४० अंकले बढ्यो नेप्से परिसूचक, २१ अर्बमाथिको सेयर कारोबार
काठमाडौं : साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.९७ अंकले घटेर ४९१.७८ विन्दुमा अडिएको छ।
अघिल्लो दिन सोमबार सार्वजनिक विदा परेकाले कारोबार भएन। यसदिन ३२६ स्क्रिप्सको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता सेयर २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ रुपैयाँमा खरिदबिक्री भए।
दोहोरो अंकले बढेको बजारमा ९ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उच्च अंकले बढेको सेयर बजारमा नेपाल फाइनान्सका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब २६ करोड ४ लाख ८८ हजार ७६२ रुपैयाँको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ४९ करोड ३८ लाख ७२ हजार ६४ रुपैयाँको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो।
यसैगरी सानिमा माइ हाइड्रोपावरको ४४ करोड, शिवम् सिमेन्टको ४२ करोड र माउन्टेन इनर्जीको ४० करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएका १६३ स्टकको मूल्य बढ्दा ७८ वटाको घट्यो भने एउटा स्टकको मूल्य भने स्थिर रह्यो। यसदिन सात समूहको उपसूचक बढ्दा ६ वटा समूहको उपसूचक नकारात्मक देखिएका छन्।