रोल्पामा पहिरोले घर भत्किंदा बजै र नातिनीको मृत्यु
रोल्पा : रोल्पामा पहिरोले घर भत्किंदा पुरिएर बजै र नातिनीको मृत्यु भएको छ। शुक्रबार राती सुनछहरी गाउँपालिका-४ स्युरी कामीडाँडाकी ६५ वर्षीया बसुना सुनार र ४ वर्षीय माया सुनारको मृत्यु भएको हो।
गएराति घरमाथि पहिरो खसेदेखि बजै नातिनी बेपत्ता भएका थिए। शनिबार बिहान दुबैको शव पुरिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। पहिरोको समयमा छोरा देउसिंह सुनार र बुहारी घरमा थिएनन् ।
घर पहिरोले पुरिएपछि स्थानीयले स्युरी स्थित प्रहरी चौकीमा राती करिव १० बजे जानकारी गराएका थिए। घटनाको सूचना पाउना साथ प्रहरी निरीक्षक केशरबहादुर थापाको नेतृत्वमा चार जना प्रहरी घटनास्थल पुगेका थिए। खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय पोवाङ र सुलिचौरबाट समेत प्रहरी टोली खटिएको छ।
ढुङ्गा माटोबाट बनेको देउसिंहको एक तले कच्ची घर पहिरोमा पुरिएको स्थानीयले जनाए।
प्रतिक्रिया दिनुहोस !