संसदीय छानविन समितिले हाम्रो ग्रुप अफ कम्पनीका तत्कालीन संस्थापक पौडेलसँग लियो बयान
काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले तत्कालिन हाम्रो ग्रुप अफ कम्पनीका तत्कालिन संस्थापक पुष्पराज पौडेलसँग बयान लिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले हाम्रो ग्रुप अफ कम्पनी र गोर्खा ग्रुप अफ कम्पनीको सम्बन्धका बारेमा पौडेलसँग सोधपुछ गरेको हो ।
तत्कालिन अवस्थामा हाम्रो ग्रुप अफ कम्पनीले हर्बो इन्टरनेशनल नेटवर्किङका नाममा सर्वसाधारणको करोडौंको ठगी गरेको थियो । ठगि प्रकरणपछि पौडेल हाम्रो ग्रुप अफ कम्पनीबाट बाहिरिएपछि सोहि कम्पनीलाई गितेन्द्रबाबु राई (जीबी) को नेतृत्वमा गोर्खा ग्रुप अफ कम्पनी बनाइएको थियो ।
पौडेल आफूलाई अहिले राजनीतिक तथा धार्मिक अभियन्ता रुपमा चिनाउँदै आएका छन् । बिहीबार नै समितिले सहकारी हिनामिना प्रकरणमा मुछिएका अन्य व्यक्तिसँग पनि सोधपुछ गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए।
कार्यादेश अनुसार तीन महिनाको समयावधि सकिन लागेको समितिले प्रतिवेदन लेखनको कामलाई पनि निरन्तरता दिएको थापाले बताए । सहकारी बचत रकम दुरुपयोगको छानविन गर्न गत जेठ १५ गते समिति गठन गरिएको थियो ।