माओवादी नेता कालीबहादुर खामको मुद्दामा सक्कल मिसिल झिकाउन आदेश
चितवन : कोटेश्वरका ब्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका माओवादी केन्द्रका नेता एवं जनमुक्ति सेनाका पूर्व कमाण्डर कालीबहादुर खामको मुद्दामा चितवन जिल्ला अदालतले सक्कल मिसिल मगाएको छ।
सर्वोच्च अदालतमा रहेको मिसिलको सक्कल झिकाउन न्यायाधीश दयाराम ढकालले आदेश दिएका हुन्। सर्वोच्चबाट सक्कल मिसिल प्राप्त भएपछि खामलाई अदालतमा उपस्थित गराउन आदेश भएको श्रेष्तेदार विष्णुप्रसाद आचार्यले बताए।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खाम काठमाडौंको ठमेलबाट पक्राउ परेका थिए। उनलाई प्रहरीले मंगलबार राति चितवन ल्याएको हो। उनी १५ वर्षदेखि फरार थिए। प्रहरीले खामलाई बुधबार अदालतमा बुझाएको थियो। लामो समयदेखि मुल्तबीमा रहेको मुद्दा अगाडि बढेको छ। पूर्वीरुकुम तथा उत्तरगङ्गा गाउँपालिका-६ हुकाम घर भएका ५० वर्षीय खाम जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका पूर्वडिभिजन कमाण्डर हुन्।
श्रेष्ठको घरमा माओवादी लडाकुको तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो। उक्त कार्यालयमा चोरी गरेको आरोपमा श्रेष्ठलाई २०६५ वैशाख १५ मा ब्यापारी रामहरि श्रेष्ठलाई अपहरण गरेर चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको क्याम्पमा ल्याइएको थियो। त्यसैक्रममा कुटपिटबाट श्रेष्ठको मृत्यु भएको थियो। श्रेष्ठको शव वैशाख २८ विहान नारायणी नदीमा फ्याँकिएको थियो।
२०६५ जेठ ३ गते श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले अपहरण गरी हत्या गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएकी थिइन्।