हत्यामा जन्मकैदको फैसला, प्रतिवादीहरू १६ वर्षपछि पक्राउ

हत्यामा जन्मकैदको फैसला, प्रतिवादीहरू १६ वर्षपछि पक्राउ
हत्याको १६ वर्षपछि पक्राउ परेकाहरू। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : मोरङमा १६ वर्षअघि भएको हत्याको घटनामा संलग्न प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। अदालतले यसअघि नै जन्मकैदको फैसला सुनाइसकेका ३ जना प्रतिवादी घटना गराएको १६ वर्षपछि पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ (साविकको रमिते गाविस–४) का ४८ वर्षीय जीतबहादुर राई, ४१ वर्षीय गंगा भनिने ज्ञानबहादुर राई र ४० वर्षीय लक्ष्मण राई रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले पक्राउ गरेको हो। 

गाउँघरमै लुकिछिपी बसिरहेका जीतबहादुर र ज्ञानबहादुरलाई सोमबार राति पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार लक्ष्मणलाई मंगलबार बिहान झापाको काँकडभिट्टाबाट पक्राउ गरिएको हो। ‘जीतबहादुर र ज्ञानबहादुर पक्राउ परेको जानकारी पाउनसाथ लक्ष्मण काँकडभिट्टा हुँदै भारततिर भाग्न खोजेका थिए,’ दाहाल भन्छन्, ‘तर, पक्राउ गर्न प्रहरी सफल भएपछि भारत पलायन हुने उनको योजना सफल भएन।’

पक्राउ परेकाहरूलाई प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा पेस गरेको छ। प्रहरीले पक्राउ गरेर बुझाएपछि ३ जनालाई नै कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए। सुवेदीका अनुसार अदालतबाट जन्मकैदको फैसला भएपनि सजाय भुक्तान नगरिकन उनीहरू भागिरहेका थिए। 

साविकको रमिते गाविस–४ मा २०६४ जेठ २० गते राति ३८ वर्षीय सन्तोष राईको हत्या भएको थियो। स्थानीय हर्कराज राईको घरपैँचोमा भेला हुने क्रममा भएको आपसी विवाद हत्यामा परिणत भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। लाट्ठी, भाटालगायतले प्रहार गरी सन्तोषको हत्या गरेर शवलाई केमुना भञ्ज्याङको जंगलमा खाल्डो खनेर गाडिएको थियो। 

खाल्डोमा पुरेको शव उत्खनन् गरेर प्रहरीले घटनाको अनुसन्धान अघि बढायो। घटनामा ११ जनालाई प्रतिवादी बनाएर अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो। जिल्ला अदालत मोरङले २०७७ साल फागुन १८ गते मुद्दाको फैसला गरेको हो। जिल्लाको फैसला उच्च अदालत विराटनगर र सर्वोच्च अदालतबाट पनि सदर भइसकेको छ। 

अदालतले मुद्दाको किनारा लगाउने क्रममा ११ जना प्रतिवादीमध्ये ५ जनालाई जन्मकैद, ३ जनालाई जनही ५ वर्ष कैद र ३ जनालाई सफाइ दिने फैसला गरेको थियो। जन्मकैदको फैसला सुनाइएकामध्ये ३ जना हाल परेकाहरू हुन्। १ जनाको मृत्यु भइसकेको र अर्का १ जना विदेशमा रहेको जानकारी प्रहरीले प्राप्त गरेको छ। 

जनही ५ वर्ष कैद सजाय सुनाइएकामध्ये २ जना गत मंसिरमा पक्राउ परेका थिए। इन्स्पेक्टर देवेन्द्र दास नेतृत्वकै टोलीले ५० वर्षीय धनकुमार राई र ७० वर्षीय देवीप्रसाद राईलाई पक्राउ गरेको थियो। धनकुमार मंसिर २ र देवीप्रसाद मंसिर ५ गते पक्राउ परेका थिए। दुवै जनालाई सजाय भुक्तानका लागि कारागार चलान गरिसकिएको छ। ५ वर्ष कैद सुनाइएका १ जना अझैसम्म फरार रहेकाले खोजी जारी राखिएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.