२१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजना सरकारको प्राथमिकतामा
बझाङ : सरकारले आगामी आर्थिक वर्षका प्रस्तुत गरेको बजेटमा उर्जा क्षेत्र विकास शीर्षकमा २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनालाई प्राथमिकतामा पारेको छ । केही समयअघि मात्रै सम्भाव्यता अध्ययन सम्पन्न गरि जग्गा अधिग्रहणसहित टनेल निर्माणको काम सुरु गरेको यो आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहने छ ।
महत्वाकांक्षी आयोजनाका रूपमा अघि सारिएको यो आयोजना साइपाल गाउँपालिकाको काँडामा ड्याम बाँधेर तलकोट गाउँपालिकाको बस्तीमा निर्माण हुने भएको हो । यो आयोजनाको १३ किलोमिटर लामो सुरुङमार्ग पनि रहेको छ ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने २ सय १० मेगावाट क्षमताको यो आयोजनाको मुख्य सुरुङमा जान निर्माण हुने तीन वटा अडिट टनेल मध्ये तलकोट गाउँपालिका–३ रुमाली गाडमा एउटा र बस्टीमा २ वटा रहनेछन् ।
यो आयोजना निर्माणका लागि प्राधिकरणले एक सय ३२ रोपनी जग्गा अधिकरण गरेको छ भने थप १५ रोपनी अधिकरणको प्रक्रियामा रहेको आयोजनाले जनाएको छ । यसअघि नै विद्युतगृह जाने बाटो २.४ किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भइसकेको छ । यही महिनाभित्र कार्यालय तथा आवासीय भवनहरु निर्माणका लागि बोलपत्र आव्हान गर्ने तयारी भइरहेको आयोजना कार्यालयको भनाइ छ । आयोजना प्रमुख अनिलभक्त श्रेष्ठका अनुसार अहिलेसम्मको अध्ययनअनुसार अरु आयोजनाका तुलनामा कम लागतमा उच्च प्रतिफल दिने आयोजनाका रूपमा यसलाई हेरिएको छ ।
सुख्खा याममा समेत दैनिक कम्तिमा ६ घण्टा २१० मेगावाट विद्युत् उत्पादन गर्न सक्ने आकर्षक आयोजनाका रूपमा यसलाई अगाडि बढाउन लागिएको उनको भनाइ छ । निमार्ण कार्य सुरु गरेको ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनामा बैंकको ब्याजबाहेक ३६ अर्ब ५४ करोड लागत अनुमान गरिएको छ । आयोजनाको बाँध क्षेत्रमा बस्ती नभएको र पावर हाउस बन्ने ठाँउमा पातलो बस्ती भएका कारण पनि स्थानीयको २३० रोपनी निजी जग्गा अधिग्रहण गर्दा आयोजनालाई पुग्ने उनको भनाइ छ ।
सेती कोरिडोर प्रसारण लाइनको निर्माण प्रक्रिया पनि अगाडि बढाइने
सरकारले आगामी बजेट प्रस्तुत गर्दै सेती कोरिडोर प्रसारण लाइनको निर्माण प्रक्रिया पनि अगाडि बढाइने जनाएको छ । सेती कोरिडोरअन्तर्गत बझाङ जिल्लाको प्रस्तावित चैनपुर सबस्टेसन जयपृथ्वी नगरपालिका –१ कैलाशदेखि डोटीको पश्चिम सेती सबस्टेसन र त्यहाँबाट कैलालीको दोदोधारा सबस्टेसनसम्म ४०० केभी १४५ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्य रहेको छ । यस्तै, पश्चिम सेती सबस्टेसनदेखि कन्चनपुरको दैजीस्थित प्रस्तावित न्यू अत्तरिया सबस्टेसनसम्म (६८ किलोमिटर) गरी कूल २१३ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने योजना छ ।
निर्माण गर्ने ग्रिड कम्पनीका अनुसार दोदोधारासम्म निर्माण हुने १४५ किलोमिटर प्रसारण लाइन र सबस्टेसनको लागत करिब २० अर्ब रुपैयाँ अनुमान गरिएको छ । हालसम्म विस्तृत आयोजना प्रतिवेत (डिपिआर) र प्रारम्भिक वातावरणीय मूल्यांकन (आईईई) को काम पूरा भइसकेको डबल सर्किट प्रसारण लाइन (एन माइनस १, ल(१) मार्फत २१०० मेगावाट विद्युत् प्रवाह हुने प्रक्षेपण गरिएको छ । यस प्रसारण लाइनमा प्रवाह गर्ने लक्ष्यका साथ अहिलेसम्म करिब १००० मेगावाट विद्युतका लागि प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भइसकेको ग्रिड कम्पनीले जनाएको छ ।
यस प्रसारण लाइन अन्तर्गत बझाङको जयपृथ्वी नगरपालिका–१ स्थित कैलाशमा चैनपुर सबस्टेसन र डोटीको शिखर न.पा.–१० स्थित बनलेकमा पश्चिम सेती सबस्टेसन निर्माण हुनेछन् । यसअन्तर्गत निर्माण हुने चैनपुर सबस्टेसनमा चैनपुर सेती (२१० मे.वा.), बझाङ्ग अप्पर सेती (२१६ मे.वा.), सेती नदी–३ (८६ मे.वा.), सुनिगाड (२५ मे.वा.), सन स्टार (४६ मे.वा.), बडीमालिका (६० मे.वा.), न्यादी (६० मे.वा.) र मालुमेला सेती नदी पिआरओआर (६४ मे.वा.) जोडिने छ ।
यसैगरी, पश्चिम सेती सबस्टेसनमा पश्चिम सेती (७५० मे.वा.) र दार्चुला जिल्लाको बलाँच हबमा (३०० मे.वा.) विद्युत उत्पादन जम्मा भई दोदोधारा सबस्टेसनमा कुल १८२७ मेगावाट विद्युत् जम्मा हुनेछ । ग्रिड कम्पनीले सुदूरपश्चिममा उच्च क्षमताको एक प्रसारण लाइनसँगै दुई सबस्टेसनहरूको निर्माण हुनेछ । जसमा, पश्चिम सेती ४०० के.भी प्रसारण लाइन तथा चैनपुर र पश्चिम सेती सबस्टेसन रहेका छन् । कम्पनीले बझाङको जयपृथ्वी नगरपालिका– कैलाशमा प्रस्तावित चैनपुर सबस्टेसन निर्माणका लागि क्षेत्रफल १४,३७२ वर्गमिटर (२८२–८–०–३ रोपनी) जग्गा अधिग्रहण गरेको छ ।
डोटीको शिखर नगरपालिका–१० स्थित बनलेकमा प्रस्तावित पश्चिम सेती सबस्टेसन निर्माणका लागि जम्मा क्षेत्रफल ७०,४२५ वर्गमिटर (१३८ रोपनी ६ आना ३ पैसा २ दाम) जग्गा अधिग्रहण गरिएको छ । यी सबै आयोजना आर्थिक वर्ष (आव) २०८०/८१ सम्म अध्ययन सम्पन्न गरी आव २०८१/८२ मा निर्माणको ठेक्का प्रक्रियामा जाने र आव २०८६/८७ सम्म निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
सरकारले मंगलबार १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/०८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट ल्याएका हुन् ।