सडक दुर्घटनाको दुर्दान्त
सडक यातायातका साधनको दुर्घटनामा दैनिक सात जना नेपालीको मृत्यु हुन्छ। बर्खामास दुर्घटनाको संख्या झन् धेरै हुन्छ। प्राकृतिक विपद्कै कारण पनि सडक दुर्घटना बर्खामा धेरै हुन्छन्। पहाडका भीरपाखाका सडक र नदीकिनारका राजमार्गहरूमा गाडीहरू पहिरोले पुर्छ, बाढीले बगाउँछ वा नदीमै गाडी खस्छन्। तर, सडक दुर्घटनाको मूल कारण प्राकृतिक विपद् होइन।
गाडीको यान्त्रिक गडबडी, थोत्रा साधन, चालकको लापरबाही र हाम्रा सडकको कमजोर हविगतलगायत कारण दुर्घटना हुन्छ। ती कम गर्न सकिने वा सुधार गर्न सकिने नै कुरा हुन्। तर त्यतापट्टि राज्यको ध्यान पुगेको छैन। हवाई दुर्घटनामाथि जुन संवेदनशीलता देखाउने प्रयास राज्यले गर्छ सडक दुर्घटनालाई चाहिँ नियमित आकस्मिकतमात्रै मानेको छ।
गएका पाँच वर्षको तथ्यांकअनुसार नेपालमा यस अवधिमा १२ हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन्। यो ठूलो संख्या हो। सडक दुर्घटनामा कसैको पनि मृत्यु हुनु भनेको प्राकृतिक होइन। मृत्यु केवल संख्यामात्रै पनि होइन। सडक दुर्घटनाले मृत्युमात्रै दिँदै मानिसलाई अंगभंग बनाएर अपांगता पनि बनाउँछ। त्यसको मूल्य अपांगता हुने व्यक्तिमात्रै नभई, परिवार, समाज र राज्यले पनि चुकाउनुपर्छ। मृत्युले परिवारलाई मात्रै रिक्तता दिँदैन, त्यही परिवारमा पर्ने अरू क्षतिसँगसँगै सामाजिक, आर्थिक क्षतिसमेत पुग्छ। कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु भनेको राज्यले भरपर्दा नागरिक गुमाउनु पनि हो। तसर्थ सडक दुर्घटना केवल दुर्घटनमात्रै होइन, राज्यलाई चोट पुर्याइएका, क्षति र नोक्सानी दिइरहेका घटनाहरू हुन्।
सडक यातायात दुर्घटनालाई कम गर्न पहिलो त हाम्रो देशका सबैजसो सडक र मुख्य त राजमार्गहरू स्तरीय बनाउन जरुरी छ। सडक सुरक्षित बनाउन जरुरी छ। सँगसँगै गाडीहरूको नियमित जाँच गरी चुस्त राख्न जरुरी छ। कतिपय गाडी यान्त्रिक कमजोरी भएकै कारण दुर्घटना भएका छन्। र, चालकको लापरबाही पनि अर्काे कारण हो, सडक दुर्घटनाको।
दुईपाङ्ग्रे साधन सर्वाधिक दुर्घटनाको सूचीमा छन्, तिनमा प्राय चालककै लापरवाही देखिन्छ। खास त दुईपाङ्गे सवारीसाधनको बहुलता जसरी मुलुकमा बढ्दै गएको छ, त्यसले हामीकहाँ सार्वजनिक यातायातका साधनको पर्याप्तता नहुनु र भएकाको सेवा भरपर्दाे नहुनुलाई प्रतिबिम्बित गर्छ। चालकहरूलाई सचेतना जरुरी छ। सार्वजनिक सवारीसाधन सहज र सुलभ बनाउन जरुरी छ। र, दुर्घटना कम गर्न सडकहरूमा जोखिम घटाउन जरुरी छ।