राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
काठमाडौं : लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१ राष्ट्रियसभाबाट पारित भएको छ । आइतबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो ।
उक्त विधेयकलाई पारित गरियोस् भनी उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्रीकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्ताव प्रस्तुत गरेकी हुन्। विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले लगानीको स्पष्ट ढाँचा आउने गरि विधेयकलाई अधि बढाउनुपर्ने धारणा राखेका थिए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले लगानी सम्मेलनका क्रममा लगानी सहजीकरण गर्नका लागि लगानी सहजीकरणसम्बन्धी अध्यादेश ल्याइएको र संसदमा प्रतिष्थापन विधेयक ल्याएको बताए।
राष्ट्रियसभाको अर्को बैठक यहि बिहीबारलाई बोलाइएको छ ।