कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ। यसका लागि अहिले बोर्डको बैठक जारी रहेको छ।
बोर्डको बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि नतिजा प्रकाशन हुनेछ। प्राविधिक त्रुटि वा अन्य समस्या नआए आजै नतिजा प्रकासन हुने संभावना छ।
गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए। नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख १३ हजार ९३३ छात्र गरी ती लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी थिए। बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी हुन्।
कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछ। जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन्।
नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ। नेपाल टेलिकमको ल्याण्ड लाइन फोन,मोबाइलबाट १६०१ डायल गरी नतिजा प्राप्त गर्ने सकिनेछ।