मच्छिन्द्र र सांग्रीलाको दाबी, ‘विराट गोल्डकपको उपाधि उचाल्छौं’

मच्छिन्द्र र सांग्रीलाको दाबी, ‘विराट गोल्डकपको उपाधि उचाल्छौं’
विराट गोल्डकपका साथमा सांग्रीला मोरङका कप्तान अभिषेक लिम्बू (बायाँ) र मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठ।)

विराटनगर : विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षाका लागि शनिबार घरेलु टोली सांग्रीला मोरङ एफए र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुँदै छ। 

दुवै टोली ऐतिहासिक गोल्डकपको उपाधि उचाल्ने दाउमा छन्। उनीहरूले मैदानमा उपाधि भिडन्तका लागि तयारी अवस्थामा रहेको जनाएका छन्। जितमा आआफ्नो दाबी गरिरहेका छन्। मच्छिन्द्र र सांग्रीलाका प्रशिक्षक एवं कप्तानले जसरी पनि विराट गोल्डकपको उपाधि उचाल्ने दाबी प्रस्तुत गरेका हुन्। 

मच्छिन्द्र पहिलोपटक र घरेलु टोली दोस्रोपटक गोल्डकप च्याम्पियन हुने होडमा छन्। दुवै टोली उपाधि रक्षाका लागि आत्मविश्वासी देखिएका छन्। यद्यपि, सहिद रंगशालामा शनिबार राति सम्पन्न हुने फाइनल स्पर्धाले उपाधि कुन टोलीको पोल्टामा पर्‍यो भन्ने छिनोफानो गर्ने छ। मच्छिन्द्र विशाल श्रेष्ठ र सांग्रीला अभिषेक लिम्बूको कप्तानीमा मैदानमा हुने छन्। 

विराटनगरमा शुक्रबार आयोजित प्री–म्याच प्रेस मिटमा सांग्रीला मोरङका प्रशिक्षक रानु रानामगरले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता मच्छिन्द्र बलियो टोली रहेको स्वीकार गरे। तर, मच्छिन्द्रलाई पराजित गर्दै उपाधि लक्ष्य पूरा गर्न टोली तयार रहेको उनले बताए। ‘मच्छिन्द्र बलियो टोली भएपनि घरेलु मैदान सहिद रंगशालामा खेल्न हामीलाई धेरै दबाब हुने छैनभन्नेमा ढुक्क छौं। मैदानमा हामी उत्कृष्ट लयका साथ प्रस्तुत हुन्छौं। बाहिरबाट दर्शकको साथ हामीलाई रहन्छ भन्ने अपेक्षा छ,’ रानामगर भन्छन्, ‘भिडन्तका लागि टोली शारीरिक र मानसिक रूपमा तयार छ। हाम्रो लक्ष्य नै उपाधि रक्षा हो। हामी उत्कृष्ट खेल पस्किने छौं।’ 

कप्तान अभिषेक लिम्बूले मच्छिन्द्र कस्तो टोली हो भनेर भनिरहन नपर्ने बताए। तर, मच्छिन्द्रलाई मैदानमा सहज नहुने र उपाधि सांग्रीलाले नै उचाल्ने उनको दाबी छ। ‘हामी विषेश रणनीतिका साथ आउने छौं। मैदानमा ११ जना खेलाडी हुन्छन्। बाहिरबाट घरेलु दर्शकको भरपुर समर्थन र हौसला रहने छ। त्यसको लाभ उठाउने योजनामा छौं,’ लिम्बू भन्छन्।   

मच्छिन्द्र राम्रो र अनुभवी खेलाडीले भरिपूर्ण टिम रहेकाले ‘टेक्निकल’ खेल पस्किने लिम्बू बताउँछन्। उनले उपाधि जितेर तत्कालीन महेन्द्र गोल्डकपको दोस्रो संस्करणको पुनरावृत्ति गर्ने बताए। २०१८ सालमा सम्पन्न महेन्द्र गोल्डकपको पहिलो संस्करणको उपाधि भारतको कोलकाताले उचालेको थियो। फाइनलमा घरेलु टोली मोरङ–११ उपविजेता बन्यो। 

२०१९ सालमा सम्पन्न दोस्रो संस्करणको उपाधि भने मोरङ–११ ले जितेको थियो। जारी गोल्डकपको क्वार्टरफाइनलमा भुटानको आरटीसी एफसी र सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई स्तब्ध बनाउँदै सांग्रीला फाइलनमा पुगेको हो। 

मच्छिन्द्र पहिलोपटक गोल्डकपको उपाधि होडमा पुगेको छ। मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले क्लबको एक मात्र लक्ष्य विराट गोल्डकप भएको बताए। ‘हामी आफ्नो शक्तिलाई सतप्रतिशत मैदानमा खर्च गर्ने छौं। उपाधि उचाल्न खेलाडी आतुर छन्,’ उनले भने, ‘अहिलेलाई हाम्रो लक्ष्य गोल्डकप हो। फाइनल प्रतिस्पर्धामा पनि टोलीले आक्रामक शैलीलाई निरन्तरता दिने छ।’ यसअघि फिनिसिङमा देखिएको कमजोरीलाई फाइनलमा सुधार्दै सिजनको तेस्रो उपाधि चुम्ने लक्ष्यका साथ मैदानमा प्रस्तुत हुने न्यौपाने बताउँछन्। 

टोलीका गोलरक्षकसमेत रहेका कप्तान विशाल श्रेष्ठ क्लबले उपाधि उचाल्नेमा विश्वस्त रहेको बताउँछन्। ‘विराट गोल्डकपमा पहिलोपटक हामी उपाधिनजिक पुगेका हौं,’ उनले भने, ‘उपाधि रक्षा गरेर इतिहास रच्न चाहन्छौं।’ विराट गोल्डकपजस्तो प्रतिष्ठित प्रतियोगिताको महत्व आफूहरूले बुझेको बताउँदै श्रेष्ठले टोलीको आक्रामक शैलीले फाइनलमा निरन्तरता पाउने उल्लेख गरे।

मच्छिन्द्र क्वार्टरफाइनलमा भारतको कोलकातास्थित साउर्थन समिति र सेमिफाइनलमा भारतकै सिक्किम ड्रायगन्सलाई पराजित गर्दै उपाधिनजिक पुगेको टोली हो। मच्छिन्द्रले जारी सिजनमा गोल्डकपको तेस्रो उपाधि चुम्ने लक्ष्य राखेको छ। यस सिजनमा मच्छिन्द्रले ७ वटा गोल्डकपमा सहभागिता जनाइसकेको छ। उसले मकवानपुरमा सम्पन्न छैठौं बागमती अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता र काठमाडौंमा सम्पन्न केपी ओली कपको उपाधि चुमेको छ। मच्छिन्द्रले बागमतीमा एपीएफ र केपी ओली कपमा एनआरटीलाई पराजित गरेर उपाधि रक्षा गरेको थियो। 

विराट गोल्डकपको गत वर्षको संस्करणको उपाधि विराटनगर सीटीले हात पारेको थियो। विराटनगर सीटीसामु भारतको केरलाको लुका सरकार क्लब निरीह बन्दै उपविजेतमा खुम्चिएको थियो। चैत १५ गतेबाट जारी प्रतियोगितामा विदेशी ३ र विभागीय ३ सहित १० वटा टोलीको सहभागिता रहेको थियो। गोल्डकपको विजेताले ११ लाख र उपजिजेताले ५ लाख ५० हजार नगद पुरस्कार पाउने छन्। उत्कृष्ट प्रशिक्षक र गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले बताए। उनका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.