गेमचेन्जर सुनकोशी—मरिण
खेतीपातीका लागि उर्वरभूमि हो, तराई मधेस। तर दुर्भाग्य सिँचाइ यहाँको प्रमुख दुःख छ। त्यही दुःख मोचन गर्न सरकारले सुनकोशी नदीको पानी मरिण खोलाहुँदै मधेसका पाँच जिल्लामा सिँचाइ गर्न लैजाँदै छ। त्यसै उद्देश्य स्वरूप सुनकोशी—मरिण डाइभर्सन आयोजना निर्माणाधीन छ। त्यो आयोजनाको महत्त्वपूर्ण अर्थात् सुरुङ छेड्ने काम बुधबार पूरा भएको छ।
सुरुङ छिचोल्ने अर्थात् ब्रेक थ्रु हुनुबाट आयोजना अब मुख्य गौंडो कटेर अगाडि बढेको संकेत हो। र, आयोजना सम्पन्न हुने दिशामा पनि ठूलो ब्रेक थु्र हुनु हो। र, यसले नेपाली अर्थतन्त्रमा एउटा ब्रेक थ्रु गर्ने अपेक्षा गरिएको छ। त्यो किनभने रौतहट, धनुषा, सर्लाही, बारा, महोत्तरीलगायत जिल्लाको १ लाख २२ हजार हेक्टर जमिन यसबाट सिञ्चित हुनेछ।
१३.३ किलोमिटर सुरुङ छिचोलिएको पानीले तराईका जमिन सिँचाइमात्रै गर्ने छैन, त्यसअघि भन्डै ३२ मेगावाट बिजुली उत्पादन गर्नेछ। त्यसैले यो बहुउद्देश्यीय आयोजना हो। तराईमा खानेपानीको तिर्खा मेट्न पनि यसले योगदान पुर्याउने अपेक्षा छ। हिमाल, पहाडको स्रोत पानी तराईमा बाढीमात्रै लिएर जाँदैन, यसले सिँचाइमा योगदान गर्न भन्ने उदाहरण पनि हो यो आयोजना। राष्ट्रिय भावना र एकताका लागि पनि यो आयोजना एउटा कोसेढुंगा सावित हुन्छ। एकातिर बिजुली र अर्काेतिर सिँचाइ हुँदा सुनकोशी—मरिण डाइभर्सन मधेस प्रदेशको अर्थतन्त्रका लागि एउटा गेमचेन्जर आयोजना हुने विश्वास गर्न सकिन्छ।
कृषिलाई उब्जाउ बनाई उत्पादनमा वृद्धि गर्ने ठूलो सम्भावनाको दैलो यसले उघार्नेछ। उत्पादकत्व वृद्धि गर्नेछ। सुक्खा र खडेरीपनबाट छुटकारा दिनेमात्रै नभई चुरे विनाश नियन्त्रणमा अप्रत्यक्ष भूमिका खेल्नेछ।
बहुउद्देश्यीय आयोजना पूरा हुन ४९ अर्बभन्दा ज्यादा लाग्ने भए पनि बिजुलीबाट १ अर्ब ५ करोड र कृषिबाट १० अर्बको आर्थिक वृद्धि हुनेछ। साथै सयौंका लागि रोजगारी सिर्जना पनि यो आयोजनाको अर्काे सुन्दर पक्ष हो। आयोजनाको सुरुङ छिचोल्ने काम लक्ष्यभन्दा तीन महिनाअघि पूरा भए पनि सुनकोशीको बाँध निर्माणमा तीव्रता दिनुपर्ने खाँचो छ।
तराई मधेसकै रूपान्तरणकारी यो आयोजना मधेस प्रदेशका लागि मात्रै नभई राष्ट्रिय अर्थतन्त्र र समृद्धिको एउटा मुहान हुन सक्छ। सुरुङ छिचोलेपछिका बाँकी काम पनि उस्तै तीव्रताका साथ गरी यसलाई साँच्चिकै साकार पार्न जरुरी छ।