सांग्रीला मोरङ विराट गोल्डकपको उपाधिनजिक

सांग्रीला मोरङ विराट गोल्डकपको उपाधिनजिक

विराटनगर : सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ ।  

विराटनगरको सहिद रंगशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफविरुद्ध कठिन जित निकाल्दै सांग्रीला फाइनलमा प्रवेश गरेको हो । घरेलु मैदानमा प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलमा एपीएफविरुद्ध जित निकाल्न सांग्रीलाले सडन डेथसम्म पर्खनु पर्‍यो । 

निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुवै टिमले समान ३–३ गोल गरेका थिए । टाइब्रेकरबाट पनि विजेताको टुंगो नलागेपछि खेलको छिनोफानो सडन डेथबाट भएको हो । सडन डेथमा एपीएफको चुनौतीलाई पन्छाउँदै सांग्रीला उपाधिनजिक पुगेको छ । 

टाइब्रेकरमा सांग्रीलाका आशिष चापागाईं, अभिषेक लिम्बू र उमेश कार्कीले गोल गरेका छन् । सागर तिरुवा र विदेशी खेलाडी एनकेटको प्रहारमा एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ बाधक बने । सडन डेथमा करण राईले गोल गरेर टिमको जित निश्चित गरेका हुन् । 

टाइब्रेकरमा एपीएफका अनिस महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासले मात्र गोल गर्न सके । दिपेश धिमाल र कूलदीप कार्कीको प्रहारलाई सांग्रीलाका गोलरक्षक विशाल सुनारले छेकिदिए । सडन डेथमा प्रदीप लामाको प्रहार पोलमा लागेर बाहिरिनु एपीएफका लागि दुर्भाग्यपूर्ण बन्यो । 

सांग्रीलाले उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र क्लब र पाहुना टोली सिक्किम ड्रागन भारतबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । सांग्रीला विदेशी पाहुना टोली भुटानको आरटीसी एफसीलाई ३–२ गोल अन्तरले हराउँदै सेमिफाइनल पुगेको थियो । एपीएफ इटहरी गोल्डकप च्याम्पियन चर्च ब्वाईज युनाइटेडलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । 

पहिलो सेमिफाइनल खेलमा दुवै टिमको फिनिसिङ कमजोर रहयो । सांग्रीला र एपीएफले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेलको छिनोफानो गर्न सडन डेथसम्म पुग्नु परेको हो । 

टिमलाई उपाधि होडमा पुर्‍याउन उत्कृष्ट भूमिका निर्वाह गरेका सांग्रीलाका गोलरक्षक विशाल सुनार प्लेयर अफ दी म्याच घोषित भए । एपीएफको आधा दर्जन राम्रा प्रहारलाई निस्तेज पारेर टिमलाई फाइनलको यात्रा तय गराएका उनले नगद ११ हजार रूपैयाँ प्राप्त गरेका छन् । 

सांग्रीलाका प्रशिक्षक रानु रानामगरले विभागीय टोलीमाथि जित निकाल्नु ठूलो उपलब्धि भएको बताए । ‘विभागीय टोली बलियो भएपनि खेललाई पूरै समय नियन्त्रणमा लिन सक्दा जित निस्कियो,’ उनले भने, ‘निर्धारित समयमा गोल गर्न नसक्नु हाम्रो कमजोरी हो ।’ आगामी खेलमा खेलाडीले सुधारिएको प्रदर्शन गर्ने विश्वास रानामगरले दिलाए । 

एपीएफका प्रशिक्षक बुद्धिमान राईले निर्धारित समयमा खेलाडीले अवसरको सदुपयोग गर्न नसकेको बताए । गोल गर्ने धेरै अवसरमा खेलाडी चुक्नु नै पराजयको मुख्य कारण बनेको उनको भनाइ छ । 

बलका लागि प्रतिस्पर्धा गर्दै एपीएफ (पहेंलो जर्सी) र सांग्रीला मोरङका खेलाडी । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.