पूर्वप्रधानमन्त्री प्रचण्ड भन्छन् : वडा अध्यक्ष यादवको मृत्युबारे अनुसन्धान गर्नुपर्छ, आवश्यक परे आन्दोलन गर्छौं
महोत्तरी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन्। यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले निष्पक्ष छानविनका लागि स्थानीयले निरन्तर आवाज उठाइराख्नुपर्ने बताएका हुन्।
परिवारले न्यायका लागि गरिरहेको याचना धेरै नै कारुणिक रहेको र नागरिकले न्यायका लागि याचना गर्ने अवस्था आउनु राम्रो नभएको उनको भनाई । यसका लागि आवश्यक परे आन्दोलन गर्नुपर्ने स्थिति पनि आउन सक्ने उनले बताए । प्रचण्डले भने,‘यादवको निधन दुर्घटनाबाट भयो वा हत्या हो, यसको उच्चस्तरीय छानबिनका लागि सरकारलाई भनिएको र फेरि पनि यसका लागि आग्रह गरिने जानकारी दिँदै यसमा लापरबाही गरियो भने परिणाम भयानक हुन्छ। ’
वडा अध्यक्ष यादवको गत भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेको थियो। घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरुले उहाँको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् । घटनाको प्रकृति र घटनाक्रम हेर्दा हत्या भएको देखिने भन्दै उनीहरुले सरकारले अनुसन्धानमा चासो नदेखाएको गुनासो गर्दै आएका छन्।
अध्यक्ष प्रचण्डले यादवको स्मृतिमा फाउण्डेशन बनाउन र उहाँका छोराछोरीको पठनपाठनको व्यवस्था मिलाउन प्रदेश र जिल्ला पार्टीलाई निर्देशन दिए। उनले यसमा पार्टी केन्द्रको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा बोल्दै मृतक यादवकी श्रीमती आइती यादवले शव र घटनास्थलको प्रकृति हेर्दा दुर्घटनाभन्दा पनि हत्या गरेर दुर्घटना देखाउन खोजेको जस्तो देखिने बताइन्।