुरालाई स्पष्ट रूपमा स्विकारेका छन् कि रोग बाहिरबाट होइन, बरु मानिसको भित्रैबाट जन्मिन्छ।
आजको आधुनिक वैज्ञानिक युगमा पनि एउटा परम सत्य क्रमशः प्रमाणित हुँदै गएको छ कि मानसिक तनाव, रोग प्रतिरोधात्मक क्षमता (प्रतिरक्षा प्रणाली) र शारीरिक रसायनबिचको गहिरो सम्बन्ध नै अधिकांश रोगहरूको मुख्य आधार हो। होमियोप्याथीले यही मन–प्रतिरक्षा–शरीरको त्रिकोणात्मक सम्बन्धलाई लक्षित गरेर उपचार गर्छ, जसलाई आधुनिक विज्ञानले पनि विस्तारै स्वीकार गर्न थालेको छ।
मनोवैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने कुनै पनि रोग शारीरिक रूपमा लक्षणका रूपमा देखा पर्नुभन्दा धेरै अगाडि मनमै जन्मिसकेको हुन्छ। जब व्यक्तिको मनमा निरन्तर तनाव, भय, अपराधबोध, आत्मग्लानि, असुरक्षा, रिस, द्वेष र निराशाजस्ता नकारात्मक भावनाहरू सञ्चित हुन थाल्छन्, तब शरीरले तिनलाई केवल मानसिक भावनाका रूपमा मात्र राख्दैन, बरु जैव–रासायनिक संकेतका रूपमा ग्रहण गर्छ। मन असन्तुलित हुँदा शरीरमा तीव्र परिवर्तनहरू आउँछन्।
तीव्र तनाव वा भयका कारण शरीरमा कोर्टिसोल र एड्रेनालिन जस्ता तनाव उत्पन्न गराउने हर्मोन तथा रसायनहरू अत्यधिक मात्रामा उत्पादन हुन थाल्छन्। यस्ता रसायनहरूले हाम्रो स्नायु प्रणालीलाई बिस्तारै कमजोर बनाउँदै लैजान्छन्। परिणामस्वरूप, शरीरको प्राकृतिक प्रतिरक्षा प्रणाली सुस्त हुन्छ, रोगसँग लड्ने क्षमता घट्दै जान्छ र कोषिकाहरूको स्वतः मर्मत हुने प्रक्रिया अवरुद्ध हुन पुग्छ। शरीरमा आवश्यक उपचारात्मक रसायनहरूको उत्पादन कम भई दीर्घकालीन सुजन बढ्छ, जसले अन्ततः जटिल र गम्भीर रोगहरूको बलियो आधार तयार गर्दछ। यसरी रोग सबैभन्दा पहिले मन र ऊर्जाको सूक्ष्म तहमा अंकुरित हुन्छ र धेरै समयपछि मात्र शरीरमा भौतिक लक्षणका रूपमा प्रकट हुन्छ।
हाम्रो प्रत्येक विचारले शरीरमा कुनै न कुनै जैव–रासायनिक प्रतिक्रिया उत्पन्न गर्छ भन्ने कुरा एउटा अकाट्य वैज्ञानिक सत्य हो। यसैकारण आधुनिक न्युरोविज्ञानले ‘विचार रसायन शारीरिक क्रिया स्वास्थ्य वा रोगको चक्र’लाई स्थापित गरेको छ। जब सकारात्मक विचार राख्छौं, तब मस्तिष्कमा सेरोटोनिन, डोपामिन र अक्सिटोसिनजस्ता ‘ह्याप्पी हर्मोन’हरूको मात्रा बढ्छ। यसले मनमा शान्ति, खुसी र सन्तुलन ल्याउनुका साथै शरीरको प्राकृतिक उपचार प्रक्रियालाई तीव्र रूपमा सक्रिय बनाउँछ।
यसको ठीक विपरीत, नकारात्मक विचारको बाहुल्य हुँदा शरीरमा कोर्टिसोल र अन्य हानिकारक रसायनहरू बढेर रक्तचाप वृद्धि हुने, पाचन प्रणाली बिग्रिने र प्रतिरक्षा शक्ति घट्ने गर्दछ। वास्तवमा, नकारात्मक सोचले शरीरभित्रै रोगको बिउ रोप्ने काम गरिरहेको हुन्छ। धेरै मानिसले होमियोप्याथीलाई केवल एउटा सामान्य वा हल्का चिकित्सा पद्धतिका रूपमा मात्र बुझ्ने गर्छन्, तर वास्तवमा यो मानव शरीरको गहिरो तहमा पुगेर काम गर्ने अत्यन्त वैज्ञानिक चिकित्सा प्रणाली हो। यसको मुख्य आधार नै व्यक्तिको सम्पूर्ण शारीरिक र मानसिक संरचना र प्रकृतिको अध्ययन गर्नु हो। होमियोप्याथीले व्यक्तिगत भिन्नतालाई पहिचान गरेर ओषधि चयन गर्छ। रोगको प्रारम्भिक अवस्थामा यसले निकै छिटो र प्रभावकारी सुधार ल्याउँछ।
जब रोग गहिरो रूपमा शारीरिक अंगहरूमा बसिसकेको हुँदैन, तब सही होमियोप्याथिक ओषधिले मनको असन्तुलनलाई घटाउँछ, स्नायु प्रणालीलाई सन्तुलित बनाउँछ र कोषिकीय मर्मत प्रक्रियालाई पुनः सुचारु गर्छ। यसैले गर्दा धेरै बिरामी ओषधिको एकै मात्रा लिएपछि पनि मन हल्का भएको, निद्रा राम्रो परेको र डर हराएको अनुभव सुनाउँछन्, जसलाई होमियोप्याथीको भाषामा ‘जीवन शक्ति प्रतिक्रिया’ भनिन्छ।
दीर्घकालीन तथा जटिल रोगहरू जस्तै स्व–प्रतिरक्षात्मक रोग, डिप्रेसन, क्यान्सर, मिर्गौला तथा कलेजोका समस्या र स्नायु क्षयसम्बन्धी रोगमा होमियोप्याथिक उपचारको प्रक्रिया क्रमिक र व्यवस्थित हुन्छ। यस्ता गम्भीर अवस्थाहरूमा सबैभन्दा पहिले शरीरलाई स्थिर बनाइन्छ र बाह्य लक्षणहरूलाई नियन्त्रणमा लिइन्छ। त्यसपछि बिस्तारै शरीरको स्वाभाविक आत्म–उपचार क्षमतालाई ब्युँझाइन्छ, जसले रोगको गतिलाई सुस्त बनाउन र बिरामीको जीवनको गुणस्तर सुधार गर्न मद्दत गर्दछ।
कतिपय पूर्ण रूपमा निको नहुने रोगहरूमा पनि होमियोप्याथीले पीडा कम गर्ने, मानसिक शान्ति प्रदान गर्ने र जीवनलाई सन्तुलित एवं सम्मानजनक बनाउने काम गर्छ। यस्तो अवस्थामा होमियोप्याथी, एलोप्याथी र अन्य सहयोगी उपचार पद्धतिबिचको समन्वयात्मक प्रयास अत्यन्तै फलदायी साबित हुन्छ। हालका आधुनिक वैज्ञानिक अनुसन्धानहरूले पनि देखाएका छन् कि होमियोप्याथिक ओषधिहरूले अति सूक्ष्म कणका रूपमा कार्य गर्दै स्नायु प्रणालीलाई सन्तुलित गर्ने, प्रतिरक्षा प्रणाली सुधार्ने, सुजन घटाउने र कोषिकीय स्तरमै सकारात्मक परिवर्तन ल्याउने आधार राख्छन्।
आधुनिक चिकित्सा विज्ञानले सामान्यतया जीवाणुहरूलाई रोगको मुख्य कारक मान्छ। तर वास्तविकता के हो भने, जीवाणुहरूले तब मात्र शरीरमा आक्रमण र विजय प्राप्त गर्न सक्छन्, जब शरीरको आन्तरिक वातावरण पहिल्यैदेखि बिग्रिएको हुन्छ। जब शरीर अत्यधिक अम्लीय अवस्थामा रहन्छ, तनाव हर्मोनको मात्रा उच्च हुन्छ र प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, तबमात्र रोगले सजिलै प्रश्रय पाउँछ। होमियोप्याथीले भने रोगको लक्षण दबाउने होइन, बरु शरीरको आन्तरिक अवस्थालाई सुधार्दै आत्म–उपचार शक्तिलाई बढाउँछ। वास्तवमा, मन शान्त भयो भने शरीर आफैं निको हुन थाल्छ र भावनाहरू सन्तुलित भए प्रतिरक्षा प्रणाली स्वतः बलियो बन्छ। जब शरीरको आन्तरिक वातावरण अनुकूल र सुदृढ हुन्छ, तब रोग त्यहाँ टिक्नै सक्दैन।
समाजमा मानसिक, शारीरिक र अटोइम्युन प्रकृतिका रोगहरू तीव्र रूपमा बढिरहेका छन्। यस्तो परिस्थितिमा होमियोप्याथीले मनलाई शान्त पार्ने, शरीरलाई प्राकृतिक सन्तुलनमा ल्याउने र ऊर्जा प्रणालीलाई सक्रिय बनाएर रोगको जरा भित्रैबाट उखेल्ने सामथ्र्य राख्छ। अन्ततः, साँचो र स्थायी उपचार सधैं भित्रबाटै सुरु हुन्छ। यदि हामीले आफ्नो मनलाई स्वस्थ, सकारात्मक र सन्तुलित राख्न सक्यौं भने हाम्रो शरीर आफैंमा एउटा उत्कृष्ट र अचुक उपचारकर्ता बन्न सक्छ।
(मिश्र, वरिष्ठ होमियोप्याथिक कन्सल्ट्यान्ट हुन्।)
प्रतिक्रिया दिनुहोस !